स्वस्थ र सुन्दर शहरका लागि निम्ति माटोको संरक्षणमा विशेषज्ञहरुको जोड


काठमाडौं ।

ल्याण्ड फर फ्युचर (एलओएफ) नामक संस्थाले सो संस्थाको छैठौं वार्षिकोत्सव तथा विश्व माटो दिवसको अवसर पारी शुक्रबार कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा एक अन्तरक्रिया आयोजना गर्‍यो । सो कार्यक्रममा बोल्दै संस्थाका संरक्षक तथा पूर्व वातावरणमन्त्री सुनिल मानन्धरले अव्यवस्थित शहरीकरणका कारण माटोको क्षयीकरण तीब्र गतिमा भएको र त्यसको परिणामस्वरुप तापक्रममा अस्वाभाविक बृद्धि हुनुका साथै बाढी, पहिरोको समस्या देखापरेको हुनाले स्वस्थ र सुन्दर शहर निर्माणको लागि माटोको संरक्षणमा सम्बन्धित सबैले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा माटोसम्बन्धी विशेषज्ञहरु डा. हिमलाल श्रेष्ठ र डा. नवराज पण्डित तथा शहरी विकास सम्बन्धी विशेषज्ञ प्रा. संगीता सिंहले माटो संरक्षरणको महत्वमाथि प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा सेवा नेपालका अध्यक्ष कल्याणी शाह, मिस नेपाल २०२३ श्रीच्छा प्रधान तथा पूर्व विज्ञानमन्त्री गणेश शाह लगायतका वक्ताहरुले जलवायु परिवर्तन, वातावरण विनाश तथा माटो संरक्षणसम्बन्धी विविध विषयमा आफ्आफ्ना विचारहरु राख्नुभएको थियो ।