बरिष्ठ न्युरो–सर्जन डा. बसन्त पन्त ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ बाट सम्मानीत

564
Shares

काठमाडौं ।

नेपालमा आधुनिक स्नायु शल्यक्रियाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका बरिष्ठ न्युरो–सर्जन डा. बसन्त पन्त यस वर्षको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ बाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले मस्तिष्क शल्यक्रिया, विशेषगरी ‘फङ्सनल न्युरो–सर्जरी’ गर्दै आउनुभएका डा.पन्तलाई दीर्घ योगदान र प्रविधिगत नवप्रवर्तनलाई उच्च मूल्याङ्कन गर्दै यो वर्षको सर्वोच्च पुरस्कार प्रदान गरेको हो ।


शनिबार आयोजित नास्टको ४३ औँ वार्षिकोत्सव समारोहमा शिक्षामन्त्री महावीर पुनले डा. पन्तलाई पुरस्कार हस्तान्तरण गर्नुभएको हो । पुरस्कारसँगै दुई लाख रुपैयाँ नगद प्रदान गरिएको छ । पुरस्कार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै डा. पन्तले “यो रकम समाजका लागि नै खर्चिनेछु,” भन्दै सामाजिक सेवा र स्वास्थ्य पहुँच सुधारमा निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

डा. पन्त हाल माइतीघरस्थित अन्नपूर्ण न्युरोलोजिकल एलायन्स साइन्सेजमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि मस्तिष्क सम्बन्धी जटिल रोगहरूको शल्यक्रियामा विशेष दक्षता राख्दै आउनुभएका उहाँ नेपालमा फङ्सनल न्युरो–सर्जरी, न्युरो–एन्डोस्कोपी, पिडा व्यवस्थापन, मिर्गी शल्यक्रियाजस्ता उन्नत प्रविधिहरू अभिलेखित गर्ने अग्रणी चिकित्सकका रूपमा परिचित हुनुहुन्छ । न्युरो विज्ञानमा उहाँले भित्र्याएका आधुनिक विधि र शल्य–प्रविधिले नेपालमा उपचारको सम्भावना फराकिलो मात्र पारेन, विदेशीमा निर्भरता कम गर्न पनि उल्लेखनीय भूमिका खेलेको नास्टले जनाएको छ ।

त्यसैगरि नास्टले यस वर्ष १३ विधामा २८ जना व्यक्तित्व तथा संस्थालाई पुरस्कार, सम्मान तथा कदरपत्र प्रदान गरेको थियो । चिकित्सा विज्ञानतर्फ वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा. सुनिल प्रधान सम्मानित हुनुभएको थियो । विज्ञान तथा प्रविधि पुरस्कार प्राडा. सुवोध शर्माले प्राप्त गर्नुभयो । विज्ञान पुरस्कार डा. रमेशराज पन्तलाई प्रदान गरियो । प्रविधि पुरस्कार काठमाडौँ विश्वविद्यालयका प्राडा. सुधन झाले हात पार्नुभयो ।

त्यस्तै प्रतिष्ठानका पदाधिकारीका अनुसार यस वर्षका पुरस्कारहरू विज्ञान, अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले चयन गरिएको हो । देशभित्रै वैज्ञानिक वातावरण सुदृढ पार्ने, अनुसन्धानलाई प्रोत्साहन गर्ने र युवा अनुसन्धानकर्तालाई प्रेरणा दिने लक्ष्य पनि राखिएको छ ।

डा. पन्तलाई प्रदान गरिएको यो पुरस्कार स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, अनुसन्धान र प्रयोगात्मक सेवा विस्तारमा उत्साहदायी सन्देश भएको विज्ञहरू बताउँछन् । नेपालमा स्नायु विज्ञान अझै चुनौतीपूर्ण क्षेत्रमा परे पनि विगत केही वर्षमा द्रुत सुधार देखिएको छ । प्राविधिक दक्षता, बिरामी व्यवस्थापन, आधुनिकीकरण र विश्वस्तरको उपचार सेवामा डा. पन्तजस्ता चिकित्सकहरूको योगदान निर्णायक मानिन्छ ।

उहाँको नेतृत्वमा हुने शल्यक्रियाबाट वार्षिक सयौँ बिरामी लाभान्वित हुने गरेका छन् । विशेषगरी ग्रामीण क्षेत्रबाट आउने न्युरो समस्याका बिरामीले किफायती र पहुँचयोग्य उपचार पाउने वातावरण विस्तार भएको चिकित्सकहरू बताउँछन् ।नास्टका पदाधिकारीका अनुसार पुरस्कारले “अनुसन्धान–केन्द्रित चिकित्सा अभ्यास”लाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य विज्ञानमा रहेको प्रविधिगत अन्तरलाई घटाउन, अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी बन्न, र अनुसन्धानमा चिकित्सकहरूको संलग्नता बढाउन यो पुरस्कार महत्वपूर्ण प्रेरणा बन्ने विश्वास व्यक्त गरिएको छ ।

डा. बसन्त पन्तलाई प्रदान गरिएको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ नेपालमा आधुनिक न्युरो–चिकित्साको विस्तार, परिवर्तन र सम्भावनाहरूप्रति गरेको योगदानको संस्थागत मान्यता हो । अनुसन्धान र सेवामा निरन्तर सक्रिय रहेका उहाँ जस्ता चिकित्सकहरूको समर्पणले स्वास्थ्य क्षेत्रमा नयाँ गन्तव्य तय गर्दै राष्ट्रलाई वैज्ञानिक रूपमा सबल बनाइरहेको नास्टले जनाएको छ ।