काठमाडौं ।
म्यानमारको पश्चिमी राखिन राज्यस्थित म्राउक–यूको एक सामान्य अस्पतालमा भएको भीषण हवाई आक्रमणबारे नयाँ तथ्यांक बाहिरिएको छ। बुधबार साँझ भएको बमबारीमा ३१ जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको छ भने घाइतेको संख्या ६८ पुगेको स्थानीय राहतकर्मीहरूले बताएका छन्। मृतक मध्ये महिला, बालबालिका र उपचाररत बिरामीसमेत परेका छन्।
चुनावअघि आक्रमण तीव्र
म्यानमारको सैनिक सरकारले डिसेम्बर २८ देखि आमनिर्वाचन आयोजना गर्ने घोषणा गरेसँगै, विद्रोही नियंत्रित क्षेत्रमा हवाई आक्रमणको तीव्रता बढाएको फ्रोन्टियर म्यानमारले जनाएको छ।
सन् २०२१ को सैनिक कूपछि जुन्टाले विगत तीन वर्षदेखि आक्रामक हवाई शक्ति प्रयोग गर्दै आएको निगरानीकर्ताहरूको भनाइ छ।
सैन्य अधिकारीहरूले चुनावलाई “संघर्ष अन्त्य गर्ने माध्यम” बताउँदै आएका छन्। तर राखिन लगायतका क्षेत्रमा सक्रिय सांस्कृतिक अल्पसंख्यक विद्रोही समूहहरूले निर्वाचन रोक्ने चेतावनी दिएपछि, ती क्षेत्र पुनः कब्जा गर्न जुन्टा आक्रमक रूपमा अघि बढिरहेको देखिन्छ।
अस्पतालमै बम खस्यो, रातभर शव कतार
राहतकर्मी वाइ हुन औङ बिहीबार बिहान घटनास्थल पुगेपछि “स्थिति अत्यन्त दुःखद थियो” भन्दै अस्पताल परिसरमा कम्तीमा २० वटा शव रातभर राखिएको बताए।
अस्पताल छेउको ठूलो रुख विस्फोटको धक्काले आधा चिरिएको थियो, माटोमा विशाल खाल्डो बनेको थियो।
राखिन राज्यको झन्डै पूरै भाग एथनिक विद्रोही समूहको नियन्त्रणमा रहेको बताइन्छ। यस्तो अवस्थामा अस्पतालजस्तो संवेदनशील संरचनामा गरिएको हवाई बमबारीले मानवअधिकार उल्लंघनबारे अन्तर्राष्ट्रिय चिन्ता थपिएको छ।











प्रतिक्रिया