पुस्तक चर्चा : मानसिक रोग विशेषज्ञ डा. निराकारमानका अनुभव र अनुभूति

4.51k
Shares

नेपाल सरकारको स्वास्थ्य सेवामा लामो अवधि सेवा गर्ने क्रममा जिल्लादेखि केन्द्रसम्म महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठको व्यावसायिक अनुभव समेटिएको पुस्तक ‘सङ्घर्षबाट सफलता’ प्रकाशित भएको छ ।

नेपालमा मानसिक स्वास्थ्यको संस्थागत विकास गर्न, नीतिगतरुपमा प्रवद्र्धन गर्न र भावी पुस्तालाई मार्गदर्शन गर्न डा. श्रेष्ठले ठूलो योगदान पु¥याउनुभएको उहाँको यो पछिल्लो कृतिमा उल्लिखित सन्दर्भबाट प्रस्ट हुन्छ ।

चिकित्सा सेवामा काम गर्दा देशका कुनाकाप्चाबाट पीडा बोकेर आएका बिरामीका पीडालाई केवल व्यावसायिक आँखाले नभई मानवीय हृदयले नियाल्ने प्रयास गरेको उहाँले उहाँले उल्लेख गर्नुभएको छ । यतिसम्म कि मानसिक रोगीको उपचारका क्रममा बिरामीबाट झापड खानुपरेको यथार्थ पनि उहाँले पस्कनुभएको छ ।

डा. श्रेष्ठले पुस्तकमा निजी तथा पारिवारिक सन्दर्भ र आफ्नो सङ्क्षिप्त वंशावलीसमेत समेट्नुभएको छ । त्यो जमानामा हड्डी भाँचिएर आएको बिरामीको उपचार गरिदिएकोमा आफ्नी आमाको प्रशंसा गर्दै उहाँले लेख्नुभएको छ, ‘आमाले भाँच्चिएको ठाउँमा पहाडे कागज बेर्ने र त्यसमाथि सल्लाको खोटो लगाएर अर्को पहाडे कागज राख्ने गर्नुहुन्थ्यो । त्यो सुकेपछि कक्रक्क भएर प्लास्टर गरेजस्तै हुन्थ्यो ।’

यस्तै बाल्यकालका उपद्रवहरु पनि उल्लेख भएकाले पुस्तक पठनीय बनेको छ । अण्डा बेच्ने सुब्बेनीसँग कसैले सिकाएर उनकै भाषामा बोल्दा फोहोर कुरा भएकाले सुब्बेनीले नराम्रोसँग लखेटेको, रुखको हाँगामा समातेर पिङ खेल्दा पछारिएको, काँक्राका चिचिला चोरेर खाने गरेको बालप्रसंगहरु चाख लाग्दा छन् ।
सानोमा तेह्रथुमको स्कुलमा पढ्दाका कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ । त्यतिखेर एकजना विश्वकर्मा थरका विद्यार्थीलाई कक्षाकोठाभित्र छिर्न नदिँदा उनी आफैँले चकटी ल्याएर बाहिरै बसी पढेको प्रसंगले त्यस बेला रुढिवादी संस्कार अति नै भएको आभास मिल्छ ।

लखनउमा एमबीबीएस पढ्दा हुने गरेका ¥यागिङका कुरा उत्तिकै पठनीय छन् । ¥यागिङका क्रममा सिनियरहरुले तिमीहरु यहाँ के गर्न आयौ भनेर सोध्ने अनि एमबीबीएस गर्न आएको भनेर सोझो पाराले उत्तर दिँदा उनीहरुले ‘हैट इसका मतलब मिया बिबी बच्चासहित’ भनेर जिस्क्याएछन् ।

त्यहाँका प्रोफेसरहरुबारे पनि डा. श्रेष्ठले उल्लेख गर्नुभएको छ । एकजना बूढा प्रोफेसर खद्दरको कोट–पाइन्ट लगाई सधैँ पुरानो साइकल चढेर आउनुहुन्थ्यो अरे ! एकदिन त उहाँकै छोरीले भनिछन्, ‘ड्याडी ! तपाईं किन सधैँ साइकल चढ्नुहुन्छ ? तपाईंले पुरानो साइकल चढ्दा मलाई लाज हुन्छ ।’ छोरीको कुरा सुनेर प्रोफेसरले ‘म तिम्री आमालाई छोड्न सक्छु तर यो साइकल छोड्न सक्तिनँ’ भनेर दिएको उत्तरले त्यतिखेर सबैलाई हँसाएको थियो रे !

अर्का एक प्रोफेसर एस.पी. गुप्तालाई विद्यार्थीले सधैँ झुकेर खुट्टा छोई ढोग्नुपर्ने प्रसंग झनै चाख लाग्दो छ । डा. श्रेष्ठले चाहिँ सधैँ ‘गुड मर्निङ’ भन्ने तर खुट्टा नढोग्ने गर्नुभएको रहेछ । शायद त्यसैले हो कि राम्रो पढेर जाँच दिए पनि अप्थाल्मोलोजी विषयमा प्रो. गुप्ताले फेल गरिदिनुभएको कुरा डा. श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

त्यस्तै लखनउमा पढ्दा कलेजनजिकै रहेको इमामबाराभित्र पसेपछि निस्कनै गाह्रो परेको कुराले पाठकलाई समेत तड्पाउँछ । उहाँले पुस्तकमा लेख्नुभएको छ, ‘त्यहाँ पसिसकेपछि ४ सय ८९ वटा उस्तै खालका प्रवेशविन्दु छन् । त्यो भूलभुलैयामा छिरेपछि करिब १ हजारवटा उस्तै प्रकारका घुम्ने बाटा छन् । बिदाको दिन पारेर एक्लै गएँ र भूलभुलैयामा छिरेँ । तर म भूलभुलैयाभित्रै अल्मलिएँ, बाहिर निस्किनै सकिन ।’ भूलभुलैयाबाट बाहिर जाने बाटो खोज्दाखोज्दै उहाँको तीन घण्टा बितेको रहेछ ।

लखनउबाट पढेर आएपछि सानेपास्थित शान्ताभवन अस्पताल (हाल पाटन अस्पताल) मा रेजिडेन्ट हाउस फिजिसियनका रुपमा कार्य गर्दा मासिक बेसिक तलब रु. ४४० र नन प्राक्टिसिङ भत्ता रु. २ सय अनि ५० रुपियाँ विशेष भत्ता पाउँदा निकै आत्मसन्तुष्टि मिलेको उहाँको भनाइ छ । सरकारी तलबको तुलनामा यो तलबमान धेरै माथि थियो रे !

शान्ताभवन अस्पतालबाट कामको शुरुवात भए पनि अ.हे.व. स्कूल महाराजगन्ज, वीर अस्पताल, कान्ति बालअस्पताल, नेपाल परिवार नियोजन संघ, धनकुटा अस्पताल, दाङ अस्पताल, भेरी अञ्चल अस्पताल, भक्तपुर अस्पताल, जोमसोम अस्पताल, टेकु सरुवा रोग अस्पताल, मानसिक रोग अस्पताल, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय आदिमा काम गरेको अनुभव उहाँसँग छ ।
धनकुटाको अस्पतालमा काम गर्दा एक पुरुषले नजिकै हो भन्दै करिब साढे २ घण्टाको बाटो बिरामी हेर्न लगेछन् । बिरामी हेरेर फर्कंदा ती पुरुषले ३० रुपियाँ फी दिँदा उनको गरिबीपन देखी दया लागेर २५ रुपियाँ फिर्ता गरी ५ रुपियाँ मात्र लिएको घटना बडो मार्मिक छ । यता खाँदबारीमा सिडियोले राजा वीरेन्द्रसँग हात मिलाएको घटना त्यत्तिकै रोचक र गम्भीर छ ।

दाङ अस्पतालमा हुँदा पोस्मार्टममा अनुकूल रिपोर्टका लागि प्रशासनिक दबाब आएको कुरा सही नसक्नु छ । लासको पोस्टमार्टममा आत्महत्या नभई हत्या हो भनी रिपोर्ट पठाउँदा प्रहरी, वकिल, प्रशासन सबैतिरबाट लोभ देखाउँदै आत्महत्या हो भन्ने रिपोर्ट लेखाउन दबाब आएको र नमान्दा दुईपटक अदालतमा बयान दिन बोलाइएको घटना डा. श्रेष्ठले खुलेरै उल्लेख गर्नुभएको छ । यस घटनाले त्यस बेलाको प्रशासनिक अवस्था दर्शाउँछ ।

त्यस्तै प्युठानमा एक पुरुषको भ्यासेक्टोमी गर्दागर्दै एक महिला अपरेसन कक्षभित्रै पसेर ती पुरुषलाई पटापट पिट्न थालेको घटनाले पाठकलाई आश्चर्यचकित बनाउँछ । डा. निराकारमान श्रेष्ठले किन के भयो भनेर सोध्दा ती महिलाले भनिछन्, ‘अर्काको लोग्नेलाई खसी पारेर मलाई टुट्टा पार्ने ?’ यति भनेर टाँका लगाउनै नदिई ती महिलाले पुरुषलाई हतेर्दै घरतिर लगिछन् । यसले त्यस बेलाको अशिक्षित समाजको इंगित गरेको छ । ६ महिनापछि आएर उनले ‘खसी पार्छ भनेको त कहाँ हुनु, झन् गन्हाउने बोको पो हुँदो रहेछ’ भनेर हँसाएकी थिइन् रे !

काठमाडौंबाहिर बसेर जागिर खाँदाका घटना मात्र होइन, त्यहाँको प्राकृतिक वर्णन पनि डा. श्रेष्ठले मजासँग गर्नुभएको छ । त्यस बेला जोमसोम जाँदाको कहानी र त्यहाँको प्राकृतिक दृश्य, कहाली लाग्दो बाटो, मुक्तिनाथ मन्दिरको वर्णनले पाठकलाई पक्कै तन्ने देखिन्छ ।

साइकियाट्रिकमा एमडी गरेर फर्किएपछि मानसिक रोग अस्पतालमा सिनियर मेडिकल अफिसर हुँदै पालै नआई निर्देशक हुँदाका क्षणहरु, अस्पताल भवन निर्माणका क्रममा सिडियोले बोलाएर ‘अलि–अलि मिलाउनुप¥यो’ भनेका कुराहरुको प्रसंग खुलेर उठान गर्नुभएको छ । मानसिक रोगका बिरामीलाई जेलमा लग्ने होइन अस्पतालमा उपचार गराउने प्रवृत्तिको शुरुवात गरेको प्रसंग उत्तिकै महत्वपूर्ण छ । आफ्नो अगुवाइमा मानसिक रोगबारे गरिएका अध्ययनहरु र तिनका रिपोर्टहरुसमेत डा. श्रेष्ठले पुस्तकमा उल्लेख गर्नुभएको छ ।

साइकियाट्रीमा एम.डी. गरेपछि नेपालबाट एडिक्सन बिहेभियरमा सबस्पेसलाइजेसन गर्ने पहिलो व्यक्ति शायद आफू नै भएको र स्वास्थ्यकर्मीबाट स्वास्थ्य मन्त्रालयको पहिलो सचिव हुने सौभाग्य पनि आफूले पाएकोमा उहाँले गर्व गर्नुभएको छ ।
स्वास्थ्य सेवाको महानिर्देशक भएर काम गर्दा धेरै राजनीतिक दबाब आउने गरेको उहाँले लेख्नुभएको छ । शाही आयोगको नाम लिएर त्यसो गरेमा÷नगरेमा कारबाही गर्छु भनी उहाँलाई धम्की आउँथ्यो अरे ! सरुवा, बढुवा, ठेक्कापट्टा आदि मिलाउनुपर्ने दबाब र कामको चापले २–३ महिनाभन्दा बढी टिक्न नसकेको दुखेसो उहाँले पोख्नुभएको छ । पछि स्वास्थ्य सचिव हुन धेरै पापड बेल्नुपरेको तीतो सत्य पनि उहाँले ओकल्नुभएको छ । उपचार गर्ने डाक्टर पनि मन्त्रालयको सचिव हुन सक्छ र ? भन्ने प्रवृत्तिलाई उहाँले चिर्न सफल हुनुभएको पुस्तकमा दर्शाइएको छ ।

त्यसै गरी डा. श्रेष्ठको विदेश भ्रमणको प्रसंग रोचक र शिक्षाप्रद छ । पाकिस्तान जाँदा विमानमा एयरहोस्टेजले ल्याएको खानेकुरा साथीले पकापक खाएछन् । पछि डा. श्रेष्ठले पनि मगाएर यो स्यान्डविच हो ? भनी सोध्दा एयरहोस्टेजले ‘हो बिफ राखेको स्यान्डविच’ भनेपछि फसाद परेछ । त्यसपछि त साथीले तारन्तार उल्टी गरेछन् । होटलमा पुगेर पनि उल्टी गरेछन् । भोलिपल्ट उनी मिटिङमा जानै नसकेको कुरा रोचक छ ।

यसै गरी दक्षिण अप्र्रिmकाको केपटाउनमा भएको सम्मेलनमा जाँदा त्यहाँको सुन्दरता देखेर डा. भोगेन्द्रकी श्रीमती सुशीला शर्माले ‘फेरि मेरो जन्म हुने भए केपटाउनमै जन्मिन पाऊँ’ भनेर हँसाएको कुराले पाठकलाई समेत त्यहाँ जाऊँ–जाऊँ बनाउँछ । जापानको ट्राफिक व्यवस्थापन, थाइल्यान्डको बाँदरलाई दिइने तालिम, अमेरिकामा गाडीले छोडेर हराउँदाको क्षण निकै चाख लाग्दा छन् ।

साइन्स पढे पनि डा. श्रेष्ठको केही हदसम्म अध्यात्ममा झुकाव देखिन्छ । उहाँले ‘मेरो जीवनको गाइड बुक गीता नै हो’ भनेर ठोकुवा गर्नुभएको छ । शायद उहाँले ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात् कर्तव्य गर तर फलको आशा नगर’ भन्ने गीताको बचनलाई शिरोपर गर्न खोज्नुभएको हो कि ! उहाँले लेख्नुभएको छ, ‘कर्तव्य पूरा गर्दा आनन्द आउँछ ।’

डा. श्रेष्ठका विशेष गरी मानसिक स्वास्थ्यसम्बन्धी झन्डै एक दर्जन पुस्तक प्रकाशित भइसकेका छन् । साथै विभिन्न रिसर्च रिपोर्ट र अनुसन्धानमूलक लेखहरु पनि लेखिसक्नुभएका डा. श्रेष्ठका कृतिहरूले मानसिक स्वास्थ्यप्रति जनचेतना जगाउन, दुव्र्यसनहरूबाट टाढा रहन तथा अन्य जीवनोपयोगी एवं व्यावहारिक पक्षहरूमा जोड दिएको पाइन्छ । अन्त्यमा झन्डै एक सय पृष्ठचाहिँ डा. श्रेष्ठको जीवनसँग सम्बन्धित रङ्गीन तस्वीरहरुले पुस्तकलाई सजीव तुल्याएको छ ।

स्वास्थ्य उपचारमा विद्यमान समस्या र मानसिक स्वास्थ्य सेवालाई सुदृढ गर्ने उपायहरुका बारेमा विस्तृतरुपमै उल्लेख गरिएकाले यो पुस्तक नीति निर्माताहरुसमेतका लागि सहयोगीसिद्ध हुने देखिन्छ । डा. श्रेष्ठ आफैँमा सृजित स्वास्थ्य समस्याहरु र तिनको कसरी उपचार गरियो भन्ने कुरा समस्त पाठकका लागि शिक्षाप्रद नै देखिन्छ ।
तेह्रथुम जिल्लाको म्याङ्लुङमा वि.सं. २००४ मा जन्मनुभएका डा. निराकारमान श्रेष्ठका खारिएका अनुभवहरु समेटिएको यो पुस्तक उपशीर्षकहरुसहित १६५ शीर्षकमा विभक्त छ । हार्ड कभरमा सजिएको ४ सय पृष्ठको यो पुस्तकको सम्पादन लेखक एवं वरिष्ठ पत्रकार लक्ष्मण अधिकारीबाट भएको हो । साथै प्रकाशन डा. कोकिला श्रेष्ठ र लेआउट–डिजाइन लामा क्रिएटिभ्सका नेगेन्द्र एन्ड लिना लामा स्याङ्बोबाट भएको हो ।