लमजुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु  

1.41k
Shares

लमजुङ। 

लमजुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । बेसीशहर नगरपालिकाको अगुवाइमा जिल्ला प्रहरी कार्यालय, एकीकृत सेवा कार्यालय, नगरपालिका स्तरीय महिला सञ्जाल, वर्ल्ड  भिजन इन्टरनेश्नल नेपाल, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि), सञ्चारिका समूह लमजुङ र कोशिश नेपाल लमजुङको संयुक्त आयोजनामा मनाङ्गे चौताराबाट भिमसेन स्थान हुँदै जिल्ला समन्वय समिति सभाहलसम्म र्‍याली निकालिएको  थियो ।

कार्यक्रम मंगलबार बेसीशहर नगरपलिका उपप्रमुख पदमा गुरुङको अध्यक्षता एवं नगरप्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायको भूमिका निर्णायक हुने उल्लेख गर्दै सबै निकायको सहकार्य अपरिहार्य भएको बताए  । 

उपप्रमुख गुरुङले परिवारदेखि समुदायसम्म चेतना बनाइ एकीकृत रुपमा अभियान अघि बढाउनुपर्नेमा जोड दिँदै नगरपालिकाले यसलाई निरन्तर प्राथमिकतामा राख्ने बताइन् ।

नगरपालिकाका कार्यक्रम संयोजक मेघेन्द्र घिमिरेले सञ्चालन गरेको  कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले स्वागत मन्तव्य राख्दै अभियानको उद्देश्य र यसको महत्वबारे जानकारी गराएका थिए ।

 उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र डाँगी र कृष्ण विश्वकर्माले लैङ्गिक हिंसा र साइबर सुरक्षा तथा डिजिटल साक्षरता सम्बन्धित प्रशिक्षण दिएका थिए । मंसिर ९ गते देखि (२५ नोभेम्बर देखि १० डिसेम्बर २०२५) सम्म लैङ्गिक हिंसा सम्बन्धी परिसम्बाद कार्यक्रम, सूचनामूलक सन्देश जिङगल अन्तरवार्ता, आत्मरक्षा सम्बन्धी तालिम, प्रतिबद्धता पत्रमा अस्ताक्षर कार्यक्रमहरु गरिने भएको छ । 

कार्यक्रममा लमजुङका विभिन्न आमा समूहका प्रतिनिधिहरु, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरु, जिल्लामा क्रियशिल संचारकर्मीहरुको सक्रिय उपस्थिति रहेको थियो ।