नेपालमा हालै सम्पन्न जेन–जी आन्दोलनले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । यस आन्दोलनकी अगुवामध्येकी एक रक्षा बमले आन्दोलनको मर्म, उपलब्धि, भाबी योजना र देशको राजनीतिक अवस्थाबारे गहिरो विचारहरू राख्नुभएको छ । प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका कविरस शर्माले उहाँसँग गरेको कुराकानीको सार ।
जेन–जी आन्दोलनमा अगुवाइ गर्नुपर्छ भन्ने सोच कसरी आयो ?
भ्रस्टाचारविरुद्ध र सुशासन कायम गर्नुपर्छ भन्ने नाराका साथ हामीहरू माइतीघर मण्डलामा जम्मा भएका थियौं । अगुवाइ गरिन्छ भनेर सोचेको थिइन । भदौ २३ को घटनापछि मात्र हाम्रा मागहरू बदलिएका र एजेन्डा थपिएका हुन् । विस्तारै आन्दोलन अघि बढिरहँदा मैले आफूलाई प्रतिनिधित्व गर्नुपर्छ भन्ने महसुस गरे । सुरुमा प्रतिनिधित्व गर्छु भनेर सोचेको चाहिँ थिएन तर परिस्थिति नै त्यस्तै सिर्जना भएकोले प्रतिनिधित्व गर्न अग्रसर भएँ ।
आन्दोलन चाहिँ किन गर्नुपर्छ जस्तो लाग्यो ?
वर्षांैदेखि देशमा भ्रस्टाचार व्याप्त छ, यो त्यही भ्रष्टाचारलाई रोक्न गरिएको आन्दोलन हो । भ्रष्टाचारीहरूलाई सरकारले नै संरक्षण गरेका छन् । यसका विरुद्ध आवाज उठाए पनि सरकारले बेवास्ता गरेका घटनाले प्रश्रय पाइरहेको देखेर हामी सडकमा गएका थियौं ।
सुरुमा आन्दोलनको उद्देश्य सत्ता परिवर्तन गर्नु थियो कि थिएन ?
थिएन । सुरुमा यो कुनै सत्ता ढाल्न वा चुनावको मिति सार्नका लागि गरिएको थिएन । दमन सहनै नसकेर फ्रस्टेसन ब्रस्ट भएपछि मात्र नेतृत्व परिवर्तनको माग उठेको थियो ।
तपाईंको विचारमा आन्दोलन हिंसात्मक कसरी बन्न पुग्यो जस्तो लाग्छ ?
आन्दोलन शान्तिपूर्ण थियो । हिंसामा कसरी रूपान्तरण भयो भनेर मलाई थाहा भएन । मेरो विचारमा जेन–जी साथीहरू संसद् भवनभित्र प्रवेश गर्ने प्रयासमात्र गरेका थिए तर जलाउने वा अन्य अराजक किसिमका गतिविधि गर्ने कुनै मनसायचाहिँ थिएन जस्तो लाग्छ । तर, सुरक्षाकर्मीले टाउकोमा ताकी–ताकी अन्धाधुन्ध गोली प्रहार गरे पछाडि आन्दोलनले अराजक रूप लिएको हो ।
जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत अन्य थुप्रै राष्ट्रिय सम्पत्तिमा आगजनी गरियो, यसबारे तपाईंको धारणा के छ ?
आगजनी, तोडफोडजस्ता क्रियाकलापले कहिल्यै र कसैलाई पनि राम्रो गर्दैन । तर, मेरो लागि भदौ २४ गतेभन्दा पनि २३ गतेको जनता मार्नु अझै ठूलो अपराध हो । २३ गतेको नरसंहारबाट उत्पन्न भएको जनआक्रोशको परिणाम नै २४ गतेको विध्वंश हो ।
जेन–जी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि के हो ?
वर्षौंदेखि कुर्सी बचाउने, जनताको आवाजलाई नसुन्ने र भ्रष्टाचारमा लिप्त परम्परागत नेताहरूलाई डिस्क्रेडिट गरेर निरंकुश शासकको हातबाट सत्ता खोसेर नागरिक सरकार गठन गर्नु ठूलो उपलब्धि हो ।
वर्तमान सरकारलाई कस्तो रूपमा बुझिएको छ ?
यो सरकार नागरिकले सडकबाट बनाएको र सडकको म्यान्डेट बोकेर अगाडि बढिरहेको सरकार हो ।
जेन–जी आन्दोलनको मुख्य म्यान्डेट के हो ?
जेन–जी आन्दोलनलाई राजनीतिक आन्दोलनको नाम दिनुपर्छ । सहिद परिवार र घाइतेले न्याय पाउनुपर्छ । भ्रष्टाचारको फाइलहरू खोलिनुपर्छ र सुशासन कायम हुनुपर्छ । जेन–जी आन्दोलन विशुद्ध रूपमा शान्तिपूर्ण तरिकाले भ्रष्टाचारविरुद्ध र मुलुकमा सुशासन कायम गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको हो ।
आन्दोलनको म्यान्डेटअनुसार के–कतिवटा अहिलेको सरकारले पूरा गरेजस्तो लाग्छ ?
भ्रष्टाचारको विषयमा काम अघि बढिरहेको छ । आन्दोलनलाई वैधानिकताको दिनका लागि पनि काम भइरहेको छ । पीडितहरूलाई न्यायका लागि जाँचबुझ आयोग गठन गरिएको छ, जसको प्रतिवेदनअनुसार काम अगाडि बढ्ने नै छ । सहिदहरूको नाम राजपत्रमा सूचीकृत गरिएको छ ।
जेन–जी आन्दोलनलाई बाह्य रूपमा परिचालित भएको भन्ने आरोप छ नि, के भन्न चाहनुहुन्छ ?
यो आरोपमात्रै हो । जेन–जी आन्दोलन स्वस्फूर्त रूपमा भ्रष्टाचारविरुद्धमा आएको पुस्ता हो, जसले हामीले तिरेको करको पैसा कहाँ छ र कसरी प्रयोग भइरहेको छ भनेर प्रश्न सोध्दै सडकमा आएका हुन् ।
जेन–जी आन्दोलनपछि देशमा वैकल्पिक बाटो खुलेको हो ?
देशमा वैकल्पिक बाटो खुलेको महसुस भएको छ र देशका सम्पूर्ण वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ ।
वैकल्पिक शक्ति भन्नाले कस्ता शक्तिहरू हुन् ?
वर्षौं वर्ष राजनीति गरेर जनताको लागि केही नगरेका परम्परागत पार्टीहरूभन्दा बाहेकका दलहरू वा शक्तिहरू हुन ।
जेन–जीको मुख्य मुद्दा के हो ?
भ्रष्टाचार नियन्त्रण र सुशासन हो ।
वर्तमान सरकारले तत्कालै भ्रष्टाचार निर्मूल गर्न सक्छ भन्ने अपेक्षालाई कसरी व्याख्या गर्नुहुन्छ ?
सरकारसँग ‘जादुको छडी’ छैन कि जानेबित्तिकै भ्रष्टाचार निर्मूल हुन्छ भन्ने यथार्थ सबैले बुझ्नुपर्छ । कामहरू भइरहेको र भ्रष्टाचारका विरुद्धमा काम अगाडि बढिरहेको छ ।
अहिले नै संविधान संशोधन गर्ने वा प्रत्यक्ष निर्वाचित कार्यकारी खोज्ने जस्ता ठूला संवैधानिक मुद्दामा जानु उचित हुन्छ वा हुँदैन ?
अहिले नै यसो गर्दा देश अँध्यारो सुरुङतिर जाने जोखिम हुन्छ । संविधानमा विभिन्न समुदायको योगदान रहेकोले यसलाई चलाउँदा सबैको योगदानको अवमूल्यन हुने खतरा छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व तपाईंहरूको मुख्य मुद्दा हो ?
यो हाम्रो मुख्य मुद्दा भन्ने मलाई चाहिँ लाग्दैन । यो पहिले पनि उठिसकेको कुरा हो र यो एउटा बहसको विषय हो ।
नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली आवश्यक छ जस्तो लाग्छ ?
यो एउटा सर्वपक्षीय छलफलको विषय हो । नयाँ संविधान आएको १० वर्ष भयो, यसलाई अलि फक्रिन पनि समय दिनुपर्छ जस्तो लाग्छ । हरेक आन्दोलनपछि व्यवस्था र शासकीय स्वरूप मात्र परिवर्तन भयो । जबसम्म तिनै व्यवस्थाका शासक र राजनीतिक संस्कार परिवर्तन हुँदैन तबसम्म केही पनि हुनेवाला छैन ।
के कारणले जेन–जीबीच मतान्तर देखिएको हो र यसको समाधान कसरी होला ?
मतान्तर त हुन्छ नै । कसरी एउटा सिंगो पुस्ताले एउटै तरिकाले सोच्न सक्छन त । आन्दोलनको हकमा हामी सबै एक जुट छौं र आन्दोलनले दिएको म्यान्डेट पूरा गराउनमा पनि हामी सबैको एउटै मत छ ।
जेन–जी अगुवाको रूपमा तपाईंले अनुभव गर्नुभएको ठूला चुनौतीहरू के–के हुन ?
एउटा सिंगो पुस्तालाई एउटै सोचमा ढाल्ने विषय मेरो लागि चुनौतीको विषय हो । विचार मिलेकाहरूलाई पनि एक बनाउने कार्य चुनौतीपूर्ण नै छ । अहिले देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ र यसलाई पार लगाउनु पनि अर्को चुनौती हो ।
देश विकासका लागि पहिलो प्राथमिकता के हो जस्तो लाग्छ ?
सरकार, समाज र नागरिक, मुख्यतः यी तीन तहले सही काम गर्नुपर्छ जस्तो लाग्छ । नागरिकमा भरपुर सचेतना हुनुपर्छ । यो एकदमै महत्वपूर्ण कुरा पनि हो । सरकारको नेतृत्व गरेका व्यक्तिहरू पनि जनमुखी हुनुपर्छ । आप्mनो पार्टी र कार्यकर्ताको मात्र होइन, सम्पूर्ण जनताको बारे सोच्नुपर्छ । समाजले चाहिँ त्यस्तो राजनीतिक संस्कार दिनुपर्छ जसले हरेक नयाँ पुस्ताका लागि अवसर र मार्ग प्रशस्त हुने वातावरण बनोस् । यी तीनवटै तहले आफ्नो जिम्मेवारी सही तरिकाले बहन गर्नुपर्छ । सबैजना जवाफदेही हुन सक्नुपर्छ ।
निर्वाचनको विषयमा तपाईंको धारणा के छ ?
निर्वाचनको विकल्प छैन । लोकतान्त्रिक प्रक्रियामा निर्वाचनले नै निर्णायक भूमिका खेल्छ भन्ने विश्वास छ ।
फागुन २१ गते चुनाव हुन्छ ? ढुक्क हुन सकिन्छ ?
आशावादी छु । जेन–जी आन्दोलनले ल्याएको सकारात्मक परिवर्तनलाई विधिसम्मत तरिकाले निर्वाचनमार्फत संस्थागत गर्ने र वैकल्पिक शक्तिहरू एक जुट भएर भ्रष्टाचारमुक्त र सुशासित राष्ट्र निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ ।
तपाईंले कस्तो नयाँ नेपालको परिकल्पना गर्नुभएको छ ?
हाम्रो देशका जनताले आधारभूत सेवासमेत पाउन सकिरहेको छैन । सम्पूर्ण जनताको यसमा सहज पहुँच हुनुपर्छ । गास, बास र कपास हरेकको नैसर्गिक अधिकार हो र यसको सुनिश्चितता हुनुपर्छ । हरेक नागरिकका लागि सहज रूपमा स्वास्थ्य, शिक्षा, रोजगारी पनि राज्यको प्रमुख प्राथमिकतामा पर्नुपर्छ । यो राष्ट्र आउने पुस्ताको पनि भएकोले सबैले थिति बसालेर अगाडि बढ्नुपर्छ ।











प्रतिक्रिया