शिक्षण अस्पतालमा दुई नयाँ उप–निर्देशक नियुक्त


काठमाडौं ।


चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रिक्त रहेको दुई उप–निर्देशक पदमा डा. पवनराज चालिसे र डा. गोपाल सेडाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ । डीन कार्यालयले विगत शुक्रवार बसेको बैठकबाट दुवै चिकित्सकलाई दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । नव–नियुक्त उप–निर्देशकद्वयले सोमबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

सह–प्राध्यापकसमेत रहेका डा. पवनराज चालिसे हाल टिचिङ अस्पतालको युरोलोजी तथा किड्नी ट्रान्सप्लान्ट सर्जरी विभागका विभागीय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि मिर्गौला प्रत्यारोपण तथा युरोलोजी शल्यक्रियामा संलग्न डा. चालिसेले अस्पतालको प्रशासनिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

यसै गरी अर्का सहप्राध्यापक डा. गोपाल सेडाईं अस्पतालको न्युरोलोजी विभागका विभागीय प्रमुख हुनुहुन्छ । उहाँ न्युरो–क्रिटिकल केयर, स्ट्रोक तथा स्नायुगत रोगहरूको उपचारमा विशेषज्ञ मानिनुहुन्छ । डा. सेडाईंलाई प्रशासनिक जिम्मेवारीसँगै विभागीय समन्वय र नीति–निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ ।

टिचिङ अस्पतालमा वर्तमान निर्देशक प्रा.डा. सुवासप्रसाद आचार्य रहनुभएको छ । अस्पतालको दैनिक प्रशासनिक काम, नीति निर्माण, समन्वय तथा सेवाको गुणस्तर सुधारमा निर्देशकलाई सहयोग गर्ने जिम्मेवारी उप–निर्देशकहरूको हुने व्यवस्था छ । दुई उप–निर्देशक पद लामो समय रिक्त रहँदा प्रशासनिक तथा व्यवस्थापनसम्बन्धी कार्यमा दबाब बढेको भन्दै चिकित्सक तथा कर्मचारीहरूले चासो व्यक्त गर्दै आएका थिए । नयाँ नियुक्तिसँगै अस्पतालको व्यवस्थापन प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ ।