–सार्वजनिक जग्गा र राजकुलो मास्दै प्लटिङ
–छानबिनको माग गर्दै अख्तियारमा उजुरी
काठमाडौं ।
नागार्जुन नगरपालिका वडा नं. ६ टौखेलस्थित विल्सन स्कुल नजिक रहेको सविना श्रेष्ठको नामको २ आना क्षेत्रफलमा रहेको जग्गामा भूमाफियाहरूले जबर्जस्ती बाटो बनाउने भन्दै डोजर लगाउने प्रयास गरेका छन् ।
नागार्जुन नगरपालिका ७ ग्रिनभिलेज बस्ने स्थानीय भूमाफिया कुमार लामिछानेको समूहले श्रेष्ठलाई धम्काउँदै उहाँको पुर्जावाल जग्गामा बाटो खन्नको लागि डोजर प्रयोग गरेका थिए । केही दिनअघि जग्गा धनीका श्रीमान गजेन्द्रराज मास्केले आफ्नो जग्गामा मनपर्दी र जबर्जस्ती बाटो नबनाउन आग्रह गर्दा निज लामिछानेले वार्ड नं ६ को वडा सदस्य मुकुन्दबहादुर सुवेदीकैअघि गजेन्द्रलाई हातपात गर्नुभएको थियो । त्यसपछि पीडित गजेन्द्रले आफ्नो जग्गाको र ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिनुभएको थियो ।
यसै क्रममा केही दिन अघिमात्रै भूमाफिया लामिछानेको समूहले गजेन्द्रकी श्रीमती सविनाको नाममा रहेको २ आना जग्गामा जबर्जस्ती डोजर लगाएर बाटो बनाउन खोजेपछि पीडितले जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी परिसर काठमाडौंलाई गुहार्नुभएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन र जिल्ला प्रहरी प्रमुख एसएसपीको निर्देशनमा प्रहरी परिसर स्वयम्भुका प्रहरी निरीक्षकले सविनाको जग्गामा बाटो बनाउने लामिछानेको समूहलाई त्यहाँबाट हटाएका थिए ।
तर, लामिछाने समूह भने अझै पनि सामदाम दण्ड भेद प्रयोग गरी श्रेष्ठको जग्गामा बाटो खन्न अझै प्रयासरत रहेको बुझिएको छ । लामिछानेको यस प्रकारको दादागिरी र जबर्जस्तीमा स्यूचाटारमा रहेको नयाँ नापी कार्यालयका कर्मचारीको समेत संलग्नता रहेको बताइएको छ । नापी कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर निज लामिछानेले पहिला नै श्रेष्ठको जग्गासँग जोडिएको र हालसाविक भइसकेको २ आना जग्गालाई कागजी रूपमा ४ आना बनाएका छन् ।
सुरुमा लामिछानेले श्रेष्ठको जग्गाकै आडमा रहेको कैयौं रोपनी जग्गाको प्लटिङको लागि बाटो आवश्यकता पर्ने भएकाले सविनाको जग्गाबाट बाटो लैजाने र त्यसको सट्टामा उहाँको जग्गासँगै जोडिएको पछाडिको जग्गासमेत दिएर चार आना पु¥याइदिने आश्वासन दिनुभएको थियो । तर पछि लामिछानेले नापीसँग मिलेर सो जग्गा अर्कै व्यक्ति विमला प्रधानको नाममा नक्कली पुर्जा नै बनाएर ढाँट्नुभएको थियो ।अहिले पनि लामिछाने समूहले विभिन्न किसिमको धम्की दिँदै सविना र उहाँका श्रीमान् गजेन्द्रलाई मानसिक तनाब दिइरहेका छन् ।
निज लामिछाने समूहले श्रेष्ठको सो जग्गाबाट नजिकै रहेको २० रोपनीको प्लटिङ गरिरहेका छन् । त्यसरी प्लटिङ गर्दा सार्वजनिक जग्गा र राजकुलोसमेत मासिएको छ भने वर्षौंदेखि चलनचल्तीमा रहँदै आएको बाटोसमेत मासेर अतिक्रमण गरिएको छ । यसै गरी लामिछानेले नक्साविपरीत वडा नं ६ को मिलेमतोमा चार किल्लाको विवरणसमेत नक्कली बनाउनुभएको पाइएको छ ।
सो प्लटिङमा बाटो पु¥याउन जबर्जस्ती अर्काको जग्गामा बाटो खन्ने प्रयास लामिछाने समूहले गरेको हो । व्यवसायी ज्ञानेन्द्रलाल प्रधान र विमला प्रधानको सो जग्गा बैना गरेर उनीहरूले कतैबाट पनि इजाजत नलिएरै जग्गाको प्लटिङ गरिरहेका छन् । यस कार्यमा वार्ड ६ का वडा सदस्य मुकुन्दबहादुर सुवेदीको समेत संलग्नता रहेको बताइएको छ । यस कार्यमा नापी कार्यालयसँग समेत सेटिङ मिलाइएको छ । यस विषयमा नापी कार्यालयका कर्मचारीहरूले समेत बद्मासी गरेको पाइएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत छानबिनको माग गर्दै उजुरी हालेका छन् ।
अख्तियारमा गत कार्तिक १९ गते हालिएको उजुरीमा निज लामिछानेले स्यूचाटार ७ को नयाँ नापी कार्यालयका कर्मचारीसँग सेटिङ मिलाई सार्वजनिक जग्गा हडपेकाले त्यस सम्बन्धमा छानबिन गरी कारबाहीको माग गरिएको छ । अख्तियारमा हालिएको उजुरीको दर्ता नम्बर सि –०२१७७९ रहेको छ । पीडित जग्गाधनीहरूले भूमाफिया लामिछानेको दादागिरी र बद्मासीविरुद्ध नागार्जुन नगरपालिका ६ को वडा कार्यलयमा उजुरी दिए पनि वडा कार्यालयले उजुरी दर्ता नगरी उल्टै भूमाफियालाई साथ दिएपछि पीडितहरूले वडा कार्यालयका जनप्रतिनिधिमाथि अख्तियारले छानबिन गर्नुपर्ने माग गरेका छन् ।











प्रतिक्रिया