भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन


काठमाडौं ।

चितवनस्थित भरतपुर अस्पतालले बहुप्रतीक्षित ट्रमा सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आइतबार विशेष समारोहका बीच ५० श्ययाको ट्रमा सेन्टरको उद्घाटन गर्दै यस क्षेत्रको स्वास्थ्य सेवा अब गुणस्तरीय र अधिक प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

भरतपुर अस्पतालले पछिल्ला वर्षमा बढ्दो दुर्घटना, चोटपटक र आकस्मिक उपचारको मागलाई ध्यानमा राख्दै आकस्मिक कक्षमाथि दुई तला थप गरी आधुनिक ट्रमा सेन्टर निर्माण गरेको हो । देशकै प्रमुख पूर्व–पश्चिम यातायात मार्गको केन्द्रमा रहेको चितवनमा दैनिक रूपमा थुप्रै सडक दुर्घटना हुने हुनाले प्रभावकारी ट्रमा सेवाको आवश्यकता लामो समयदेखि महसुस हुँदै आइरहेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले ट्रमा सेन्टर सञ्चालनले दुर्घटनाबाट घाइते हुने व्यक्तिहरूको उपचार अब समयमै र व्यवस्थित रूपमा हुन सक्ने बताउनुभयो । उहाँका अनुसार, विगतका वर्षहरूमा भरतपुर अस्पतालमा उपचारका लागि आएका घाइतेहरूलाई बेड, उपकरण र विशेषज्ञताको अभावका कारण अन्यत्र रिफर गर्नुपथ्र्यो । ‘यस क्षेत्रमा ट्रमा सेवा अत्यन्त आवश्यक थियो । त्यसैले अस्पतालको आन्तरिक स्रोत परिचालन गर्दै नयाँ तला थपेर सेवा प्रारम्भ गरेका हौँ’ –पौडेलले भन्नुभयो ।

उहाँका अनुसार ट्रमा सेन्टरको भौतिक संरचना निर्माणका लागि अस्पतालले आफ्नै आन्तरिक कोषबाट १३ करोड रुपियाँ खर्च गरेको छ । उपकरण तथा मेसिनरी खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ करोड ८० लाख रुपियाँ उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

हाल सञ्चालनमा आएका १५ श्ययाबाट सेवा सुरु भएको भए पनि केन्द्रलाई विस्तार गर्दै सम्पूर्ण ५० श्यया पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना अस्पतालले अघि सारेको छ । ट्रमा सेन्टरमा अत्याधुनिक एक्स–रे, सिटी–स्क्यान, इमर्जेन्सी अपरेसन थिएटर, माइनर तथा मेजर प्रोसिजर कक्ष, आईसीयू सुविधा र दक्ष जनशक्ति राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले बताएको छ ।