लमजुङ।
लमजुङको सदरमुकाम बेसीशहरस्थित ल्याण्डस्टार अंग्रेजी स्कुलमा विद्यार्थीले आफ्नै लगानीमा फुड फेस्टिभल आयोजना गरेका छन् । नियमित पढाइसँगै अतिरिक्त सिपमूलक गतिविधिमा सहभागी गराउँदै क्षमता विकास गर्ने उद्देश्यले विद्यालयको समन्वयमा खाना उत्सव गरिएको हो ।
विद्यालय परिसरमै भएको खाना उत्सवमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले परम्परागतदेखि आधुनिक विविध परिकार तयार पारेर प्रदर्शन र बिक्री गरेका थिए । विद्यार्थीले कक्षागत रुपमा छुट्टाछुट्टै स्टलमा चटमारी, सेलरोटी, अचार, आलुचप, समोसा, चना अण्डा, सुक्खा रोटी, एगरोल, दहिपुरी, पानी पुरी, मिटबल, पुरी तरकारी, मःम, चटनी लगायत १८ प्रकारका परिकार राखिएका थिए । अर्को तर्फ विद्यार्थीले चिया र कफी पनि बनाइरहेका थिए ।

विद्यार्थीले स्व–लगानीमा आयोजना गरेको फुड फेस्टिबलबाट करिब ९५ हजार रुपैयाँ बराबरको आम्दानी भएको विद्यालयका प्रिन्सिपल ईश्वर पौडेलले बताए । विद्यार्थीले बनाएका परिकार हेर्न र किन्न अभिभावकहरु विद्यालय पुगेका थिए । अभिभावकले नियमित पढाइसँगै यस्तो व्यावहारिक गतिविधिले विद्यार्थीको बौद्धिक र सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
विद्यालयको वार्षिक कार्यतालिका अनुसार दोस्रो पटक आयोजना गरिएको यो फेस्टिवल आगामी वर्षहरुमा पनि निरन्तरता दिने प्रिन्सिपल पौडेलको भनाई छ । हरेक कक्षालाई समूह बनाएर विद्यार्थीकै लगानीमा तयार पारिएका परिकार बिक्रीबाट आएको रकम उनीहरुलाई नै वितरण गरिएको विद्यालयले जनाएको छ । प्राप्त रकम विद्यार्थीले प्रोजेक्ट वर्कमा लगानी गर्ने योजना रहेको प्रिन्सिपल पौडेलले जानकारी दिए ।

ल्याण्डस्टार माविले विद्यार्थीको व्यवहारिक सिकाइ अभिवृद्धिका लागि वर्षभरि विभिन्न शैक्षिक र अतिरिक्त गतिविधि सञ्चालन गर्दै आएको छ ।











प्रतिक्रिया