सुरक्षा निश्चित भएमा मात्र उद्योग व्यवसाय चल्ने प्रहरी महानिरीक्षक कार्कीको भनाई 


 ललितपुर।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशमा शान्ति सुरक्षा कायम भए मात्र विकास निर्माण र उद्योग धन्दाका सुचारु रुपमा सञ्चालन गर्न सकिने बताएका छन् । 

भदौं २४ गते आगजनी र तोडफोडबाट क्षतिगस्त महानगरीय प्रहरी वृत्त सातदोबाटोको भवन पुनः निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा उनले सो कुरा बताएका हुन् ।‘  देश र जनताको सुरक्षा प्रहरीको पहिलो प्राथमिकता पर्दछ । लोकतान्त्रिक पद्धतिमा आधारित कार्यले मात्र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिन्छ ।’ उनले भने।

जेनजी विद्रोहले सुशासनको माग गरेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले सुशासनका लागि विधिको शासन आवश्यक रहेको धारण राखे। कानुन राजको अवधारणा अनुसार प्रमाणमा आधारित अनुसन्धान प्रणालीलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दे उनले सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा पनि जोड दिए।

नागरिक र प्रहरीबीचको सम्बन्धले मुलुकको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले हरेक आन्दोलनको सिकार प्रहरी बन्ने गरेको भए पनि राज्यको प्रतिनिधिका रूपमा आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए। नागरिकले पनि सुरक्षाका लागि चेतनाको विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो।

सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरीको मायाले देश बाँच्न सकेको बताउँदै मानव सभ्यता टिकाउन प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले प्रहरीको कारण राज्यको आभास हुने बताउँदै प्रहरीको चेतना, मन र हृदयको सम्मान गर्नुपर्छ भने।

कलाकार हरिबंश आचार्यले प्रहरी न्यायलयको पहिलो ढोका र राज्यको पहिलो जिम्मेवारी बोकेको संस्था भएको बताए। उनले मुलुकमा राजनीतिक स्थायित्व हुन सकेको महसुस गर्न नसकेको अवस्थामा नीति र विधिले देशलाई चलाउने अवसरको सृजना होस् भन्ने कामना गरे।

कार्यक्रमका संयोजक अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले अपराधको न्यूनीकरण गर्दै आर्थिक उपलब्धि र विकासलाई कसरी अगाडि बढाउने भनेर ध्यान दिनुपर्नेमा जोड दिए।

आन्दोलन भएको ९१ दिनपछि कलाकार किरण केसीको नेतृत्वमा उक्त भवन पुनः निर्माण भइ भवन हस्तान्तरण गरिएको हो ।