काठमाडौं ।
परम्परागत, एकीकृत तथा आदिवासी औषधि प्रणालीलाई सुरक्षित र प्रमाण–आधारित रूपमा विश्व स्वास्थ्य सेवा संरचनामा समाहित गर्ने उद्देश्यसहित दोस्रो डब्लूएचओ विश्वव्यापी परम्परागत औषधि शिखर सम्मेलन आगामी डिसेम्बर १७ देखि १९, २०२५ सम्म भारत मण्डपम कन्वेन्सन सेन्टर, नयाँ दिल्लीमा आयोजना हुने भएको छ ।
भारत सरकार र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहआयोजनामा हाइब्रिड मोडालिटीमा हुने यस सम्मेलनमा १ सयभन्दा बढी देशका नीतिनिर्माता, वैज्ञानिक, अनुसन्धानकर्ता, चिकित्सक, अभ्यासकर्ता तथा आदिवासी समुदायका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
डब्लूएचओका अनुसार सम्मेलनमा प्रत्यक्ष रूपमा करिब ८ सय सहभागी उपस्थित हुनेछन् भने अनलाइन माध्यमबाट करिब ५ हजार जनाले सहभागिता जनाउने अनुमान छ । सन् २०२३ मा आयोजित पहिलो शिखर सम्मेलनपछि हासिल गरिएका प्रगतिहरूको समीक्षा गर्दै आगामी दशकका लागि विश्वव्यापी परम्परागत औषधि एजेन्डा तय गर्नु यस सम्मेलनको मुख्य उद्देश्य हुनेछ ।
यस वर्षको सम्मेलनमा ७८औं विश्व स्वास्थ्य सभाले पारित गरेको ‘विश्वव्यापी परम्परागत औषधि रणनीति २०२५–२०३४’ लाई व्यवहारिक रूपमा अघि बढाउने वैज्ञानिक, नीतिगत तथा प्राविधिक पहलहरू प्रस्तुत गरिनेछ । प्रमुख आकर्षणका रूपमा १.६ मिलियनभन्दा बढी वैज्ञानिक रेकर्ड समेटिएको डब्लूएचओ परम्परागत चिकित्सा ग्लोबल लाइब्रेरीको सार्वजनिक घोषणा, अनुसन्धान प्राथमिकता रोडम्यापको विमोचन, २१ उत्कृष्ट ‘हेल्थ हेरिटेज इनोभेसन’ को घोषणा तथा विभिन्न देश र अन्तर्राष्ट्रिय साझेदारबाट नीति, लगानी र अनुसन्धानसम्बन्धी प्रतिबद्धता रहनेछन् ।
डब्लूएचओका अनुसार परम्परागत औषधि विश्वका १७० भन्दा बढी देशमा प्रयोगमा छ र केही मुलुकमा यसको पहुँच ७०–९० प्रतिशतसम्म पुगेको छ । बढ्दो गैर–संक्रामक रोग, मानसिक स्वास्थ्य समस्या र स्वास्थ्य सेवामा असमानताको सन्दर्भमा सुरक्षित, प्रभावकारी र प्रमाण–आधारित परम्परागत औषधि महत्वपूर्ण विकल्पका रूपमा उभिँदै गएको डब्लूएचओले जनाएको छ ।











प्रतिक्रिया