पुर्जा नपाएका किसानद्वारा मालपोत र प्रशासनको ध्यानाकर्षण


नवलपरासी। 

वर्षाैंदेखि जग्गा जाेतभाेग गरेर पनि श्रेष्ता पुर्जाबाट वञ्चित सयाैं स्थानीयले सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्वर ४ हसाैरा,चिलाहा र छिपछिपेका स्थानीयले जाेतभाेगका आधारमा आफ्ना नाउँमा जग्गा दर्ताको माग राखी सम्बद्ध कार्यालय प्रमुखहरूकाे ध्यानाकर्षण गरेका हुन् । 

स्थानीय वडाध्यक्षकाे अगुवाईमा पार्टी र दल भन्दामाथि उठेर सम्पूर्ण वडावासी एकभई छुटजग्गा दर्ताका लागि आफूहरू दबाब मूलक कार्यक्रमसहित मालपोत कार्यालय आईपुगेको एक पीडितले बताए ।

पीडितहरूले मालपोत कार्यालयका प्रमुखलाई आगामी १५ दिन भित्र जाेताहा तथा बसोबास रहेका किसानहरूका नाममा छुट जग्गा दर्ता प्रक्रिया सुरू गर्दै श्रेष्तापूर्जा बितरण गर्न दबाब दिएका छन् ।

बिगतमा नाप नक्सा भई सकेकाे १ सय बिगाहा १० धुर जग्गा मध्ये ७२ बिगाहा जमिनका वास्तविक जाेताहा किसानहरूले हाल सम्म पनि धनी पुर्जा पाउन नसकेकाले स्थानीयहरू आन्दाेलित हुनुपरेकाे वडाध्यक्ष नारायण लाेहनीले बताए ।

उनले भने सर्वहारा किसानहरूले दशकाै ३देखि खनजाेत गर्दै आएकाे जमिन विभिन्न बहानमा दर्ता हुनबाट राेकिनुमा मालपोत कर्मचारी र भूमाफियाकाे चलखेल रहेको छ ।

साथै यस मध्यकै झण्डै ३५ विगाहा जमिन जिल्ला र जिल्ला बाहिरका हाेटल कोठामा बसी विभिन्न व्यक्ति र परिवारका नाममा कित्ताकाट गरिनु कानुनी राज्यकाे उपहास भएकाे लाेहनीले बताए ।

यसै बीच सोमबार ४ नम्वर वडा भेलाले जमिन जाेतभाेग गर्ने वास्तविक किसानका आँखा छलेर आफ्ना नाममा किर्ते गरी  फिल्डबुक कायम गर्ने भूमाफिया र जग्गा धनी पूर्जा लिने व्यक्तिहरूलाई कार्यवाहीकाे दायरमा ल्याउन माग गरेकाे बताइएको छ ।

वडावासीले फिल्ड कायम भएका साबिक शिवमन्दिर ९ क ख ग काे जग्गा जाेतभाेग तथा बसाेबासीका नाममा बाँकी जग्गा दर्ता, किर्ते गरी  जमिन हत्याउनेहरूलाई कार्यवाही हुनु पर्ने भन्दै १५ दिने समय सीमा दिएका छन् ।

साथै उनीहरूले स्थानीयले शान्तिपूर्ण रूपले दिएको ध्यानाकर्षण पत्रलाई सम्बद्ध पक्षले गम्भीरता पूर्वक नलिई आलटाल गरी  रहे वडाध्यक्ष कै नेतृत्वमा आफूहरू मूल सडक सम्मको सङ्घर्ष पूर्ण आन्दोलनमा पुग्नु पर्ने कठाेर स्थिति पैदा ती भूमि पीडितले बताए ।