दोलखाका सबै प्रतिनिधि ओली पक्षका

22.65k
Shares

दोलखा।

पार्टीको केन्द्रीय अध्यक्षमा पुनः केपी शर्मा ओलीनै हुनुपर्छ भनेर देश भरीमै पहिलो पटक संस्थागत निर्णय गर्ने नेकपा एमाले दोलखाले ११ औँ राष्ट्रिय महाधिवेशनको लागि सर्वसम्मत ढङ्गले प्रतिनिधि छनौट गरेको छ । 

खुल्ला चार, महिला तीन, दलित एक र युवा एक गरी नौ जना प्रतिनिधि सर्वसम्मत ढङ्गले चयन भएको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए। 
नेकपा एमाले दोलखाले शनिवार पत्रकार सम्मेलन मार्फत सर्वसम्मत चयन भएका प्रतिनिधिहरु लाई प्रमाणपत्र वितरण गरेको छ । सर्वसम्मत चयन भएका प्रतिनिधिहरुमा खुल्ला तर्फ नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ (मेलुङ गाउँपालिका), बागमती प्रदेश कमिटी सदस्य भरत बहादुर केसी (भीमेश्वर नगरपालिका), पूर्व अध्यक्ष ईश्वर चन्द्र पोखरेल (तामाकोशी गाउँपालिका), केन्द्रीय सल्लाहकार कमिटी सदस्य डबल पाण्डे (कालिन्चोक गाउँपालिका) रहेका छन्।

महिला तर्फ उर्मिला थामी (गौरीशङ्कर गाउँपालिका), शान्ति कुमारी तमाङ (बैतेश्वर गाउँपालिका), शारदा राना (विगु गाउँपालिका) रहेका छन् । त्यसैगरी दलित तर्फ अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य विशाल विक (शैलुङ गाउँपालिका) र युवा तर्फ बागमती प्रदेश कमिट सदस्य लक्ष्मण गुभाजु (जिरी नगरपालिका) रहेका छन् । 

प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै एमाले पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज पार्वत गुरुङले एमाले दोलखा जिल्ला कमिटीको भावना अनुसार सर्वसम्मत चयन भएका सबै प्रतिनिधिहरुले अध्यक्षमा केपी शर्मा ओलीलाई मतदान गर्ने बताए । 

अहिलेको परिस्थितिमा राष्ट्र र एमालेलाई केपी शर्मा ओलीको नेतृत्वको आवश्यकता भएकोले दोलखाबाट महाधिवेशनमा भाग लिने सबै प्रतिनिधिहरुले केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने र माहौल बनाउने पोलिटब्युरो सदस्य गुरुङले बताए ।

एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले पनि जिल्ला कमिटीको निर्णय अनुसार सबै प्रतिनिधहरुले केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने बताए । कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धर र सचिव स्वयम बहादुर खड्काले पनि केन्द्रीय अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका थिए ।