टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता ‘कार्टनिभल’ सम्पन्न


काठमाडौँ
टियागो इभि अन्तर–विद्यालय कला प्रतियोगिता ‘कार्टनिभल’ अन्तर्गत चित्रकला प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदियन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त अन्तर–विद्यालय चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ समूहमा त्रियोग हाइस्कुलका आशिम सुन्दास प्रथम भएका छन् भने कक्षा ९ देखि १२ समूहमा बुढानिलकण्ठ स्कुलकी समय्या थापा प्रथम हुन सफल भएकी छन् । दुवै समूहका प्रथम विजेतालाई पुरस्कारस्वरूप प्लेस्टेशन फाइभ (पिएस फाइभ) प्रदान गरिएको थियो ।

दुई चरणमा सम्पन्न गरिएको कार्यक्रममा पहिलो चरणअन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला आयोजना गरिएको थियो । दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कक्षा ५ देखि ८ समूहमा काठमाडौँ युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो र त्रियोग हाइस्कुलकी आश्वी घले पाँचौँ स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी कक्षा ९ देखि १२ समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ र राजन मुखिया क्रमशः द्वितीय र तृतीय भएका छन् ।

कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रालिका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिलगायत शिक्षक, अभिभावक, सहभागी विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो ।