६० किलो सुन तस्करीमा संलग्न मुख्य नाइके दावा अझै फरार

पुनः तस्करीमा संलग्न रहेको हुनसक्ने आशंका

752
Shares

– तत्कालीन सरकारकै दबाबमा दावासँग सेटिङ गर्ने केही नेताहरू उम्किएका थिए

काभ्रे ।

सुन तस्करीमा संलग्न भई पुर्पक्षका लागि जेलमा रहेका तिब्बती मूलका बेल्जियम नागरिक नेपाली नाम निमा भनिने दावा छिरिङ भागेको तीन महिना पुग्न लाग्दासमेत पक्राउ पर्न सकेका छैनन् । भदौ २३ र २४ गतेको आन्दोलनपछि उनी २०८२ भदौ २५ गते जगन्नाथदेवल जेलबाट भागेका थिए । विभिन्न जेलबाट भागेका झण्डै ५ हजार कैदी अझै जेल फर्किएका छैनन् ।

६० किलो ७ सय १६ ग्राम सुन तस्करीका मुख्य अभियुक्त दावा अहिले पनि फरार रहेकै अवस्थामा विभिन्न पक्षसँग सम्पर्क बनाई तस्करीकै धन्दामा संलग्न रहेको हुनसक्ने आशंका गरिएको छ । २०८० साउन ३ गते राजस्व अनुसन्धान विभागले उक्त सुन ‘ब्रेक सु’मा राखेर ल्याइएको अवस्थामा बरामद गरेको थियो । त्यसको १० दिनपछि साउन १३ गते शनिवार राजस्व अनुसन्धान विभागले उनलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा दावा सुन तस्करीमा संलग्न रहेको पाइएपछि मुद्दा दायर गरिएको थियो । सो सुन तस्करीमा दावाभन्दा माथिसम्मकै ‘संलग्नता’ देखिएको भए पनि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले दावाभन्दा माथिका सुन तस्करहरूलाई बचाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले तत्कालीन प्रचण्ड सरकारको दबाब परेपछि सुन तस्करीमा संलग्न रहेको दावाभन्दा माथिल्लो तह अझ विशेषगरी माओवादीकै केन्द्रीय नेताहरूका बारेमा छानबिन नै गरेन ।

सो तस्करीमा तत्कालीन माओवादी केन्द्रकै केही उच्च तहका नेताहरू मुछिनसक्ने भएकाले सीआईवीले हतारहतारमा मुख्य नाइके ‘दावा’ भन्दै मुद्दा दायर गरेको थियो । त्यतिबेला सीआईबीले दावाको ‘कल डिटेल्स’का बारेमा गहन अनुसन्धान गरेको भए माओवादी केन्द्रका केही नेताहरू सुन तस्करीमा निश्चित रूपमा जोडिने भएपछि उनीहरूलाई योजनाबद्ध रूपमा बचाइएको थियो । जेन–जी आन्दोलनपछि भागेका दावाको अहिले पनि केही नेताहरूसँग सम्पर्क रहेको हुन सक्ने स्रोतको दाबी छ ।

भदौ २३ र २४ गतेको आन्दोलनपछि २५ गते जेलबाट भागेका दावा अझै पक्राउ परेका छैनन् तर सुन तस्करीको अभियोगमा उनै दावासँग सम्पर्कमा देखिएका कृष्णबहादुर महरा भने पक्राउ परेर छुटिसकेका छन् । महरासहित तत्कालीन माओवादी केन्द्रका अन्य केही नेताहरूको दावासँग राम्रै उठबस देखिएको स्रोतको दाबी छ । दावाले रोल्पा घर भएकी नेपाली युवती अमला रोक्कासँग विवाह गरेको कागजात पेस गरेका थिए ।

अमलाका श्रीमान् अझै पनि रोल्पामा नै छन् । उनीहरूबीच सम्बन्ध विच्छेद पनि भएको छैन । उनी फरार थिइन् । पछिल्लो समय उनलाई अदालत उपस्थित गराएर धरौटीमा रिहा गरिएको थियो ।ठमेलको होटल भियानामा छापा मारी पक्राउ गरिएको दावा १९ वर्षअघि पनि पक्राउ परेका थिए । दावाले २०७४ पुस २० गते काभ्रेबाट नेपाली नागकिरता लिएको खुलेको थियो । उनीसँगै नागरिकता लिएका अन्य केही व्यक्तिसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो ।

स्रोतका अनु्सार दावासहित केही विदेशीले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट नागरिकता खरिद गरी सुन तस्करी गरिरहेका थिए । सुन तस्करीमा पक्राउ परेपछि गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले नागरिकता खरिद बिक्री र सुन तस्करीमा राजनीतिक संरक्षणमा माथिल्लो तहको संलग्नताको पुष्टि गरेको थियो । तर, पनि उक्त तहमा अनुसन्धान गर्ने क्रम तत्कालीन समयमा हुन सकेन ।

गत असोज २६ गते प्रकाशित फरार बन्दीहरूको सूचीमा जगन्नाथदेवल कार्यालयबाट तिब्बतियन मूलका बेल्जियम नागरिक नेपाली नाम निमा तामाङ भनिने दावा छिरिङका साथै चीन, रुस, पाकिस्तान, दक्षिण अफ्रिका, भुटान, क्यानाडा, म्यानमार, मलेसिया, बंगलादेश, अमेरिका, सुडान, साउथ अफ्रिका, थाइल्यान्ड, युक्रेन, युगान्डा, जिम्बाबे, बोलोभिया, भेनेजुएला, अफ्रिका, क्यामरुन, ब्राजिल, म्यानमार, बेलायतलगायतका मुलुकका १ सय ८ जना छन् भने छिमेकी देश भारतका मात्रै ५ सय ४० जना छन् ।

सुन तस्करीसँगै नागरिकता र राहदानीको तस्करी

वि.सं. २०८० भाद्र १० गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ६ विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको प्रमाणित भएको थियो । दावाले सुनभन्दा पहिला नागरिकता र राहदानीको तस्करी गर्ने गरेको खुलेको छ । तस्करी भएको नागरिकताको संख्या ३ सय भए पनि अनुसन्धानका क्रममा केही दर्जन नागरिक मात्र सम्पर्कमा आएका छन् ।

काभ्रेबाट नेपालीका नाममा नागरिकता र राहदानी लिएका विदेशी नागरिकहरूमा दावा छिरिङ भनिने निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा र पछि फेला परेका तेन्जिङ सोनाम तामाङ रहेका छन् । पक्राउ परेका विदेशीहरूको साथबाट बरामद भएका कागजातका आधारमा पछिल्लो पटक तेन्जिङ सोनाम तामाङको नामको नागरिकता र राहदानी फेला परेको सीआईबीले जानकारी दिएको थियो ।

चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएको जानकारी दिँदै स्रोतले बतायो– ‘राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुस ८ गते राहदानी लिएका हुन् । उनीहरूले लिएको राहदानीअनुसारको नागरिकता नम्बर भने गृह मन्त्रालयको रेकर्डमा भेटिँदैन ।’

राम लामाको जन्म २०५३ वैशाख १५ गते राखिएको छ । नागरिकता नभएकाले ठेगाना प्रस्ट छैन । १२५८९४५७ नम्बरको राहदानी लिएका रामको नागरिकता नम्बर ३०३०४१–२२५४ हो । यस्तो खालको नम्बर काभ्रेबाट जारी भएको नागरिकतामा नभएकोले यो नागरिकता नक्कली भएको पुष्टि भएको हो ।

सोनामको राहादानी नम्बर १२५८९४५६ र नागरिकता नम्बर ३०३०४२–२२५४ हो । जन्म मिति २०५३ भदौ ७ राखिएको छ । नागरिकता र राहदानीको नम्बरसँगै छ । उनीहरू दुवै जना नेपाली हैनन् । प्रहरीको रेकर्डमा भने दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको छ । सीआईबीले गरेको अनुसन्धानमा पासाङ, तेन्जिङ र तेन्जिङ सोनाम थपिएका छन् । तेन्जिङको राहदानी नम्बर ११८८०३१ हो । २०२०–२–२४ अर्थात् २०७६ फागुन १२ गते काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्ममिति राखिएको छ ।

‘सीआईबीले गरिरहेको अनुसन्धानबाट निमा भन्ने दावा तामाङले आफूसहित अन्य ५ जनालाई काभ्रे जिल्लाबाट नागरिकता तथा राहदानी उपलब्ध गराएको खुलेको छ’, स्रोतले भन्यो– ‘केहीलाई नागरिकता र राहदानी दुवै र केहीलाई फर्जी नागरिकताका आधारमा सक्कलै राहदानी दिलाएको गृह मन्त्रालयको रेकर्डमा देखिएको छ ।

’ दावाको सेटिङमा राजनीतिक दलका उच्च पदस्थ नेता तथा केही कर्मचारी खुलेर नै सक्रिय भएको पनि सीआईबीले अनुसन्धानमा फेला पारेको थियो । तर, पनि राजनीतिक संरक्षणका आडमा त्यसतर्फ अनुसन्धानको सुई घुम्न पाएन । राहदानीको १५ लाख र नागरिकताको ५ लाख रुपियाँमा बिक्री गरेको स्रोतले बतायो । केही कर्मचारी भने कारबाहीमा परेर अहिले पनि मुद्दा खेपिरहेका छन् ।

दावाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ का पेमा तामाङको छोरा बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टि गरेको थियो । उनले २०७४ पुस २० गते नागकिरता लिएको खुलेको थियो । उक्त विषयमा छानबिन गर्न २०८० साउन २२ गते गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । नेपालमा बेल्जियमको नागरिकका रूपमा पर्यटक भिसामा आएको अवस्थामा उनी पक्राउ परेका थिए ।