काठमाडौँ ।
काठमाडौंस्थित लगन टोलमा रहेको ऐतिहासिक येंगा हिटीको जिर्णोद्धार सम्पन्न भएको छ । अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) को अनुदान सहयोगमा येंगा क्लब, चिभा चैत्य अर्गनाइजेसन, पुरातत्त्व विभाग र स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा जिणोंद्धार कार्यसम्पन्न भएको हो । शनिबार अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्स, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायतले संयुक्त रुपमा उक्त येंगा हिटीको उद्घाटन गरेका थिए ।

अमेरिकी कार्यवाहक राजदूत मिक्सले यस परियोजनाको सफलताले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्न र पर्यटन क्षेत्रमा नेपाली तथा अमेरिकी आगन्तुक तथा व्यवसायहरूलाई लाभ पुऱ्याउनेगरी आर्थिक वृद्धिलाई बढवा दिने अमेरिकाकी प्रतिबद्धताको निरन्तरतालाई उजागर गरेको बताए । उनले परियोजनालाई सम्भव बनाएका साझेदारहरूलाई धन्यवाद ज्ञापन गर्दै भने- ‘येंगा हिटीको जीर्णोद्धार केवल एउटा सम्पदा स्थलको मर्मत कार्य मात्र नभई १५ सय वर्षभन्दा अघिदेखि यो समुदायको सेवा गर्दै आएको एउटा जीवन्त जलस्रोत प्रणालीको नवीकरण पनि हो । अमेरिका र नेपालबीचको मजबुत र चिरस्थायी साझेदारीप्रति अमेरिकी दूतावास प्रतिबद्ध रहेको छ । हामी सांस्कृतिक संरक्षण, सामुदायिक उत्थानशीलता र दुवै देशको समृद्ध भविष्यलाई सहयोग पुऱ्याउने कार्य जारी राख्नेछौँ ।’

झण्डै तीन वर्ष लगाएर गरिएको जिर्णोद्धार कार्यले येंगा हिटीमा ५० वर्षपछि पहिलो पटक पानीको प्रवाह फेरी शुरु भएको छ। सो जीर्णोद्धार कार्य ‘काठमाडौँ उपत्यकाका हिटी : जलसम्पदा पुनर्स्थापना परियोजना’ को एक हिस्सा हो, जुन परियोजनालाई २ लाख ७५ हजार अमेरिकी डलर बराबरको एएफसीपी अनुदान सहयोग प्राप्त छ । यस परियोजनाले काठमाडौँ उपत्यकामा कम्तीमा तीनवटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्न, विद्यार्थी र सम्पदा पेसाकर्मीहरूलाई व्यावहारिक तालिमका अवसरहरू प्रदान गर्ने र दीर्घकालीन संरक्षण योजना निर्माणमा मद्दत गर्ने लक्ष्य लिएको अमेरिकी दूताबासले जनाएको छ ।

सन् २००३ यता, एएफसीपीमार्फत अमेरिकी सरकारले नेपालमा २८ वटा सांस्कृतिक संरक्षण परियोजनाहरूमा झन्डै ४६ लाख अमेरिकी डलरको सहयोग गरेको छ, जसले नेपाललाई एएफसीपी कार्यक्रमको सबैभन्दा सक्रिय र महत्त्वपूर्ण साझेदारहरूमध्ये एक बनाएको पनि छ ।











प्रतिक्रिया