जेनजी आन्दोलन छानबिन प्रतिवेदन : दुई एसपी भागेपछि दश गुणा आन्दोलनकारी बढ्दा विध्वंस

22.56k
Shares

कास्की । माओवादी द्वन्द्वकालमा समेत पोखरामा नागरिकमा त्यति त्रास थिएन होला जति जेनजी आन्दोलनमा गत भदौ २४ गते भयो । दशबर्से सशस्त्र द्वन्द्वकालमा समेत क्षति नपुगेका पोखराका सुरक्षा निकायमा भदौ २४ गते असर पुग्यो । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेनजी आन्दोलनले कास्कीमा ठूलो क्षति पु¥यायो । काठमाडौंपछि सबैभन्दा बढी क्षति पोखरामा भयो । भदौ २४ गते बिहानैबाट सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी एकाएक पछि हटेपछि विध्वंस निकै मच्चियो ।


पोखरामा ठूलो क्षति हुनुमा दुई एसपी भाग्नु मुख्य कारण रहेको भेटिएको छ । सुरक्षा निकाय स्रोतका अनुसार कास्कीमा भएको क्षतिपश्चात् गरिएको अध्ययनले सुरक्षा निकायमा कमजोर नेतृत्व भएका कारणले ठूलो क्षति भएको निष्कर्ष निकालेको छ ।
छानबिन समिति सदस्य एवम् प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माको निष्कर्षअनुसार पोखरामा सुरक्षा निकायको कमजोर नेतृत्व र सामाजिक सद्भाव तथा मेलमिलापको अभाव मुख्य कारण रहेको स्रोतले जानकारी दिएको छ । भदौ २४ गते न्युरोडस्थित पोखरा महानगरपालिकामा आन्दोलनकारी र प्रहरीबीच सामान्य धक्कामुक्की भएको थियो । सशस्त्र र प्रहरीले आन्दोलनकारीलाई चिप्लेढुंगातर्फ लखेटेपछि प्रहरी त्यहाँबाट हटेको थियो ।

उनको निष्कर्षमा भनिएको छ– पोखरामा फिल्डमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता भएको हल्ला सामाजिक सञ्जालमा फैलिएसँगै अचानक आन्दोलनकारीको संख्या अन्दाजी दश गुना बढ्न गई आगजनी तथा तोडफोडमा उत्रिएका थिए । जिल्ला कमान्ड गर्नेहरुको हर्कतले फिल्डमा खटिने सुरक्षाकर्मीहरुको मनोबल एकदमै खस्किएको र उनीहरुलाई समेत आ–आफ्नो कार्यालयमा फिर्ता जानू भनी सञ्चारसेटबाट आदेश आएको थियो । सुरक्षा समितिको कमान्ड पोस्ट जिल्ला प्रशासन कार्यालयमा रहेको थियो ।

काठमाडौंमा प्रहरी कार्यालयलगायत देउवा निवास आन्दोलनकारीले कब्जामा लिएको खबर प्राप्तपश्चात् तत्कालै सेना परिचालन आदेश नभएको गणपतिले बताएसँगै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, उप–अनुसन्धान निर्देशक मोहन कुँवर र जिल्ला प्रहरी कार्यालय प्रमुख श्यामबाबु ओलिया नेपाली सेनाको फुलबारीस्थित गणमा शरण लिन पुगेका थिए ।

बिहानैदेखि जिल्ला सुरक्षा समितिको कमान्ड पोस्ट सिडियो कार्यालयमा रहेको र काठमाडौं उपत्यका प्रहरी कार्यालयलगायत देउवा निवास आन्दोलनकारीले कब्जामा लिएको खबर प्राप्त हुनासाथ र तत्कालै सेना परिचालन हुने आदेश नभएको सेनाको गणपतिले बताएसँगै प्रजिअ रुद्रादेवि शर्मा, उप–अनुसन्धान निर्देशक र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया नेपाली सेनाको फुलबारी गणमा शरण लिन पुगेका थिए ।

उता सशस्त्र प्रहरीबल कालिका गणका इन्चार्ज सहायक प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना पनि आफ्नो गण मालेपाटन नगई नजिकै रहेको सशस्त्र प्रहरीको डीआईजी कार्यालय मुक्तिनाथ बाहिनीमा पुगेका कारण फिल्डमा खटिएका प्रहरीहरु अन्योलमा परेका थिए । उनीहरुलाई आ–आफ्नो कार्यालय फर्कन सञ्चार सेटमा आदेश भएपश्चात् उक्त कुरा आन्दोलनकारीले थाहा पाएको स्रोतले बतायो । स्रोतका अनुसार फिल्डमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता भएको कुरा सामाजिक सञ्जालबाटै आन्दोलनकारीबीच पुगेको थियो । जसका कारण सडकमा दश गुणा आन्दोलनकारीको संख्या बढेको कुरा प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।

प्रहरी फिर्ता भएलगत्तै पोखराका सरकारी कार्यालयमा आगजनी शुरु भएको थियो । प्रहरीको आन्तरिक अनुसन्धानमा समेत यो निष्कर्ष निकालिएको स्रोत बताउँछ । स्रोतका अनुसार कास्कीमा दक्ष प्रहरीहरु भए तापनि दुई एसपीको कमजोरीका कारण सुरक्षामा खटिएका सबै प्रहरी मुकदर्शक मात्रै बन्न पुगेका थिए ।

यस्तै प्रतिवेदनमा कुसल प्रहरी कमान्डर, परिपक्व प्रहरी कर्मचारीहरु तथा छिमेकी जनतासँगको राम्रो सम्बन्धका कारण वडा प्रहरी कार्यालय बैदाम, रामबजार र इलाका प्रहरी कार्यालय शिशुवा डाडाको नाकमा लुटपाट, तोडफोड तथा आगजनी नभएको उल्लेख गरिएको छ ।

प्रतिवेदन निष्कर्षअनुसार जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरमा सानो संख्यामा पुगेका आन्दोलनकारीले बन्दुक, गोलीगठ्ठा र बर्दी लुट्नुका साथै आगजानी गरेका थिए । सुरक्षा निकायहरुबीचको समन्वय अभाव, परिपक्व नेतृत्वको अभाव, सडक तथा महत्वपूर्ण भवनहरुबाट सुरक्षाकर्मी हटाइनु, छिमेकी एवं नागरिक समाजसँगको सुमधुर सम्बन्धको अभाव र अराजकताविरुद्ध जनता, समाजसेवी, नागरिक समाजको मौनता नै पोखरामा काठमाडौंपछि बढी क्षति हुनुको मुख्य कारण रहेको उल्लेख भएको स्रोत बताउँछ ।

अहिले दुई एसपीको प्रहरीभित्रै निकै आलोचना भइराखेको छ । एसपी श्यामबाबु ओलियाको सरुवा भइसकेको छ । उनको स्थानमा अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको कमान्ड नवीन कार्कीले सम्हालेका छन् । सशस्त्रको भने सरुवा भएको छैन ।
‘सिडियो जिल्ला कमान्ड पोस्ट छाडेर हिँडेका हुन् । आदेश पनि केही दिएनन् । आदेश आएको भए हामीले जोगाउन सक्थ्यौं । गोली हान्ने आदेश थिएन तर ड्युटी र समन्वय गर्न त सकिन्थ्यो नि ? समन्वयसमेत नगरी, केही आदेश नदिई लुकेपछि यो अवस्था भएको हो’, स्रोतले भनेको छ । स्रोतका अनुसार भदौ २४ गते ११ बजेपछि ड्युटीमा रहेका सबै प्रहरीलाई कार्यालय वापसी बोलाएर दिनभर भित्रै राखिएको थियो । उक्त दिन जिल्ला प्रशासन कार्यालय कास्कीले विहान १० बजेपछि कफ्र्यु आदेशसमेत जारी गरेको थियो ।