मोरङको लेटाङमा १२ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी पदम बहादुर अधिकारी पक्राउ


लेटाङ।

मोरङको लेटाङ नगरपालिका–२ बस्ने १२ वर्षीया बालिका बेपत्ता भएको १६ दिनपछि सामुदायिक वनभित्र विभत्स अवस्थामा शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्। घटनामा संलग्न पदम बहादुर अधिकारी (उमेर ५८), लेटाङ–२ फडानीका स्थायी बासिन्दामाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नविन गौतमकी १२ वर्षीया छोरी २०८२ असोज २१ गते दिउँसो २ बजे घरबाट बाहिर निस्किएपछि बेपत्ता भएकी थिइन्। परिवारले हराइ खोजतलास गरिरहँदा २०८२ कार्तिक ७ गते बिहान ११:३० बजे वेलवारी चिसाङ सामुदायिक वनभित्र झाडीमा मानव शरीरका टुक्राटुक्रा भइ सडिएका अवस्था फेला परेपछि प्रहरीले घटनालाई जघन्य हत्या मानेर अनुसन्धान थालेको थियो।

घटनास्थलबाट फेला परेका कपडा, हाफ पाइन्ट, चप्पल र घडीको आधारमा शव बालिकाकै भएको परिवारले सनाखत गरेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली घटनास्थल तथा आसपास क्षेत्रमा सुक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण र सूचनाको आधारमा संलग्न व्यक्तिहरूको खोजीमा जुटेको थियो।

त्यही क्रममा विभिन्न प्रलोभन देखाई बालिकालाई घरबाट करिब ४.५ किलोमिटर टाढा रहेको सामुदायिक वनतर्फ ल्याई हसियाले घाँटी रेटी हत्या गरेको अभियोगमा पदम बहादुर अधिकारीलाई शनिबार लेटाङ–२ फडानीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

हाल अधिकारीमाथि ‘ज्यान सम्बन्धी कसुर’ शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनालाई अत्यन्त जघन्य भन्दै संलग्न अन्य सम्भावित व्यक्तिहरूबारे पनि अनुसन्धान विस्तार भइरहेको बताएको छ।

प्रहरीले यस घटनाले स्थानीय क्षेत्रमा चहलपहल र सुरक्षा प्रति गम्भीरता बढाएको उल्लेख गर्दै समुदायलाई सतर्क रहन समेत आग्रह गरेको छ।