राजधानीको वायु अस्वस्थकर

564
Shares

काठमाडौं ।

काठमाडौंको वायु अस्वस्थकर देखिएको छ । राजधानीको १८ स्थानमा वायु प्रदूषण मापनयन्त्रको सूचकांकमा सबै अस्वस्थ देखिएको हो । स्वस्थकर हुन एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ० देखि ५० हुनुपर्छ । कामपाले त्यसलाई हरियो रङको प्रतीक मानेको छ । त्यसले वायु गुणस्तर सन्तोषजनक र प्रदूषणको न्यून असर पर्ने उल्लेख छ । यसले कुनै जोखिम नभएको उल्लेख छ ।
काठमाडौं महानगरपालिकाले राजधानीको १८ स्थानमा जडान गरेको वायु गुणस्तर निगरानी बोर्डमा वायु प्रदूषणको अवस्थाबारे उल्लेख गरेको छ । कामपाले स्वयम्भुस्थित १५ वडा कार्यालय, बालाजु बाइसधारा, डल्लु, थापाथली, क्षेत्रपाटी, नयाँ बसपार्क र जडीबुटीमा उपकरण जडान गरेको छ ।

त्यस्तै, कोरक्षेत्रको असनचोक, कमलादी, बौद्ध क्षेत्र, पुरानो बानेश्वर, शान्तिनगर वडा कार्यालय, चाबहिल चोक, लैनचौर, हाँडीगाउँ र रत्नपार्कमा एक्यूआई परीक्षण यन्त्र जडान गरेको थियो । नेपाल समाचारपत्रले दिउँसो ३ बजेर ४७ मिनेटमा वायु गुणस्तर सूचकांक अध्ययन गरेको थियो ।

‘सबै स्थानमा कतै पनि स्वस्थ वायु छैन । १८ स्थानमध्ये कतै पनि स्वस्थ्यकर वायु छैन, मध्यम किमिसको छ’ –कामपा वातावरण निरीक्षक सृृष्टि श्रेष्ठले भन्नुभयो ।

एक्यूआइको रिपोर्टअनुसार ५१ देखि १०० लाई मध्यमस्तर मानिन्छ । कामपाले त्यसलाई पहेँलो रङको प्रतीक जनाएको छ । महानगर क्षेत्रको नयाँ बसपार्क र रत्नपार्कमा मध्यम गुणस्तरको वायु देखिएको छ । बालाजु बाइसधारा, कमलादी, चाबहिल र लैनचौरको वायु अस्वस्थकर छ ।

यसको अर्थ ती क्षेत्रको एक्यूआई १५१ देखि २०० को बीचमा छ । बालाजु बाइसधारामा १५१, कमलादी १५८, चाबहिल चोक १५३ र लैनचौरको एक्यूआई १५२ छ । सबै व्यक्तिको स्वास्थ्यमा असर पर्ने र संवेदनशील समूहका लागि जोखिम हुनसक्ने भएकाले यो मापदण्डलाई अस्वस्थकर मानिएको छ ।

तथ्यांकअनुसार स्वयम्भु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडीबुटी चोक, असन चोक, बौद्धक्षेत्र, पुरानो बानेश्वर, शान्तिनगर र हाँडीगाउँको वायु प्रदूषण संवेदनशील समूहका लागि अस्वस्थ छ । अर्थात् ती क्षेत्रको प्रतीक सुन्तला रङ देखिएको छ ।
वातावरण निरीक्षक श्रेष्ठले महानगर क्षेत्रको वायु प्रदूषण अस्वस्थकर रहेको जानकारी दिनुभयो । १९ स्थानमा जडान भएकामध्ये कलंकी चोकको डाटा देखिएको छैन । वातावरणविद्का अनुसार २०० देखि ३०० धेरै अस्वथ्य अर्थात सबै व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने र अति ३०१ देखि ५०० सम्म अति खतरनाक सबै मानिसमा स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने उल्लेख छ ।

कामपा वातावरण व्यवस्थापन विभागले धेरै अस्वस्थलाई बैजनी र खतरनाकलाई गाढा खैरो प्रतीक उल्लेख गरेको छ । जाडो याममा खुला स्थानमा आगो बाल्ने, लामो समयसम्म वर्षा नहुने कारणले वायु प्रदूषण बढेको हो । विभागले वातावरण स्वस्थ राख्न खुला क्षेत्रमा आगो नबाल्ने सूचना जारी गरेको छ । कामपाले करिब एक महिनाअघि सूचना जारी गरी जथाभावी आगो बाल्नेमाथि कारबाही गर्ने चेतावनी दिएको थियो ।

वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलगायत संवेदनशील समूहलाई विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

कामपाभित्रको वायु प्रदूषण केवल यस क्षेत्रभित्रका गतिविधिहरू वा स्थानीय स्रोतहरूका कारण मात्र नभई, समग्र उपत्यकाभरिका स्रोत, सीमापार प्रदूषण, अन्य क्षेत्रीय स्रोत र उपत्यकाको भौगोलिक बनावटबाट उत्पन्न साझा चुनौतीलाई मनन गर्दै उपकरण जडान गरेको कामपाको भनाइ छ ।

त्यसैले महानगरवासीलाई वास्तविक समयको वायु गुणस्तरसम्बन्धी जानकारी गराउने जिम्मेवारीबाट अभिप्रेरित ड्यासबोर्ड सञ्चालन गरेको थियो । प्रदूषणबाट स्वास्थ्यमा पर्ने जोखिम घटाउन र दैनिक गतिविधिहरूमा अनुकूलता ल्याउन सहयोग पु¥याउन, वायु प्रदूषण नियन्त्रणमा व्यक्तिगत योगदानलाई प्रोत्साहन र स्थानीय तथा राष्ट्रिय स्तरमा प्रभावकारी नीति निर्माणमा सहयोग पु¥याउन उपकरण जडान गरेको हो ।