लमजुङ।
लमजुङमा आठ महिना अघिको हत्या प्रकरणमा संलग्न मानिएका बुद्धिराम दराई पक्राउ परेका छन् । चितवन रत्ननगर–७ का ४७ वर्षीय दराईलाई रुपन्देहीको सिद्धार्थनगर १ बेलहियाबाट पक्राउ गरी शुक्रवार लमजुङ प्रहरीले सार्वजनिक गरेको हो ।
हत्या भएको पूर्वप्रहरी हवल्दार सीता धिताल कंडेल बेसीशहर–२, भकुण्डेस्थित आफ्नै घरमा चैत ३१ गते मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानले कंडेलको घरमा चैत २६ गते पुगेका दराईले २७ गते बिहान हत्या गरेको खुलेको छ ।
प्रहरीका अनुसार उनीहरुबीच पुरानै चिनजान थियो । दराई यसअघि कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाई २०७६ असोजमा मुक्त भएका थिए । चितवन कारागारमै कंडेलसँग परिचय भएको र पछिल्ला वर्षमा उनीहरुको नियमित भेटघाट, आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार घटनाको ठोस कारण अझै खुल्न बाँकी छ । प्रारम्भिक रुपमा आपसी मनमुटावकै बीच झगडा भएर हत्या भएको देखिन्छ ।
अनुसन्धानले दराई चितवनबाट लमजुङ आएको, कंडेलको गतिविधि निगरानी गरेको र २६ गते सीताको घरमा बसेर अर्को दिन बिहान घटना घटाएको पुष्टि गरेको छ । कंडेलको अष्ट्रेलिया रहेका छोरासँग बिहान ४ बजे भिडियो कल भएको केही घण्टामै हत्या भएको प्रहरीको भनाइ छ ।
हत्यापछि काँडेलका घरमा रहेका सुनका गरगहना, नगद र मोबाइल समेत चोरी भएको थियो । हत्या भएको दिन उनी बेसीशहर बजारमा घुमेर चितवनतिर गएका थिए । दराई पछि भारत पुगेर दिल्लीको एक होटलमा चौकीदारका रुपमा काम गरिरहेका बेला नेपाल फर्कँदै गर्दा पक्राउ परेका हुन् ।
लमजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रनाउ बोहोराले जानकारी दिए ।











प्रतिक्रिया