डा. पन्त पुरष्कृत


काठमाडौं ।

नेपालमा आधुनिक स्नायु शल्यक्रियाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका वरिष्ठ न्युरो–सर्जन डा. वसन्त पन्त यस वर्षको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ बाट सम्मानित हुनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले मस्तिष्क शल्यक्रिया, विशेषगरी ‘फङ्सनल न्युरो–सर्जरी’ गर्दै आउनुभएका डा. पन्तलाई दीर्घ योगदान र प्रविधिगत नवप्रवर्तनलाई उच्च मूल्यांकन गर्दै यो वर्षको सर्वोच्च पुरस्कार प्रदान गरेको हो ।

शनिवार आयोजित नास्टको ४३औँ वार्षिकोत्सव समारोहमा शिक्षामन्त्री महावीर पुनले डा. पन्तलाई पुरस्कार हस्तान्तरण गर्नुभएको हो । पुरस्कारसँगै २ लाख रुीपयाँ नगद प्रदान गरिएको छ । पुरस्कार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै डा. पन्तले पुरस्कारबाट पाएको रकम समाजका लागि नै खर्चिने बताउनुभयो । उहाँले सामाजिक सेवा र स्वास्थ्य पहुँच सुधारमा निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

डा. पन्त हाल माइतीघरस्थित अन्नपूर्ण न्युरोलोजिकल एलायन्स साइन्सेजमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि मस्तिष्कसम्बन्धी जटिल रोगहरूको शल्यक्रियामा विशेष दक्षता राख्दै आउनुभएका उहाँ नेपालमा फङ्सनल न्युरो–सर्जरी, न्युरो–एन्डोस्कोपी, पीडा व्यवस्थापन, मिर्गी शल्यक्रियाजस्ता उन्नत प्रविधिहरू अभिलेखित गर्ने अग्रणी चिकित्सकका रूपमा परिचित हुनुहुन्छ ।