–आजदेखि भृकुटीमण्डपमा हुने बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने
–सल्लाघारीमा देशभरबाट जम्मा भएका थिए नेता कार्यकर्ता
–मञ्चमा काठमाडौंको सभ्यतालाई झल्काइएको थियो
काठमाडौं ।
जेन–जी आन्दोलनको नाममा भएको हिंसात्मक क्रियाकलापपछि रक्षात्मक अवस्थामा पुगेका राजनीतिक दलहरूले बिस्तारै आफ्ना गतिविधि तीव्र बनाउन थालेका छन् । जेन–जी आन्दोलनपछि चौतर्फी आक्रमणको घेरामा परेको नेकपा एमालेले आफ्नो ११औं राष्ट्रिय महाधिवेशन भव्यरुपमा सुरु गरेको छ । जेन–जी आन्दोलनपछि सबैभन्दा पहिला महाधिवेशन गरेर पुनर्जागरण अभियान थाल्ने पहिलो दल एमाले बनेको नेताहरूले दाबी गरेका छन् ।
भक्तपुरको सल्लाघारीमा एमालेले आफ्नो महाधिवेशन करिब १ लाख नेता, कार्यकर्ता र समर्थक उतारेर सुरुवात भएको घोषणा गरेको थियो । दलका कारण मुलुक बिग्रिएको भाष्य निर्माण गरिरहेका बेला एमालेले लाखौं जनताका बीच आफ्ना धारणा सार्वजनिक गर्ने अवसर पाएको हो । पार्टीको बाक्लो सुरक्षा घेरामा आयोजना गरिएको महाधिवेशन उद्घाटनमा कुनै पनि नेताले उत्तेजक मन्तव्य व्यक्त गरेका थिएनन् । नेताकार्यकर्ता र समर्थकको राम्रो उपस्थितिमा नेपाल ट्रस्टको स्वामित्वमा रहेको १ सय ८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त मैदानमा आयोजना गरिएको कार्यक्रममा भदौ २३ र २४ गते जेन–जीको नाममा भएको हिंसात्मक गतिविधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुतत्वको प्रवेशका कारण लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको दाबी नेताहरूले गरेका छन् ।
नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रम औपचारिक रूपमा सुरु हुनुअघि नै भक्तपुरको सल्लाघारी क्षेत्र खचाखच भरिएको थियो । एक किलोमिटरभन्दा टाढाबाट जुलुससहित कार्यकर्ताहरू आइरहेका थिए । अत्यधिक भीडका कारण मोबाइल नेटवर्क अवरुद्ध हुँदा प्रत्यक्ष प्रसारणमा समस्या देखियो भने पत्रकारलाई समाचार संकलनमै कठिनाइ उत्पन्न भएको थियो । धुलो, चर्को भीडबीच पनि कार्यकर्ताको उत्साह उच्च देखिन्थ्यो ।
अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन सकिँदासम्म पनि टाढा–टाढाबाट नारा लगाउँदै सहभागीहरू स्थलतर्फ आइरहेका थिए । लोकतन्त्र हुँदै गणतन्त्रसम्म एक भएका राजनीतिक दलहरू सत्ताप्राप्तिका लागि एकआपसमा लडाइँ झगडा गर्दा लोकतन्त्र र गणतन्त्रलाई कमजोर पार्ने तत्वहरू हावी भएकाले दलहरूबीच संवाद र एकता आवश्यक रहेको सभामा बोल्ने अधिकांश नेताहरूले बताएका थिए ।
तोकिएकै समयमा सुरु भएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि निर्धारित समयमा नै कार्यक्रम स्थलमा उपस्थित हुनुभएको थियो भने उहाँले सम्बोधन गर्ने क्रममा संयमित भएर आफ्ना भनाइहरू राख्नुभएको थियो । विपक्षीमाथि तिखो प्रहार गर्ने छवि बनाउँदै आउनुभएका ओलीले शनिबारको सभामा भने लोकतन्त्र, गणतन्त्र र नेपालको विकासलाई अफ्ठेरोमा पार्ने शक्तिहरूले खेल्दा मुलुक संकटतर्फ धकेलिन थालेको बताउनुभयो ।
अध्यक्ष ओलीले जेन–जी आन्दोलनका क्रममा घुसपैठ गर्ने तत्वहरूको हिंसात्मक गतिविधि लोकतन्त्र, संविधान र राज्यविरुद्धको योजनाबद्ध आक्रमण भएको दाबी गर्नुभएको छ । उहाँले युवाका जायज मागलाई हिंसा र विध्वंशको इन्धन बनाउने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्नुभयो । ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले प्रतिनिधिसभा पुनस्र्थापना गरी संविधानलाई सही ट्रयाकमा ल्याइने बताउनुभयो ।
ओलीले सामाजिक सञ्जालको खुलापन, भ्रष्टाचार नियन्त्रण, सुशासन र अवसरको समानताजस्ता मागप्रति एमालेको असहमति नरहेको स्पष्ट पार्दै भन्नुभयो– ‘यी एजेन्डा त हामीले वर्षौंदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका हौं । तर असन्तुष्टिको आडमा निषेधित क्षेत्र तोड्ने, संसद् भवनमा आगजनी गर्ने र राज्यका अंगमाथि आक्रमण गर्ने काम आन्दोलन होइन, अराजकता हो ।’
भदौ २३ र २४ का घटनालाई स्मरण गर्दै ओलीले त्यसलाई केवल सरकार परिवर्तनको दबाब नभई संविधान, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय संरचनालाई ध्वस्त पार्ने गम्भीर षड्यन्त्रको संज्ञा पनि दिनुभयो । ती घटनामा युवाहरू र सुरक्षाकर्मीले ज्यान गुमाउनु दुःखद भएको भन्दै उहाँले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दोषीमाथि निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेमाथि ‘जेनजी विरोधी’ आरोप लगाउने प्रयास निराधार भएको बताउँदै युवालाई पार्टी संरचनामा अघि बढाउने, स्टार्टअप, सीप विकास, डिजिटल नेपाल फ्रेमवर्क र एआई नीति अघि सार्ने काम एमालेकै पहलमा भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘प्रविधिमा अगाडि भए पनि युवाको सुरक्षित भविष्य लोकतन्त्र, संविधान र राजनीतिक स्थायित्वमै निर्भर छ ।’
उहाँले युवालाई असहमति र आलोचना गर्न आग्रह गर्दै हिंसा र विध्वंशबाट टाढा रहन आग्रह गर्नुभयो । संघर्ष देश बनाउने र देश जलाउनेबीचको हो ओलीले भन्नुभयो– ‘नयाँ पुस्ता सधैं देश बनाउने कित्तामै उभिनेछ भन्ने विश्वास छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ का घटनासम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित उच्चस्तरीय न्यायिक छानबिन आयोगलाई आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट पूर्णतः मुक्त रहँदै निष्पक्ष प्रतिवेदन तयार गर्न आग्रह गर्नुभयो । उहाँले आयोगको निष्पक्षतामै पीडितलाई न्याय र देशलाई सही निष्कर्ष मिल्ने बताउनुभयो ।
खड्काले सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाएको स्थानहदको निर्णयप्रति पनि प्रश्न उठाउनुभएको थियो । ‘नेताहरूमाथि लगाइएका स्थानहदका निर्णयलगायतका कार्यले गम्भीर प्रश्न जन्माएका छन्’, उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा आयोग अझै सतर्क, सचेत र जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न आवश्यक छ ।’ आयोगको कामले लोकतान्त्रिक मूल्य, कानुनी शासन र सार्वजनिक विश्वासलाई सुदृढ बनाउने अपेक्षा कांग्रेसको रहेको उहाँले स्पष्ट पार्नुभयो ।
खड्काले पार्टी फुट्दा र जुट्दाको पीडाबाट शिक्षा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सहमति वा मैत्रीपूर्ण प्रतिस्पर्धाबाट नेतृत्व छान्ने संस्कार विकास गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अब सबै राजनीतिक दलले संवादहीनता तोडेर लोकतन्त्र र गणतन्त्र तथा राष्ट्रिय स्वाधीनताको पक्षमा एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । खड्काले कांग्रेसले वर्तमान सरकार असंवैधानिक किसिमले गठन भएको बारेमा प्रस्ट मत राखेको र प्रतिनिधिसभा पुनस्र्थापना र निर्वाचन दुवैको ढोका खुला राखिएको बताउनुभयो ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेले राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण चौतर्फी हमला भएको दाबी गर्नुभयो । ‘एमालेभित्र कमजोरी नहोला भन्न सकिँदैन, तर अहिले भइरहेको हमला साम्राज्यवादी योजनाको हिस्सा हो’, उहाँले भन्नुभयो– ‘आजको यो विशाल सहभागिताले एमाले कहाँ छ भन्ने जवाफ दिएको छ, यो सन्देश स्वदेश मात्र होइन, विश्वका लागि पनि हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले संविधानलाई पुनः लिकमा ल्याउन निर्वाचनतर्फ जान ढिलाइ नगर्न एमालेसहित सबै दललाई आग्रह गर्नुभयो । उहाँले जेन–जी आन्दोलनका क्रममा भएको क्षतिमा सबै राजनीतिक दलले आ–आफ्नो जिम्मेवारी लिनुपर्ने टिप्पणी गर्दै भन्नुभयो– ‘असन्तुष्टिको समाधान लोकतान्त्रिक प्रक्रियामै खोजिनुपर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने राजा, दल र जेनजीबीच नयाँ समझदारीको आवश्यकता औँल्याउँदै वर्तमान संविधान ‘मरिसकेको’ दाबी गर्नुभएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट एकताको विकल्प नरहेको भन्दै वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको बताउनुभयो । ‘विखण्डनले होइन, एकताले मात्र व्यवस्था र जनताको अधिकार जोगिन्छ’ –उहाँको भनाइ थियो ।
एमाले महासचिव शंकर पोखरेलले एमालेमाथि थालिएको चौतर्फी आक्रमणलाई असफल पारिएको बताउनुभयो । यसपटक एमालेको महाधिवेशनमा कांग्रेस, राप्रपा, रास्वपा र माओवादी धारका नेताहरूको उपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ ।
पछिल्लो समय जेनजी आन्दोलन, प्रतिनिधिसभा विघटन र राजनीतिक अस्थिरताबीच दलहरूबीच संवाद र सहकार्यको सम्भावनाबारे सन्देश प्रवाह भएको टिप्पणी भइरहेको छ । एमालेको शक्ति प्रदर्शनसँगै महाधिवेशन मञ्च दलहरूबीचको बहस र राजनीतिक दिशाबारे संकेत दिने साझा थलो बनेको देखिन्छ ।
आज आइतबारबाट एमालेको बन्द शत्र सुरु हुने र नयाँ नेतृत्व चयन गर्ने भएको छ । सर्वसम्मतिको प्रयास संस्थापन पक्षले गरिरहेको भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएपछि दुवै पक्षका नेताहरू महाधिवेशन प्रतिनिधिहरू बसेका होटलहरूमा धाउन सुरु गरेका छन् । उद्घाटन कार्यक्रममा ओली इतरका नेतालाई मञ्चमा राखिए पनि बोल्न भने दिइएन । महासचिव शंकर पोखरेलले भाषण गरिरहँदा वरिष्ठ उपाध्यक्ष पोखरेल भने अलमलमाा परेको देखिन्थ्यो ।
एमाले महाधिवेशन स्थल सल्लाघारीमा विभिन्न क्षेत्रमा उत्पादन भएका घरेलु सामग्री बिक्रीका लागि व्यापारीहरू व्यापार गर्न पुगेका थिए भने सो क्षेत्रका होटल, रेस्टरेन्ट तथा किराना पसलमा खाने र सामान किन्नेको भीड उल्लेख्य देखिएको थियो ।

प्रतिनिधि सभा पुनस्र्थापना गरी संविधानलाई ट्रयाकमा ल्याइनेछ । एमालेले सबैखाले षड्यन्त्रलाई परास्त गरी देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउनेछ ।
केपी शर्मा ओली, एमाले अध्यक्ष

मुलुक चौतर्फी संकटमा परिरहेको अवस्थामा एमाले, कांग्रेसलगायत सबै लोकतान्त्रिक दलहरू मिलेर नै उपयुक्त निकास दिन सक्नुपर्छ । अहिले संविधान र लोकतन्त्रमाथि नै हमला भइरहेकाले त्यसलाई समेत परास्त गर्नुपर्छ ।
पूर्णबहादुर खड्का
कांग्रेस कार्यवाहक सभापति

राष्ट्रिय स्वाधीनताका पक्षमा सबैभन्दा बढी आवाज उठाउने दल एमाले भएकाले सबैभन्दा बढी प्रहार पनि एमालेमाथि नै भएको र आजको जनसभाले एमालेमाथि प्रहार गर्नेलाई गतिलो जवाफ दिएको छ । मुलुकको स्वाधीनताका लागि सबै कम्युनिस्टहरू एकजुट हुनुको विकल्प छैन ।
नेत्रविक्रम चन्द विप्लव, महासचिव नेकपा, माओवादी

कम्युनिस्ट एकताको विकल्प छैन, त्यसैले सबै वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य छ । विखण्डनले होइन, एकताले मात्र व्यवस्था र जनताको अधिकार जोगाउन सकिन्छ ।
देव गुरुङ, नेता नेपाली कम्युनिस्ट पार्टी











प्रतिक्रिया