काठमाडौँ ।
जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण भइरहेकाे ३८.०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजना निर्माण गर्न करिब सात अर्ब ५६ करोडभन्दा बढी लागत लाग्ने भएको छ। आयोजना क्षेत्रका तिला गाउँपालिका–१, ७ र तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ मा गरिएको पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनमाथिको सार्वजनिक सुनुवाइ सम्पन्न भएको आयोजना पक्षले जनाएको छ।
चार वर्षअघि सम्पन्न सम्भाव्यता अध्ययनअनुसार तिला नदीको ५२.५१ घनमिटर/सेकेन्ड डिजाइन डिस्चार्जमा आधारित आयोजना २०७८ सालमा विद्युत् विकास विभागबाट नापजाँच स्वीकृत भएको हो। स्थानीय तहदेखि राष्ट्रिय तहसम्म रोजगारी, रोयल्टी, सेयर तथा व्यापार–व्यवसाय बढ्ने भएकाले आयोजना लाभदायी हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए।
उत्पादित विद्युत् १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारस्थित सबस्टेशनमा जोडिने छ। पानी फिर्ता पठाउन २५ मिटर टेलरेस टनेल निर्माण गरिने र आयोजना संरचना तिला नदीको बायाँ किनारमै रहने जनाइएको छ।
आयोजनाका लागि ७.५८५ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा ४.७७२ हेक्टर वन क्षेत्र र २.८१३ हेक्टर निजी जग्गा पर्छन्। निर्माण अवधिमा स्थानीयलाई प्राथमिकताका साथ रोजगारी दिइने र व्यापार–व्यवसायमार्फत आय वृद्धि हुने अपेक्षा राखिएको छ।
आयोजनाबाट ३४ घरधुरी प्रत्यक्ष प्रभावित हुने देखिएको छ। प्रभावित घरधुरीको सूची सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको छ। अध्ययन अवधि सकिएपछि आयोजनाको निर्माण कार्य अघि बढाइने उल्लेख गरिएको छ।











प्रतिक्रिया