मन्त्री घिसिङ र हितेन्द्रदेव शाक्यबीच भेटवार्ता


काठमाडौँ।

सर्वोच्च अदालतको परमआदेशपछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्य र ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङबीच भेटवार्ता भएको छ।

शाक्यले बुधबार पदभार ग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री घिसिङसँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री घिसिङले हाल प्राधिकरणले पूर्ण क्षमतामा काम गर्ने समय रहेको भन्दै त्यसमा सम्झौता नगर्न सुझाव दिए।

आफू नतिजामा विश्वास गर्ने भन्दै मन्त्री घिसिङले कामलाई नतिजामा बदल्नुपर्ने अवस्था रहेको स्मरण गराएका थिए । कार्यकारी निर्देशक शाक्यले आफूले विगतमा पनि घिसिङसँग मिलेरै काम गरेको स्मरण गर्दै यस पटक पनि त्यसमा समस्या नहुने बताएका छन् ।

सरकारले निर्देशक हितेन्द्रदेव शाक्यलाई असोज ५ मा हटाएको थियो । उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको थियो । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्रीको जिम्मेवारी समालेसँगै कुलमान घिसिङले उनलाई पदबाट हटाएका थिए । हितेन्द्रलाई पदबाट हटाएपछि कुलमानले प्रतिशोधको भावनामा काम गरेको भन्दै आलोचना समेत भएको थियो ।