ऐतिहासिक येंगा हिटीको जीर्णोद्धार सम्पन्न


काठमाडौं ।

काठमाडौंस्थित लगन टोलमा रहेको ऐतिहासिक येंगा हिटीको जीर्णोद्धार सम्पन्न भएको छ । अमेरिकी दूताबासको राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) को अनुदान सहयोगमा येंगा क्लब, चिभा चैत्य अर्गनाइजेसन, पुरातत्व विभाग र स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा जीर्णोद्धार कार्य सम्पन्न भएको हो ।

शनिवार अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्स, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायतले संयुक्त रूपमा उक्त येंगा हिटीको उद्घाटन गरेका थिए ।अमेरिकी कार्यवाहक राजदूत मिक्सले यस परियोजनाको सफलताले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्न र पर्यटन क्षेत्रमा नेपाली तथा अमेरिकी आगन्तुक तथा व्यवसायहरूलाई लाभ पु¥याउने गरी आर्थिक वृद्धिलाई बढवा दिने अमेरिकाकी प्रतिबद्धताको निरन्तरतालाई उजागर गरेको बताउनुभयो ।

उहाँले परियोजनालाई सम्भव बनाएका साझेदारहरूलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो– ‘येंगा हिटीको जीर्णोद्धार केवल एउटा सम्पदा स्थलको मर्मत कार्यमात्र नभई १५ सय वर्षभन्दा अघिदेखि यो समुदायको सेवा गर्दै आएको एउटा जीवन्त जलस्रोत प्रणालीको नवीकरण पनि हो । अमेरिका र नेपालबीचको मजबुत र चिरस्थायी साझेदारीप्रति अमेरिकी दूतावास प्रतिबद्ध रहेको छ । हामी सांस्कृतिक संरक्षण, सामुदायिक उत्थानशीलता र दुवै देशको समृद्ध भविष्यलाई सहयोग पु¥याउने कार्य जारी राख्नेछौँ ।’
झण्डै तीन वर्ष लगाएर गरिएको जीर्णोद्धार कार्यले येंगा हिटीमा ५० वर्षपछि पहिलोपटक पानीको प्रवाह फेरी सुरु भएको छ । सो जीर्णोद्धार कार्य ‘काठमाडौं उपत्यकाका हिटी ः जलसम्पदा पुनःस्थापना परियोजना’ को एक हिस्सा हो, जुन परियोजनालाई २ लाख ७५ हजार अमेरिकी डलर बराबरको एएफसीपी अनुदान सहयोग प्राप्त छ ।

यस परियोजनाले काठमाडौं उपत्यकामा कम्तीमा तीनवटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्न, विद्यार्थी र सम्पदा पेसाकर्मीहरूलाई व्यावहारिक तालिमका अवसरहरू प्रदान गर्ने र दीर्घकालीन संरक्षण योजना निर्माणमा मद्दत गर्ने लक्ष्य लिएको अमेरिकी दूतावासले जनाएको छ ।

येंगा हिटीको उद्घाटनको अवसर पारेर येंगा हिटीको वरिपरि आशा डंगोल, भाइराजा महर्जन, बिधाता केसी, बिनोद प्रधान, एरिना ताम्राकार, कृष्ण लामालगायत २० जना कलाकारहरूको ‘हिटी सम्पदा’सम्बन्धी चित्रकलाहरू प्रदर्शनीमा राखिएका थिए । अभियन्ता मिनु प्रधानले उपत्यकामा भएका ऐतिहासिक ढुंगेधाराहरूको इतिहास र यसको महत्व बुझाउनका लागि प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।