काठमाडौं।
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा रिक्त रहेको दुई उप–निर्देशक पदमा डा. पवनराज चालिसे र डा. गोपाल सेडाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ । डीन कार्यालयको गत शुक्रबार बसेको बैठकबाट दुवै चिकित्सकलाई दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । नव–नियुक्त उप–निर्देशकद्वयले आजदेखि द औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
सहप्राध्यापक समेत रहेका डा. पवनराज चालिसे हाल टिचिङ अस्पतालको युरोलोजी तथा किड्नी ट्रान्सप्लान्ट सर्जरी विभागका विभागीय प्रमुखका रूपमा कार्यरत छन् । लामो समयदेखि मिर्गौला प्रत्यारोपण तथा युरोलोजी शल्यक्रियामा संलग्न डा. चालिसेले अस्पतालको प्रशासनिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
यसैगरी अर्का सहप्राध्यापक डा. गोपाल सेडाईं अस्पतालको न्युरोलोजी विभागका विभागीय प्रमुख हुन् । उनी न्युरो–क्रिटिकल केयर, स्ट्रोक तथा स्नायुगत रोगहरूको उपचारमा विशेषज्ञ मानिन्छन् । डा. सेडाईंलाई प्रशासनिक जिम्मेवारीसँगै विभागीय समन्वय र नीति–निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ ।
टिचिङ अस्पतालमा वर्तमान निर्देशक प्रा.डा. सुवासप्रसाद आचार्य रहेका छन् । अस्पतालको दैनिक प्रशासनिक काम, नीति निर्माण, समन्वय तथा सेवाको गुणस्तर सुधारमा निर्देशकलाई सहयोग गर्ने जिम्मेवारी उप–निर्देशकहरूको हुने व्यवस्था छ । दुई उप–निर्देशक पद लामो समय रिक्त रहँदा प्रशासनिक तथा व्यवस्थापन सम्बन्धी कार्यमा दबाब बढेको भन्दै चिकित्सक तथा कर्मचारीहरूले चासो व्यक्त गर्दै आएका थिए । नयाँ नियुक्तिसँगै अस्पतालको व्यवस्थापन प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ ।
आईओएम डीन कार्यालयले हालै टिचिङ अस्पतालको सेवा विस्तार, पूर्वाधार सुधार र प्रशासनिक क्षमता अभिवृद्धिका लागि विभिन्न चरणमा सुधार कार्यक्रम अघि सारेको छ । उप–निर्देशक नियुक्तिसँगै अस्पतालमा निर्णय प्रणाली, समन्वय तथा द्रुत सेवा कार्यान्वयनमा सुधार हुने विश्वास लिइएको छ ।
टिचिङ अस्पताल देशकै केन्द्रिय स्तरीय स्वास्थ्य संस्था भएकाले स्वास्थ्य शिक्षा, खोज अनुसन्धान र विशेषज्ञ सेवा विस्तारमा यस नेतृत्व परिवर्तनले सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरिएको छ ।











प्रतिक्रिया