तातोपानी पलाएसँगै नुहाउनेको भीड

3.76k
Shares

रसुवा । रसुवा जिल्लाको आमाछादिङमो गाउँपालिका वडा नम्बर ५ मा अवस्थित पुरानो तातोपानी २०७२ को भूकम्पले सुकाएपछि शून्यता छाएको थियो । उक्त ठाउँमा पुनः तातोपानीको मूल पलाएपछि दैनिकजसो ३५ जनाको हाराहारीमा मानिसहरू नुहाउन पुग्ने गर्छन् । अहिले त्यहाँका ६ वटै धारामा पानी आउँछ । भूकम्पपछि पटक–पटक सुक्दै, पलाउँदै गरेको थियो ।


‘करिब एक महिना भयो त्यहाँ तातोपानी आएको, अहिले दिन–प्रतिदिन पानी तातिरहेको छ’, स्थानीय नोर्चेल तामाङ बताउँछन् । उनी थप्छन्, ‘अबका दिनमा नसुक्ला कि भन्ने आशा छ ।’

तातोपानीमा नुहाउन पुगेकी रसुवा मावि, धुन्चेकी मिस बिना लामा बताउँछिन, ‘हामी शिक्षकको टिम नै नुहाउन आएका छौं । दैनिकजसो ३५ जना हुन्छन् । यहाँ नुहाएपछि खटिरा, दम, गानोगोला, बाथ, चर्मरोग निको हुने धार्मिक तथा सांस्कृतिक विश्वास रहेको छ । त्यसैले शरीर स्वस्थ होस् भनी हाम्रो टिम पनि नुहाउन आएका हो ।’

समुद्री सतहबाट करिब २ हजार ६ सय ४५ मिटरको उचाइमा रहेको आमाछादिङमो गापाको तातोपानी कुण्ड पुनः पुरानै लयमा फर्किएकोले गुमेको व्यवसाय फर्किने आशा पलाएको त्यहाँका व्यवसायीहरू बताउँछन् । हुन पनि अब त्यहाँको तातोपानी सुकेन भने नुहाउन जानेहरुको भीड बढेर स्थानीय व्यवसायीहरुको आय–आर्जनसमेत बढ्न सक्छ ।