हेटौंडा ।
शुक्रवार सर्वोच्च अदालतले हेटौंडाको सडक तत्काल चौडा नगर्नु भनेर एक अल्पकालीन आन्तरिक आदेश दिएको कुरा सञ्चार माध्यमहरूमा आए तर जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयलगायतका सरोकारवाला निकायले सा विषयमा अनविज्ञता देखाए र शनिवार बिहानै डोजर चल्ने भने र त्यसैअनुसार शनिवार झिसमिसेमा नै हेटौंडा बजारमा डोजर चल्यो अनि हेटौंडा बजारका क्षेत्रका राजमार्गको सीमाभित्रका अधिकांश घर एकै दिन शनिवार भत्काइएको छ ।
कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक डिभिजन कार्यालय हेटौंडा र प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा हेटौंडाको मेनरोड, रापतीरोड, एचआईडी, चौकीटोललगायतका क्षेत्रका घरहरू भत्काइएको हो । हेटौंडाको मुख्य बजार क्षेत्रमा कडा सुरक्षा घेराका बीचमा शनिवार बिहान सबेरैदेखि सडक चौडा बनाउने काम सुरु गरिएको थियो । हेटौंडाको बजार क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकलाई फराकिलो बनाउने काम सुरु गरिएको हो । लामो विवाद र कानुनी उल्झनपछि हेटौँडा बजार क्षेत्रको मुख्य सडक दायाँ–बायाँ बनाइएका स्थायी तथा अस्थायी संरचनाहरू शनिवार बिहानदेखि भत्काउन सुरु गरिएको हो ।
डिभिजन सडक कार्यालयले बिहान साढे ५ बजेदेखि नै हेटौँडा बजारको बुद्धचोक क्षेत्रबाट डोजर परिचालन गरी सडकमा बनाइएका संरचनाहरू हटाउने काम सुरु भएको हो । व्यापक सुरक्षा व्यवस्थासहित करिब आधा दर्जन डोजर प्रयोग गरेर भवनहरू भत्काउने कार्य जारी रहेको छ । मुख्य बजार क्षेत्रको सडक सीमामा बनाइएका स्थायी र अस्थायी संरचनाहरू डिभिजन सडक कार्यालयले चरणबद्ध रूपमा हटाइरहेको प्रजिअ वसन्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार हेटौँडाको राप्ती रोड तथा बुद्धचोक क्षेत्रमा संरचना भत्काउने काम भइरहेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले हेटौँडा बजार क्षेत्रको सडक विस्तार रोक्ने कुनै आदेश सर्वोच्च अदालतबाट नआएकोले काम रोकिने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । सडक डिभिजन हेटौंडाले यसअघि मंसिर ५ गते सडक सीमा क्षेत्र खाली गर्न १५ दिने म्यादसहित सूचना जारी गरेको थियो । सो म्यादअनुसार मंसिर १९ गतेसम्म कार्यालयलाई कुनै पनि निकायबाट काम रोक्न निर्देशन नआएपछि शनिवारदेखि सडक विस्तार कार्य निरन्तर अघि बढाउने निर्णय गरिएको हो ।











प्रतिक्रिया