‘म्यान अफ द मिलेनियम’ दानवीर कल्याणसुन्दरम्: ३० करोड र सम्पूर्ण पेन्सन रकम दान गर्ने ‘पद्म श्री’ विजेता

0
Shares

केही व्यक्तिहरूको जीवन निःस्वार्थ समर्पणको शुद्ध र पवित्र प्रकाशले चम्किन्छ । ८५ वर्षका सेवानिवृत्त पुस्तकालयाध्यक्ष कल्याण विद्यानाथ कुत्तुर सुन्दरम् पनि ती असाधारण व्यक्तिहरूमध्येका एक हुन् । छोटकरीमा पालम कल्याणसुन्दरम् नामबाट चर्चित उनीसँग भारतको चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्म श्री’ को प्रतिष्ठित उपाधि र उनलाई स्नेहपूर्वक ‘म्यान अफ द मिलेनियम’ अर्थात् सहस्राब्दी पुरुष भनेर पनि चिनिन्छ । उनको जीवनको हरेक पाइला करुणा र उदारताको सुन्दर दृष्टान्तले भरिएको छ ।

अगस्ट १९४० मा तमिलनाडुको तिरुनेलवेली जिल्लाको मेलाकरिभेलमकुलममा जन्मिएका कल्याणसुन्दरम्ले सानै उमेरमा बुबाको साथ गुमाए । तर, आमा थायाम्मलको गहिरो प्रभावले उनको व्यक्तित्वलाई सही मार्गमा डो¥यायो । उनकी आमाले उनमा गरिब र अभावमा परेकाहरूलाई मद्दत गर्ने महत्वपूर्ण प्रेरणा र साहस जागृत गराएका थिए । मद्रास विश्वविद्यालयबाट पुस्तकालय विज्ञानमा स्वर्ण पदकका साथै साहित्य र इतिहासमा स्नातकोत्तर उपाधि हासिल गरेका उनले श्रीवैकुण्ठम्को कुमारगुरुपरा आट्र्स कलेजमा पुस्तकालयाध्यक्षको रूपमा आफ्नो जीवनको ३५ वर्ष समर्पित गरे ।

यद्यपि, उनको जीवन दान गर्ने स्वभाव र उदारताको कार्यबाट प्रज्वलित भयो । सन् १९६२ को भारत–चीन युद्धको क्रममा उनले आफ्नो सुनको चेन राष्ट्रिय युद्ध कोषमा दान गरेका थिए । यो कार्यलाई तत्कालीन तमिलनाडुका मुख्यमन्त्री के.कामराजले सार्वजनिक रूपमै सम्मान गरेका थिए । त्यस घटनाले कल्याणसुन्दरम्लाई आफ्नो सम्पूर्ण जीवन समाजसेवामा समर्पित गर्ने निर्णयमा ढृढ बनायो । त्यो प्रतिबद्धता आश्चर्यजनक रूपमा जीवनभरको एउटा अभ्यासमा परिणत भयो । आफ्नो करियरभरि उनले स्वेच्छाले र नियमित रूपमा आफ्नो सम्पूर्ण तलब परोपकारी कार्यमा दान गरे । अनि आफ्नो दैनिक आवश्यकताहरू पूरा गर्न सानातिना कामहरूबाट हुने थोरै आम्दानीमार्फत सीमित भए ।

सन् १९९८ मा सेवानिवृत्त भएपछि उनले पेन्सनबापत प्राप्त करिब १० लाख भारु पनि दीनदुःखीहरूलाई दान गरे । सेवानिवृत्तपछि पनि उनको समर्पण कहिल्यै डगमगाएन । उनले दान जारी राख्नका लागि एउटा होटलमा वेटरको रूपमा काम गर्न थाले । उनले अनाथालयहरू र बालबालिकाको शैक्षिक कोषमा दान जारी राख्न सकून् भनेर दिनमा दुई छाक खाना खान्थे र थोरै तलब मात्र आफूसँग राख्थे । ‘साँचो खुसी दिनुमा छ’ भन्ने अटल विश्वास राख्ने कल्याणसुन्दरम्ले आफ्नो सम्पूर्ण समय, प्रयास र पैसा विपन्नहरूको कल्याणका लागि समर्पित गरे ।

आजीवन अविवाहित रहेका उनले सन् १९९८ मा गैर–सरकारी समाज कल्याण संस्था ‘पालम’ को स्थापना गरे । त्यस संस्थाले अभावमा परेकाहरूका लागि थुप्रै सामाजिक क्रियाकलापहरूको सुरुवात ग¥यो । विशेषगरी गरिब बस्ती क्षेत्रका बालबालिकाहरूले सामना गर्ने कठिन समस्याहरूमा ध्यान केन्द्रित गरे । उनले ट्रिप्लिकेन स्लम चिल्ड्रेन वेल्फेयर अर्गनाइजेसन (अहिले विश्व बाल कल्याण संस्था) को स्थापना गरे । त्यस्तै, अभावग्रस्त चार गाउँका अनुसूचित जातिको उत्थानका लागि पनि सक्रिय रूपमा काम गरे ।

कल्याणसुन्दरम्को निःस्वार्थ परोपकारी कार्य र दानवीरतालाई विश्व समुदायले पनि कदर गर्न कञ्जुस्याइँ गरेनन । संयुक्त राष्ट्र संघले उनलाई ‘२० औं शताब्दीका उत्कृष्ट व्यक्तिहरूमध्ये एक’ को रूपमा सम्मान ग¥यो । एउटा अमेरिकी संस्थाले उनलाई ‘म्यान अफ द मिलेनियम’ उपाधिले सम्मान गर्दै ३० करोड भारुको ठूलो पुरस्कार राशीसमेत प्रदान गरेको थियो । तर, कल्याणसुन्दरम्ले आफ्नो महान् स्वभावअनुसार ती सम्पूर्ण रकम पनि परोपकारी कार्यका लागि नै दान गरे । उनलाई क्याम्ब्रिजको अन्तर्राष्ट्रिय जीवनी केन्द्रले पनि ‘विश्वका सबैभन्दा महान् व्यक्तिहरूमध्ये एक’ को रूपमा सम्मान गरेको छ ।

यस्तो निस्वार्थताका कारण उनी उच्च तहबाट पनि प्रशंसाका पात्र बनेका छन् । भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले उनलाई ‘भारतको ज्योति’ भनेका थिए । त्यस्तै, सन् २०१२ मा भारतीय चर्चित कलाकार रजनीकान्तले पनि उनलाई आफ्नो पिताको रूपमा मानेर सम्मान दर्शाएका छन् । रजनीकान्त कल्याणसुन्दरमलाई हृदय र योगदानका हिसाबले वास्तविक करोडपति मान्छन् । आज पनि चेन्नइको सैदापेटमा सरल जीवन बिताइरहेका कल्याणसुन्दरम् नियमित रूपमा अदयारमा रहेको आफ्नो कार्यालयमा विपन्नहरूको उत्थानका लागि तत्पर छन् । कल्याणसुन्दरम्ले कहिल्यै प्रसिद्धि खोजेनन्, तर उनको गहिरो उदारताले उनलाई प्रख्यात बनायो ।