‘ग्रुप अफ डेथ’ अभाव भएको फिफा विश्वकप


वासिंटन, (एजेन्सी)

अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको र ४८ देश सहभागी हुने नयाँ ढाँचाको फिफा विश्वकप २०२६ को अन्तिम ‘ड्र’ सार्वजनिक भएपछि यसको रोचक विश्लेषण सुरु भएको छ । विगतका विश्वकपमा प्रायः देखिने दुई वा सोभन्दा बढी शीर्ष टोलीहरू सम्मिलित ‘ग्रुप अफ डेथ’ यसपटकको विस्तारित ढाँचामा भने नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कूल १२ समूहहरूमध्ये कुनै पनि समूहलाई निकै कठिन मान्न सकिने अवस्था छैन र विश्वका शीर्ष देशहरूले आफ्नो समूहमा एकभन्दा बढी बलियो प्रतिद्वन्द्वी पाएका छैनन् । यद्यपि, ‘ग्रुप अफ डेथ’ नभए पनि २०१८ का च्याम्पियन फ्रान्स, अफ्रिकी च्याम्पियन सेनेगल र अर्लिङ हल्यान्डको अपराजित टोली नर्वे समावेश भएको समूह ‘आई’ लाई यसपटक अन्य समूहको तुलनामा बलियो मानिएको छ । जहाँ नर्वेले देखाएको लय र गतिले फ्रान्सलाई कडा चुनौती दिने निश्चित छ र यी दुई टोलीले जुन २६ मा एक–अर्कासँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछन् ।

मेसी र रोनाल्डो भिड्ने प्रबल सम्भावना

त्यसैगरी, २०२६ मा आफ्नो अन्तिम विश्वकप खेल्ने तयारीमा रहेका डिफेन्डिङ च्याम्पियन लियोनल मेसीको अर्जेन्टिना (समूह ‘जे’) र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल (समूह ‘के’) दुवैले तुलनात्मक रूपमा सहज समूह पाएका छन् । जसले यी दुई टोलीलाई नकआउट चरणमा पुग्न सहज हुने अपेक्षा गरिएको छ । ‘ड्र’ को विश्लेषणबाट आजसम्म विश्वकपको मञ्चमा कहिल्यै नभएको रोनाल्डो भर्सेस मेसीको बहुप्रतीक्षित भिडन्त आगामी विश्वकपको क्वार्टरफाइनल (अन्तिम आठ) मा हुने प्रबल सम्भावना देखिएको छ । यो ऐतिहासिक भिडन्त हुनका लागि अर्जेन्टिना र पोर्चुगल दुवैले समूह चरणमा शीर्ष स्थान हासिल गरी प्रिक्वाटरफाइनल (अन्तिम १६) का खेलहरू पनि जित्नु अनिवार्य छ । यदि यी सबैमा सोचेजस्तो नतिजा आएम ४१ वर्षको उमेरमा पोर्चुगललाई पहिलोपटक विश्वकप जिताउने लक्ष्यमा रहेका रोनाल्डो र २०२२ का विश्वकप विजेता अर्जेन्टिनाको कप्तान मेसीबीचको उक्त क्वार्टरफाइनल भिडन्त विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक र अपेक्षित खेल बन्ने निश्चित छ ।