मन्त्री शर्माले मानसिक स्वास्थ्यलाई प्रमुख प्राथमिकता घोषणा सचेतना अभियान–२०८२ सुरु

मनोपरामर्श सेवा विस्तारमा जोर


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मानसिक स्वास्थ्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको स्पष्ट गर्दै ‘मानसिक स्वास्थ्य सचेतना अभियान–२०८२’ औपचारिक रूपमा सुरु गरेकी छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले शारीरिक स्वास्थ्यतर्फ उल्लेखनीय प्रगति भए पनि मानसिक स्वास्थ्यका क्षेत्रमा अपेक्षित सुधार देखिन नसकेकाले यसलाई सरकारको शीर्ष प्राथमिकतामा राखिएको बताइन्।

मन्त्री शर्माका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्याको समाधानका लागि आवश्यक बजेट सुनिश्चित गर्न सरकारले सक्रिय पहल गरिरहेको छ। पछिल्लो सामाजिक तथा आर्थिक परिस्थितिले धेरै परिवार मानसिक दवाबमा परेको उल्लेख गर्दै उनले मानसिक स्वास्थ्यलाई राष्ट्रिय एजेन्डा बनाउन जरुरी भएको प्रष्ट पारिन्।

उनले मन्त्रालयका कर्मचारीहरूले मानसिक स्वास्थ्य कार्यक्रमलाई तीव्र गतिमा अघि बढाएकोमा धन्यवाद दिँदै दातृ निकायहरूको बढ्दो रुचिले पनि यो क्षेत्रमा सकारात्मक सन्देश मिलेको बताइन्। विदेशमा रोजगारीरत कतिपय नेपाली श्रमिकको मानसिक अवस्था कमजोर बन्दै गएको तथ्य पनि उनले साझा गरिन्।

मन्त्रालय अन्तर्गत मानसिक स्वास्थ्य परामर्शदाताको दरबन्दी न्यून रहेको स्वीकार्दै मन्त्री शर्माले आवश्यक तालिममार्फत मनोपरामर्श सेवा विस्तार भइरहेको जानकारी दिइन्। ‘स्वस्थ मन, स्वस्थ जीवन’ मूल नाराका साथ सुरु गरिएको यो अभियान आगामी मार्च १४ सम्म सञ्चालन हुने बताइएको छ।