नेपालमा ऊर्जा विकासको सम्भावना र अवस्था

846
Shares

नेपालको जलविद्युत् क्षेत्रको सम्भावना अथाह छ । प्राकृतिक जलस्रोतहरुको भरपुर उपयोग गर्दै यस क्षेत्रले मुलुकको समृद्धिमा योगदान पु¥याउन सक्छ । जसरी खाडीका देशहरु आफ्ना तेल सम्पदाको सदुपयोग गरेर आफूलाई आधुनिक धन–कुवेरको रुपमा विकसित गरेका छन्, त्यसरी नै नेपालले पनि आफ्नो जलसम्पदाको सदुपयोग गरेर नेपालको पानीलाई ‘वाटर डलर’ को रुपमा परिणत गर्न सक्छ । यदि खाडीका देशहरु कच्चा तेलको उपयोग गरेर ‘पेट्रो डलर’ कमाउन सक्छन्, हामी पनि आफ्नो जलसम्पदालाई ‘वाटर डलर’ को रुपमा विकसित गर्न सक्छौं ।

अध्ययनअनुसार नेपालमा जलविद्युत् उत्पादनको क्षमता ८५ हजार मेगावाटको आसपास रहेको छ । उत्पादन क्षमतामध्ये हाल करिब ८–१० प्रतिशत विद्युत्को उपयोग भइरहेको छ । विश्वका अन्य देशहरुको तुलनामा नेपालललाई जलविद्युत्को क्षेत्रमा महत्वपूर्ण स्थान प्राप्त छ, जसका कारण भारतजस्ता मुलुकका ठूला लगानीकर्ताहरुको चासोसमेत नेपालतिर वृद्धि भइरहेको छ । भारतको सन्दर्भमा हेर्ने हो भने, ऊर्जा आवश्यकतालाई पूरा गर्न उसले थर्मल पावर, कोयला, सौर्य ऊर्जा र नवीकरणीय ऊर्जाको पनि उपयोग गरिरहेको छ तर जलविद्युत् स्रोतहरुलाई उसले बढी महत्व दिएको छ ।

भारतको कुल ऊर्जा उत्पादनमा जलविद्युत् एक प्रमुख हिस्सा हो । उपयुक्त जलस्रोत र प्रविधिहरुको कारण यो सम्भव भएको हो । यसको ठीक विपरीत हाम्रो देशले जलविद्युत्को विशाल सम्भावनालाई छोडेर अझै पनि आंशिक उपयोग गरिरहेको छ । हाम्रो देशको जलविद्युत् क्षेत्र अझै विकासको प्रारम्भिक चरणमा छ । तथापि ऊर्जा क्षेत्रको सदुपयोग गरेर हामी धनी हुन सक्ने अवस्था छँदै छ । विगत केही वर्षयता दक्षिणी भारतसँगको द्विपक्षीय ऊर्जा व्यापारमा नेपाल नाफाको अवस्थामा रहनु यसको ठोस प्रमाण हो ।

नेपाल जलविद्युत्को ठूलो उत्पादनकर्ता हुन सक्छ भने भारतजस्तो विशाल बजार भएको देश यसको खरिदकर्ता हुन सक्छ । नेपालमा आएर बिजुलीको उत्पादन जसले गरे पनि बजार भनेको भारत नै हो । भारतले आगामी १० वर्षमा नेपालसित १० हजार मेगावाट बिजुली खरिद गर्ने विधिवत् सम्झौता नै भइसकेको छ ।जलस्रोतभित्र केवल बिजुली मात्रै आउँदैन । यसभित्र खानेपानी, सिंचाइ र नदी नियन्त्रणजस्ता विषय पनि आउँछन् । अहिले पनि कतिपय ठाउँमा खानेपानीको अभाव रहेको पाइन्छ । सिंचाइको पर्याप्त व्यवस्था नभएकै कारण नेपाली किसानहरुले चाहेजतिको कृषि उत्पादन गर्न सफल भइरहेका छैनन् । नदी कटानको समस्यावाट पनि केही ठाउँका जनता पीडित छन् ।

जलस्रोत उपभोग भएमा स्वतः नै उपरोक्त समस्याको समाधान हुनेछ ।नेपालमा हालसम्म जलविद्युत् क्षेत्रमा उल्लेखनीय प्रगति हुन नसक्नुका कतिपय कारणहरु छन् । आवश्यक पूर्वाधार र प्रशासनिक जटिलताका कारण पनि विदेशी लगानीकर्ताहरु खुशीसाथ नेपाल आउन चाहँदैनन् । जलविद्युत् परियोजनाहरुको निर्माणमा वनजंगलको समस्या, वातावरण संरक्षणको नाममा आवश्यकताभन्दा बढी समस्या तेस्र्याउने प्रवृत्ति, सहज ढंगले जग्गा प्राप्ति हुन नसक्ने अवस्था चुनौतीका रुपमा रहेका छन् । राजनीतिक अस्थिरताको असर स्वाभाविकरुपमा नै देशको विकासमा पनि पर्ने गर्दछ । मजदुर हडताल तथा अनावश्यक आन्दोलनको सर्वाधिक असर औद्योगिक विकासमाथि पर्ने गर्दछ । उपरोक्त जटिलताहरुको समाधान गरेर लगानीकर्तालाई तनावमुक्त वातावरण उपलब्ध गराइनु आवश्यक छ ।

जलविद्युत् क्षेत्रमा लगानी गर्न सुरक्षित र अनुकूल नीतिगत वातावरणको अभावका कारण विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न अगाडि नसरेका हुन सक्छन् । भारतीय व्यावसायिक लगानीकर्ताहरुले नेपालमा लगानी गर्नका लागि नीतिगत सुरक्षा र प्रतिफलको सुनिश्चितता खोजिरहेका छन् । विगत केही वर्षयता नेपालले वैदेशिक लगानी भित्र्याउन लगानीमैत्री वातावरणको निर्माण गर्न लागेको छ ।

करिब एक दशकअघि भारतसँग विद्युत् विकास सम्झौता र विद्युत् व्यापार भएपछि नेपालको ऊर्जा व्यापारमा प्रगति भइरहेको छ । भारतसित बिजुलीको खरिद–बिक्रीका लागि प्रसारण लाइनको निर्माण र विस्तार आवश्यक भएको थियो । जबकि प्रसारण लाइनको निर्माण तीव्र गतिमा भइरहेको छ, यस्तोमा भारतीय लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न उत्साही भएका छन् । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय कम्पनी सतलज जलविद्युत् निगमले २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्दा आइपरेका समस्याहरुको समाधानका पनि सरकारले आवश्यक सहयोग गरेको हो । यसले नेपालमा भारतीय लगानीकर्ताहरुको विश्वास जगाउने काम गरेको हुँदा उनीहरु उत्साही देखिन्छन् ।

भारतको अडानी समूहजस्तै ठूला कम्पनीहरुले पनि नेपालमा जलविद्युत् परियोजनामा लगानी गर्ने इच्छा प्रकट गरेका छन् । नेपालको जलविद्युत् क्षेत्रमा विश्वका ठूला लगानीकर्ताहरुको आकर्षण बढ्दै जानु सकारात्मक संकेत हो । क्षमताअनुसार जलविद्युत्को उत्पादन हुन सक्यो भने हाम्रो देश ऊर्जा आपूर्तिको केन्द्र बन्न सक्छ । यसको लागि गहन रणनीतिक योजना र राजनीतिक स्थिरता आवश्यक छ ।

गरिबी एवं बिजुलीको खपतबीच गहिरो सम्बन्ध छ । जुन ठाउँमा बिजुलीको खपत बढी हुन्छ, त्यहाँ गरिबी अन्त्य हुने अवस्थामा पुगिसकेको हुन्छ तर जहाँ बिजुलीको अभाव हुन्छ, त्यहाँ गरिबीको अँध्यारो व्याप्त रहेको मानिन्छ । वर्तमानको सूचना–प्रविधिको युगमा बिजुलीको पर्याप्त उपलब्धताविना त सहज जीवनको कल्पना पनि गर्न सकिँदैन । हाम्रो देश विकासको मामिलामा पछाडि पर्नुको एउटा ठूलो कारण देशमा विद्युत्को ठूलो संकट हुनु पनि थियो । विगत एक दशकदेखि देशको विद्युत् अवस्थामा अप्रत्याशित ढंगले सुधार भइरहेको छ । केही असहज परिस्थितिका कारण यदाकदा लोडसेडिङका घटना देखिए पनि यथार्थमा देश लोडसेडिङबाट मुक्त भइसकेको मान्नुपर्दछ ।

एक दशकअघि जारी भएको एक अध्ययन प्रतिवेदनअनुसार नेपालले केही वर्षभित्रमै १३ हजार किलोवाट विद्युत् निर्यात गर्न सक्नेछ । सन् २०४५ सम्म बिजुली बेचेर नै नेपालले प्रतिवर्ष एघार खर्ब जति रुपैयाँ कमाउन सक्नेछ । यस अध्ययन प्रतिवेदनले नेपालका राजनीतिक दलहरु र नीति निर्माताहरुलाई यस दिशामा ध्यान केन्द्रित गर्न प्रेरित गरेको हुनुपर्छ । विगत एक दशकदेखि नेपालका प्रायः सबैजसो सरकारहरुले देशको ऊर्जा विकासमा सार्थक भूमिकाको निर्वाह गर्दै आएको छ । दृढ इच्छाशक्ति, विकासप्रति प्रतिबद्धता एवं प्रस्ट दृष्टिकोण भएमा अध्ययन प्रतिवेदनले मूर्तरुप लिने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति हुन मनग्गे डलर आवश्यक देखिन्छ । त्यसको निम्ति देशभित्रकै लगानी पर्याप्त हुन सक्दैन । विदेशी लगानी भित्र्याउनुपर्नेछ । हाम्रो देशमा पहाडी क्षेत्रको निम्ति ऊर्जा, पर्यटन, जडीबुटी तथा तराईका क्षेत्रमा कृषि एवं उद्योगमा पर्याप्त मात्रामा स्वदेशी र विदेशी लगानीको आवश्यकता छ ।

हामी भविष्यको निम्ति एउटा यस्तो ऊर्जा शक्तिले सम्पन्न नेपालको कल्पना किन गर्न सक्दैनौं, जहाँ दुई रुपैयाँ प्रतियुनिटमा बिजुली उपलब्ध हुन सकोस् ? हामी आफ्नो इच्छाअनुसार विद्युत् खर्च गर्न सकौं । देशमा लोडसेडिङ नहोस् । व्यापार घाटा पनि देशले भोग्नु नपरोस् तथा जीडीपीको मामिलामा हाम्रो अवस्था दक्षिण एसियामा सबैभन्दा बढी होस् । हामी नेपाली आफ्नो घर, कार्यालय, कारखानाका साथै खाना पकाउनमा र गाडी गुडाउनमा समेत यसैको खपत गर्न सकौं, त्यो पनि साह्रै न्यून मूल्यमा ।

यसबाट प्रदूषण पनि समाप्त भएर जानेछ तर उपरोक्त सबै कार्यको निम्ति एउटै समाधान हो जलस्रोतको सदुपयोग । बितेको ६ दशक फर्केर आउने होइन । वर्तमान हामीसँग छ तथा भविष्यका निम्ति हामी योजना बनाउन सक्छौं । देश र जनताको जीवनमा आमूल परिवर्तन ल्याउने, जनताको जीवनस्तर उकास्ने, देशलाई सुदृढ बनाउने तथा देशलाई अँध्यारोबाट पूर्णतः उज्यालोतिर लैजाने नीति नै राष्ट्रहितमा मानिन्छ । दक्षिण एसियाकै एउटा सानो र गरिब देश भुटानले आफ्नो जलसम्पदाको सदुपयोग गरेर नै आफ्नो देशलाई प्रगतिको बाटोमा डो¥याएको छ । प्रतिव्यक्ति आयको मामिलामा भुटान सार्कमा अग्रणी देशको रुपमा छ । हामीले पनि आफ्नो जलसम्पदाको सदुपयोग गर्न सक्नुपर्छ ।