मियानद्वारा औषधि व्यवस्था विभाग सुधारको तयारी


काठमाडौं ।

औषधि व्यवस्था विभाग (डीडीए) को संरचनागत सुधारका विषयमा सरकारलाई प्रभावकारी सुझाव दिन नेपाल औषधि आयातकर्ता संघ (मियान) सक्रिय बनेको छ । स्वास्थ्य मन्त्रालयले गठन गरेको उच्च–स्तरीय कार्यदलले सरोकारवालासँग सुझाव मागेपछि मियानले पूर्वअधिकारी तथा औषधि विज्ञहरूको सहभागितामा विशेष परामर्श बैठक सम्पन्न गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माको निर्णयअनुसार हेल्थ सेक्टरका नौ जना विज्ञहरू समेटिएको कार्यदललाई एक महिनाभित्र डीडीए सुधारको प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ । सोही कार्यादेशअनुरूप मियानले विभागका पूर्व महानिर्देशक राधारमणप्रसाद साह, गजेन्द्रबहादुर भुजु, राष्ट्रिय औषधि प्रयोगशालाकी पूर्व निर्देशक भावा राजभण्डारीलगायतका विशेषज्ञहरूलाई उपस्थित गराएर बुँदागत सुझावका मसौदा तयार गर्दै छ ।

परामर्श बैठकमा औषधि नियमन, आयात प्रक्रिया, गुणस्तर सुनिश्चितता र प्रशासनिक चुस्तताबारे महत्वपूर्ण विचार विनिमय भएको मियानका अध्यक्ष पवन आचार्यले बताउनुभयो । उहाँका अनुसार, विज्ञहरूको प्रत्यक्ष सहभागिताले सुझावहरू ‘बलियो र व्यावहारिक’ बन्न मद्दत गर्नेछ ।

कार्यदलले डीडीएको प्रभावकारिता वृद्धि, पारदर्शिता, र संरचनागत व्यवस्थापन सुधारमा केन्द्रित रही प्रतिवेदन पेस गर्नुपर्नेछ । मियानले संकलित सुझाव कार्यदललाई औपचारिक रूपमा बुझाउने तयारी गर्दै सुधार प्रक्रियाले औषधि आयात तथा नियमन प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा व्यक्त गरेको छ ।