आठ महिनापछि सिमेन्ट उद्योग पुनः सञ्चालनमा

1.32k
Shares

उदयपुर ।

दक्षिण एशियाकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योग ८ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

२०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएर २०४९ सालदेखि गैँडा छाप सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरणकालागि शुरु भएको गैडाछाप सिमेन्टको उत्पादन गत बैशाखमा कोइलाको मुल्यवृद्धिले आर्थिक भारका कारण बन्द भएको थियो । तर, यही मंसिर ८ गतेबाट आन्तरिक श्रोतबाट कोइला खरिद गरेर पुनः सञ्चालनमा आएको हो ।

उदयपुर सिमेन्ट उद्योगका लेखा अधिकृत उद्धवप्रसाद घिमिरेले गत बैशाखमा कोइला अभावका कारण बन्द भएको सिमेन्ट उत्पादन यही मंसिरको ८ गतेबाट ८ महिनापछि पुनः संचालनमा आएको बताए ।

उद्योगको गैडाछाप सिमेन्ट देशमा उत्पादित सिमेन्टहरु मध्ये सबैभन्दा उत्कृष्ट गुणस्तरको रहेको र बजारमा यसको माग अत्यधिक छ । तर निजी क्षेत्रका सिमेन्ट कम्पनिहरुद्धारा उत्पादित सिमेन्टको बजार मूल्य भन्दा गैडाछाप सिमेन्टको मूल्य महंगो रहेकोले ग्राहकहरुले सस्तो खोज्ने गरेको घिमिरेले बताए ।
उद्योगसँग पुरानो स्टकको सिमेन्ट केही रहेकोले बजारमा हाल सोही सिमेन्ट बिक्री वितरण भैरहेको जानकारी दिंदै घिमिरेले हाल उत्पादन गरिएको सिमेन्ट बजारमा आउन बाँकी रहेको र केही दिनमा बजारमा बिक्री वितरणकालागि पठाउने तयारी भैरहेको बताए ।

उद्योगको मेसिन तथा पार्टपुर्जाहरु अत्यन्त पुरानो भएकोले पनि उत्पादनमा समस्या भएको छ । दैनिक ८ सय मेट्रिकटन उत्पादन क्षमता भए पनि पुरा क्षमतामा संचालन गर्न नसकिएको जानकारी दिंदै घिमिरेले मेसिन सरसफाई तथा मर्मत सम्भार गर्न आर्थिक समस्या रहेको छ । मेसिन मर्मत संभार र सरसफाई गरेर संचालन गर्दा दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुन्छ । तर हाल दैनिक करिब ६ सय मेट्रिक टन उत्पादन भैरहेको उनले बताए ।

यस विषयमा उद्योगका महाप्रबन्धक कोविद काफलेसँग सम्पर्क गर्दा उनी उद्योगको बोर्ड बैठकका लागि र उद्योग सम्बन्धी कामले काठमाडौँ गएकाले फोन सम्पर्क गर्दा फोन उठेन ।