नेपालको अवस्था हेर्दा यतिखेर केही सुधार हुँदै आए पनि जीनजी आन्दोलन भएको बेला विनामियोको दाइँजस्तो भएको थियो । कसैले कसैलाई टेर्ने देखिँदैनथ्यो । त्यसैले दुई दिनमै कायापलट भयो । भाग्नेहरुले झोलीतुम्बा पनि लान पाएनन् । हुन त विगतमा पनि यहाँको अवस्था राम्रो थिएन । भन्नै पर्दा नेपालको मानवअधिकारको अवस्था हुँदा खाने र हुने खानेबीचको सीमारेखाबाट विभाजित छ । निम्नवर्ग मानवअधिकारको पहुँचबाट वञ्चित छन् । समाजमा जातीय भेदभावको स्थिति कायमै छ । उपभोक्ताका अधिकारहरू कुण्ठित भएका छन् । शिक्षा तथा स्वास्थ्य सेवामा सबैको पहुँच पुग्न सकेको छैन । नागरिकका संविधानप्रदत्त हक प्रचलनमा अझै पनि सहज वातावरण बन्न नसकेको स्थिति छ ।
उता वैदेशिक रोजगारीमा गएका श्रमिकहरू श्रम शोषणमा पर्ने गरेका छन् । महिला तथा बालबालिकाहरु हिंसाका कारण प्रभावित छन् । सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, अल्पसङ्ख्यक, ज्येष्ठ नागरिकलगायतको अधिकारको संरक्षणमा राज्यले विशेष ध्यान पु¥याउन नसकेको देखिन्छ । राज्यबाट प्रवाह भएका सेवा–सुविधाहरुमा पनि हुनेखानेको पहुँच भएकाले हुनेलाई खातमाथि खात नहुनेको आकाशमुनि बासको स्थिति छ । जेनजी आन्दालनपछिका दिनमा केही सुधार होला कि भन्ने आशा भने पलाएको छ ।
शिक्षाक्षेत्र हे¥यो त्यस्तै नाजुक छ । नेपालमा शिक्षा क्षेत्रको अवस्था अन्यौल नै छ भन्दा हुन्छ । शिक्षक, विद्यार्थी, अभिभावकबीच समन्वय नहुँदा विद्यमान समस्याहरु देखा परेका छन् । शिक्षा क्षेत्रमा राजनीतीकरण भएको र शैक्षिक संस्थालाई सम्बन्धन दिने नीति स्पष्ट एवं पारदर्शी नभएको देखिन्छ । यसै गरी शैक्षिक तथा भौतिक पूर्वाधारको कमी छ । यसको परिणामस्वरुप अन्तर्राष्ट्रिय जगत्मा नै हाम्रो शैक्षिक उपाधिको विश्वसनीयतामा नै प्रश्नचिह्न उठ्ने गरेको छ । उचित शैक्षिक पाठ्यक्रम लामो समयदेखि समयअनुसार परिवर्तन नभएको अवस्था छ । पाठ्यभार, पाठ्यअवधि, गुणस्तरीय मापदण्डको अभाव छ । विदेशी विश्वविद्यालयहरुसँगको सम्बन्धनमा सञ्चालित शैक्षिक संस्थामा नियन्त्रण र समन्वयको अभाव छ ।
त्यस्तै निजीस्तरबाट खोलिएका शैक्षिक संस्थामा बढ्दो व्यापारीकरण भई शिक्षक, अभिभावक, विद्यार्थीलाई थप आन्दोलित बनाएको छ । उचित कार्यनीतिको अभाव, अक्षम प्रशासन, नातावाद, राजनीतीकरण, भ्रष्टाचारीलाई राजनीतिक तथा प्रशासनिक संरक्षण, व्यक्तिगत स्वार्थ, अक्षम राजनीतिक नियुक्ति पनि उत्तिकै छ । यसै गरी शिक्षाक्षेत्रमा अनुशासनको कमी, न्यून आर्थिक स्थिति, विज्ञलाई पाखा र अनभिज्ञलाई प्रशासन, पुरानै स्वार्थपूर्ण कार्य, व्यावसायिक शिक्षाको अभाव, वास्तविक योजनाको अभाव छ । उचित पुरस्कार र दण्डको व्यवस्था नहुनु र अक्षम व्यवस्थापनबाट नेपालको शिक्षा चौबाटोमा नग्न अवस्थामा छ । आशा छ, अब यस क्षेत्रमा पनि केही सुधार होला कि ! फागुनको चुनावपछि बन्ने सरकारमा स्वच्छ छविका व्यक्ति आए भने नेपाल बन्छ कि भन्ने झीनो आशाको त्यान्द्रो पलाएको छ ।
– दिनाङ्क ‘दुःखी’, धादिङ ।











प्रतिक्रिया