धुलिखेल–खावा सडक स्तरोन्नति तीव्र, नयाँ ठेक्कासँग १४ महिनाभित्र काम सक्ने लक्ष्य


काठमाडौँ । 

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिको काम पुनः तीव्र बनेको छ। पुरानो ठेक्का रद्द भएपछि नयाँ निर्माण कम्पनी सि–एन ए–वान काली जेभीसँग गत कात्तिकमा १४ महिनाभित्र काम सक्ने गरी भ्याटबाहेक ३१ करोड ५६ लाखमा सम्झौता गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

पहिलो चरणमा फराकिलो स्थानमा चैतसम्म कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। पहिलेको ठेकेदार गौरी–पार्वती निर्माण सेवाले निर्धारित समयभन्दा ११ महिना ढिलासम्म पनि २५ प्रतिशत काम मात्र गरेपछि ठेक्का रद्द गरिएको थियो।

तीन वर्षदेखि ढिलाइ हुँदै आएको सडक विस्तार नहुँदा यात्रुहरू धुलो, हिलो, जाम र दुर्घटनाको जोखिममा यात्रा गर्दै आएका छन्। यो सडक चीन नाका तातोपानीसहित दोलखा, रामेछाप जाने मुख्य मार्ग पनि हो। सडकलाई १२ मिटर फराकिलो बनाइ २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित बेस र दुई चरणको कालोपत्रे गरेर मजबुत बनाउने योजना कार्यालयले अघि सारेको छ।