भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन


काठमाडौं।

चितवनस्थित भरतपुर अस्पतालले बहुप्रतिक्षित ट्रमा सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आइतबार विशेष समारोहका बीच ५० शैयाको ट्रमा सेन्टरको उद्घाटन गर्दै यस क्षेत्रको स्वास्थ्य सेवा अब गुणस्तरीय र अधिक प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन् ।

भरतपुर अस्पतालले पछिल्ला वर्षमा बढ्दो दुर्घटना, चोटपटक र आकस्मिक उपचारको माग ध्यानमा राख्दै आकस्मिक कक्षमाथि दुई तला थप गरी आधुनिक ट्रमा सेन्टर निर्माण गरेको हो । देशकै प्रमुख पूर्व–पश्चिम यातायात मार्गको केन्द्रमा रहेको चितवनमा दैनिक रूपमा थुप्रै सडक दुर्घटना हुने हुनाले प्रभावकारी ट्रमा सेवाको आवश्यकता लामो समयदेखि महसुस हुँदै आइरहेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले ट्रमा सेन्टर सञ्चालनले दुर्घटनाबाट घाइते हुने व्यक्तिहरूको उपचार अब समयमै र व्यवस्थित रूपमा हुन सक्ने बताए । उनका अनुसार, विगतका वर्षहरूमा भरतपुर अस्पतालमा उपचारका लागि आएका घाइतेहरूलाई बेड, उपकरण र विशेषज्ञताको अभावका कारण अन्यत्र रिफर गर्नुपथ्र्यो । “यस क्षेत्रमा ट्रमा सेवा अत्यन्त आवश्यक थियो । त्यसैले अस्पतालको आन्तरिक स्रोत परिचालन गर्दै नै तला थपेर सेवा प्रारम्भ गरेका हौँ,” पौडेलले भने ।

उनका अनुसार ट्रमा सेन्टरको भौतिक संरचना निर्माणका लागि अस्पतालले आफ्नै आन्तरिक कोषबाट १३ करोड रुपैयाँ खर्च गरेको छ । उपकरण तथा मेसिनरी खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ करोड ८० लाख रुपैयाँ उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

हाल सञ्चालनमा आएका १५ शैयाबाट सेवा सुरू भएको भए पनि केन्द्रलाई विस्तार गर्दै सम्पूर्ण ५० शैया पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना अस्पतालले अघि सारेको छ । ट्रमा सेन्टरमा अत्याधुनिक एक्स–रे, सिटी–स्क्यान, इमर्जेन्सी अपरेसन थिएटर, माइनर तथा मेजर प्रोसीजर कक्ष, आइसियु सुविधा र दक्ष जनशक्ति राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले बताएको छ ।

उद्घाटन समारोहमा मन्त्री शर्माले सरकार स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा केन्द्रित रहेको भन्दै ट्रमा सेवा विस्तारले प्रदेशभरका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने धारणा राखिन् । ‘‘चितवन जस्तो व्यस्त क्षेत्रमा आधुनिक ट्रमा सेन्टर अत्यावश्यक थियो । गुणस्तरीय सेवाले उपचारको नतिजा सुधार्न मद्दत गर्नेछ,’’ उनको भनाइ थियो ।

यसै क्रममा मन्त्री शर्माले भरतपुर अस्पतालमै स्थापना गरिएको कम्पाउन्डिङ फार्मेसी, ल्याब एवं औषधि सूचना केन्द्रको पनि उद्घाटन गरिन् । नयाँ प्रयोगशाला र फार्मेसी सेवा सञ्चालनमा आएपछि विशेष बिरामीका लागि आवश्यक औषधि तथा सूचना प्राप्तिमा सहजता बढ्ने अस्पतालको दाबी छ । औषधिको उपलब्धता, सही सूचना तथा परामर्शसहित उपचारको प्रभावकारिता बढाउने लक्ष्यसहित फार्मेसी सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।

चितवनजस्तो राष्ट्रिय राजमार्गको केन्द्र बिन्दुमा रहेको भरतपुर अस्पतालमा दैनिक हजारौं बिरामी सेवा लिन पुग्ने गर्छन् । ट्रमा सेन्टर सञ्चालनमा आएपछि आकस्मिक उपचार, दुर्घटना व्यवस्थापन र जीवनरक्षाका प्रक्रियाहरू अझ छिटो, सुरक्षित र वैज्ञानिक तरिकाले हुने अस्पतालको विश्वास छ ।
ट्रमा सेवा अभावले वर्षौंदेखि आलोचना भोग्दै आएको भरतपुर अस्पतालले यस कदमसँगै क्षेत्रीय स्वास्थ्य सेवा सुदृढीकरणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।