स्याङ्जा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङजा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र समिति पुनर्गठनसँगै नेतृत्वको बागडोर अब जगदीश प्रसाद गैह्रेको हातमा आएको छ । वालिङ नगरपालिका–८ मा आयोजित नेता तथा कार्यकर्ताको विशेष भेलाले गैह्रेलाई सर्वसम्मत रुपमा निर्वाचन क्षेत्र समितिको संयोजकमा चयन गर्दै आगामी राजनीतिक गतिविधि सुदृढ बनाउने संकल्प व्यक्त गरेको हो । रास्वपा स्याङ्जाका सभापति रुक्मागत भण्डारी (विश्वास)ले गैह्रेलाई सर्वसम्मत निर्वाचित गरिएको घोषणा गर्दै उनको नेतृत्वमा संगठन विस्तार, जनतासँगको पहुँच र आगामी निर्वाचनका तयारीहरु थप योजनाबद्ध हुने विश्वास व्यक्त गरे । उनका अनुसार पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै संगठनलाई गाउँ–गाउँमा संस्थागत गर्न चुनावी क्षेत्र समितिको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ समिति गठन गरिएको हो ।
भेलाले एक सदस्य पछि थप गर्ने गरी हालका लागि ७ सदस्यीय निर्वाचन क्षेत्र समिति गठन गरेको छ । नवगठित समितिमा सह–संयोजकका रुपमा रमकला भण्डारी चयन भएका छन् । सचिव पदमा नारायण पंगेनी निर्वाचित भएका छन् भने सदस्यहरुमा चोलाकान्त अर्याल, नारायण विक्रम खाँण र देउरुपा डुम्रे चयन भएका छन् । सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत रुपमा चयन भएको जानकारी निर्वाचन समितिका संयोजक तथा गण्डकी प्रदेश प्रशिक्षण प्रमुख डा. तुलसीराम खनालले जानकारी दिए । उनका अनुसार पार्टीको विधानअनुसार निर्वाचन समिति ७ सदस्यीय हुने व्यवस्था रहेकाले बाँकी एक सदस्य पनि चाँडै नै मनोनयनमार्फत समावेश गरिनेछ । पार्टी भित्र समावेशीकरण र क्षमतामा–आधारित नेतृत्व विकासलाई प्राथमिकता दिँदै सबै तहमा समान अवसर सुनिश्चित गर्ने उद्देश्यले चयन प्रक्रियालाई सर्वसम्मत र सहभागितामूलक बनाइएको खनालले स्पष्ट पारे ।
नवगठित समितिको घोषणा तथा नेतृत्व हस्तान्तरण समारोह स्याङ्जामा एक उत्साहजनक माहोलबीच सम्पन्न भएको थियो । कार्यक्रम रास्वपाका केन्द्रीय विभाग सदस्य झविलाल डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उनले देशभर पार्टीप्रति बढ्दो जनविश्वास, वैकल्पिक राजनीतिप्रतिको आकर्षण र युवाहरुमाझ रास्वपाको प्रभाव बढ्दै गएको हुँदा संगठनलाई अझ मजबुत बनाउन स्थानीय तहको नेतृत्व अत्यन्त महत्त्वपूर्ण रहेको टिप्पणी गरे । डुम्रेले नवगठित समितिलाई सक्रिय, पारदर्शी तथा जनउत्तरदायी भएर काम गर्न शुभकामना व्यक्त गर्दै पार्टीको मूलभूत सिद्धान्त—सुशासन, पारदर्शिता, सेवामुखी राजनीति र व्यावहारिक परिवर्तन अनुसार अघि बढ्न निर्देशन दिए ।
कार्यक्रमको अध्यक्षता गर्दै रास्वपा स्याङ्जाका सभापति रुक्मागत भण्डारी (विश्वास)ले पार्टीले ल्याएको नयाँ राजनीतिक संस्कृतिले देशभर आशा जगाइरहेको बताए । विशेष गरी स्याङ्जा–२ लाई संगठन विस्तार र राजनीतिक हस्तक्षेपका हिसाबले रणनीतिक क्षेत्र मानिएको भन्दै नवगठित समितिको सक्रियताबाट पार्टीले आगामी राजनीतिक प्रतिस्पर्धामा महत्त्वपूर्ण आधार तयार गर्ने अपेक्षा राखे । भण्डारीले सर्वसम्मत नेतृत्व चयन हुनु पार्टीभित्रको एकता र विश्वासको संकेत भएको र यही विश्वासलाई जनताको घर–घरमा पु¥याउन अब नेतृत्वले योजनाबद्ध रुपमा अभियान अघि बढाउनुपर्नेमा जोड दिए ।
पार्टी कार्यकर्ताहरुको विश्वास र समर्थन पाएर संयोजकमा निर्वाचित भएका जगदीश प्रसाद गैह्रेले संगठनलाई मजबुत बनाउँदै वडा–वडा, टोल–टोल र घर–घरमा पार्टीको पहुँच बढाउन आफू समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । गैह्रेको नेतृत्वमा निर्वाचन क्षेत्रभित्रका सबै स्थानीय तहका समितिहरुलाई सक्रिय बनाइने, आन्तरिक संगठन विस्तार, नीति–निर्देशन तथा जनसमस्याका मुद्दामा पार्टीले उठाउने आवाजलाई सुदृढ बनाइने अपेक्षा गरिएको छ । कार्यक्रममा रास्वपा वालिङ नगर समितिका सभापति सुरेन्द्र काफ्लेले स्वागत मन्तव्य राख्दै पार्टीले जनताको भरोसा जित्न स्थानीय नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्ने टिप्पणी गरे ।
कार्यक्रमको सञ्चालन रास्वपा गण्डकी प्रदेश प्रशिक्षण विभाग सदस्य प्रकाश अर्यालले गरेका थिए । अर्यालले पार्टीका कार्यकर्ता तथा सदस्यहरुलाई संगठनात्मक एकता, अनुशासन र प्रभावकारी क्रियाशीलताको महत्वबारे जानकारी गराउँदै नवगठित समितिले आगामी दिनमा संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । हालको परिस्थितिमा रास्वपा स्याङ्जामा तीव्र गति साथ विस्तार भइरहेको उनको दावी छ । युवाहरु, पेशेवरहरु तथा गैर–पारम्परिक राजनीति चाहने नागरिकहरुको आकर्षण पार्टीतर्फ बढ्दो भएको अर्यालले बताए । राष्ट्रिय नेतृत्वले भ्रष्टाचारविरुद्ध उठाएको कडा अभिव्यक्ति, प्रशासनिक सुधारको एजेन्डा र व्यवहारिक राजनीतिप्रतिको दृष्टिकोणका कारण स्याङ्जासहित देशभर यसको प्रभाव विस्तार भइरहेको विश्लेषण उनको छ । स्याङ्जा–२ मा त अहिले रास्वपाको संरचनालाई थप व्यवस्थित बनाउँदै नयाँ नेतृत्व चयन हुनु पनि यही विस्तार प्रक्रियाको निरन्तरता भएको अर्यालले बताए । नयाँ नेतृत्वका साथ अब पार्टी क्षेत्रभित्रका राजनीतिक तथा सामाजिक अभियानहरु अझ सशक्त रुपमा अघि बढ्ने अपेक्षा अर्यालको छ ।











प्रतिक्रिया