काठमाडौँका धेरै क्षेत्र आज बिहान ४ घण्टा बत्ति बन्द


काठमाडौँ ।

काठमाडौँमा आज (शनिबार) बिहान केही स्थानहरूमा अस्थायी रुपमा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यका लागि पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतली आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि १२ बजेसम्म बिजुली कटौती हुनेछ।

मित्रपार्क–पशुपति कलेज क्षेत्र, विमानस्थल फिडरअन्तर्गत ढल विकास आयोजना क्षेत्र, विमानस्थल आर्मी ब्यारेक तथा बत्तीसपुतली–चाबहिल–जयवागेश्वरी–पशुपतिनाथ मार्गमा विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ।

यस्तै, नयाँ चाबहिल नयाँबस्ती फिडरअन्तर्गत चाबहिलचोक, गौरीघाट चोकदेखि नयाँबस्ती क्षेत्रसम्म बिहान ७ बजेदेखि ८ बजेसम्म बिजुली बन्द हुनेछ।

प्राधिकरणले असुविधाका लागि क्षमा माग्दै कार्य तोकिएको समयभन्दा अघि सकिएमा विद्युत् सेवा शीघ्र नियमित गरिने जानकारी दिएको छ।