काठमाडौं ।
दक्षिण एसियाली सुरक्षाको कमजोर कडीका रूपमा चिनिँदै गएको नेपाल अहिले अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरूको ‘ट्रान्जिट स्वर्ग’ बनेको तथ्यांकले पुष्टि गरेको छ ।
पछिल्ला पाँच आर्थिक वर्षमा मात्र नेपाल प्रहरीले नेपाली, भारतीय र विदेशी गरी ३३ हजार ४ सय ४५ जना लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । बरामदको मात्रा पनि स्तब्ध पार्ने खालको छ । १ लाख ३६ हजार ६ सय ८० केजी गाँजा, २ हजार ४ सय ६ केजी चरेश, १ सय ३५ केजी सेतो हेरोइन, ५ सय ९७ केजी अफिम, ५३ केजी कोकिन, साथै पछिल्ला वर्षमा चर्चित ‘पोलेन’ र ‘पोल्यान्ड’ जस्ता नयाँ खालका पदार्थसमेत समातिएको छ ।
सुरक्षा निकायहरूको बृहत् अपरेसनका बाबजुद नेपाललाई ट्रान्जिट बनाउने उच्चस्तरीय माफियाहरू भने अझै पनि सक्रिय छन् । प्रहरीका अनुसार नेपालको भौगोलिक संरचना, सीमामा खुलेआम आवागमन, कमजोर चेकजाँच र कानुनी प्रक्रियामा देखिने ढिलाइका कारण अन्तर्राष्ट्रिय तस्करहरूलाई नेपाल ‘सुरक्षित मार्ग’ जस्तै लाग्ने गरेको छ ।
५ वर्षमा ३० हजारभन्दा बढी नेपाली संलग्न
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पक्राउ परेकामध्ये सबैभन्दा ठूलो संख्या नेपाली नागरिकको छ । पक्राउ पर्नेमा नेपाली पुरुष ३० हजार ४ सय ५७, नेपाली महिला १ हजार ५ सय ५६, त्यस्तै भारतीय नागरिक पनि उच्च संलग्नतासहित देखिएको छ । भारतीय पुरुष १ हजार ८०, भारतीय महिला ६० रहेका छन् । नेपाल हुँदै अन्तर्राष्ट्रिय नेटवर्कका लागि काम गर्ने अन्य विदेशी नागरिकको संख्या पनि उल्लेख्य छ । अन्य विदेशी पुरुष ६१, विदेशी महिला ३३ जना पक्राउ परेका छन् ।
यो तथ्यांकले लागुऔषध कारोबार अब सीमित समूहको अपराध नरहेको, बरु फैलिँदै गएको आपराधिक उद्योगजस्तै बनेको स्पष्ट देखाउँछ । नेपालमा उत्पादन हुने पदार्थभन्दा खतरनाक तस्करी ‘विदेशी लागूऔषध’ रहेको छ । नेपालमा प्रायः स्थानीय रूपमा गाँजा, चरेश र सीमित मात्रामा अफिम उत्पादन हुने गरेको छ । राज्यले बारम्बार अपरेसन सञ्चालन गरेर यसलाई नियन्त्रणमा ल्याउने प्रयास गरे पनि तस्करहरूले सीमा क्षेत्र तथा पहाडी दुर्गम गाउँ–टोलमा लुकेर अवैध खेती थप विस्तार गरेको सुरक्षा निकायहरूले बताउने गरेका छन् ।
तर, नेपाललाई अझ ठूलो चुनौती भनेको विदेशी मूलका खतरनाक पदार्थको तस्करी हो सेतो हेरोइन, अफिम, कोकिनजस्ता पदार्थ दक्षिण अमेरिकाको विभिन्न देशबाट युरोप–मध्यपूर्व हुँदै दक्षिण एसिया हँुदै नेपाल आएर पुनः अन्य मुलुक जाने गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार पछिल्ला वर्षमा नेपाल हुँदै अन्य देशतर्फ लैजान लागिएको ‘पोलेन’ २ केजी र ‘पोल्यान्ड’ २१ केजी समेत समातिएको छ । यी दुवै पदार्थ नेपालमा उत्पादन नहुने र उच्च–स्तरको क्रस–कन्टिनेन्टल नेटवर्कले ल्याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।
लागुऔषध नियन्त्रणका अनुभवी मानिने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार नेपाललाई तस्करहरूले निरन्तर पसलजस्तै उपयोग गर्न सक्नुका तीन प्रमुख कारण रहेका छन् । उहाँका अनुसार कमजोर चेकजाँच, सजिलो आवागमन र कानुनी प्रक्रियाको ढिलासुस्ती प्रमुख रहेका छन् ।
पूर्वडीआईजी मल्लका अनुसार नेपालको भौगोलिक संरचना, भारतसँगको खुला सीमा र विमानस्थलमा देखिने असमान चेकजाँच प्रक्रियाले तस्करहरूलाई नेपाल ‘लो–रिस्क, हाई–प्रफिट’ जोनजस्तै लाग्छ । दक्षिण अमेरिकाबाट आउने सेतो हेरोइन, कोकिन वा अन्य पदार्थ नेपाल हुँदै एसियामा पुनः पठाइन्छ, किनकि यहाँ निरीक्षण प्रणाली बलियो छैन । यिनले नेपाललाई कमजोर कडी देख्ने गरेका छन् । उहाँका अनुसार नेपालमा तस्करी नेटवर्कले स्थानीय दलाल, विदेशी संलग्न समूह र व्यवस्थित आर्थिक प्रवाह प्रणालीको सहारा लिने गरेको छ । सीमामा पर्याप्त स्क्यानर नहुनु, दुर्गम क्षेत्रमा सुरक्षाको न्यून उपस्थिति कारण माफियाहरूले नेपाललाई ‘सुरक्षित मार्ग’ ठान्ने गरेका छन् ।
सुरक्षा विज्ञहरूले नेपालमाथि लागुऔषध तस्करहरूको धावा पर्नुका कारणलाई नीतिगत, भौतिक र प्रविधिगत कमजोरीसँग जोडेर व्याख्या गरेका छन् । सुरक्षा विशेषज्ञहरूका अनुसार खुला सीमा र सीमामा अपर्याप्त स्क्यानिङ प्रणाली, भारत–नेपाल सीमामा ठूलो मात्रामा मानवीय र भौतिक निरीक्षण नै सम्भव नहुँदा माफियाले सजिलै आवत–जावत गर्ने गरेका छन् ।
विमानस्थल तथा नाकामा असमान सुरक्षा चेकजाँचको फाइदा माफियाहरूले उठाउँदै आएको पाइन्छ । लागुऔषधका तस्करहरू पक्राउ परिरहन्छन् तर नेटवर्क ध्वस्त पार्ने गहिरो अनुसन्धान अभावका कारण तस्करीको चक्र घुमिरहेको देखिन्छ । कानुनी प्रावधानको दुरुपयोग गरेर तस्करहरूले आफ्नो ¥याकेट चलाई रहेका देखिन्छ । धरौटीमा छुट्ने सम्भावना, लामो तारिख प्रक्रिया र सजाय कडा नभएर पनि माफियालाई ‘रिस्क–फ्री’ महसुस गर्ने गरेको पाइन्छ ।
नेपालमा लागुऔषध नियन्त्रणको अपरेसन बढेको छ तर तस्करहरूको रणनीति त्यसभन्दा तीव्र छ । प्रविधियुक्त स्क्यानर, तथ्य–आधारित अनुसन्धान र अन्तर्राष्ट्रिय संयोजन बलियो बनाइए मात्र नेपाल ट्रान्जिटको सूचीबाट हट्न सक्छ । लागुऔषध तस्करी अहिले नेपालका लागि केवल अपराधमात्र होइन, राष्ट्रिय सुरक्षा चुनौती बनिसकेको छ । बरामद र पक्राउको तथ्यांक बढ्नु राम्रो पक्ष हो, तर तस्करहरूको गतिविधि अझै नियन्त्रणबाहिर छ । कमजोर चेकजाँच, खुला सीमा, कानुनी ढिलासुस्ती र अन्तर्राष्ट्रिय नेटवर्कबीचको जालो हटाउन राज्यले नीतिगत र प्रविधिगत सुधारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने सुरक्षा निकायहरू र विज्ञहरूको एउटै मत छ ।











प्रतिक्रिया