चुनौती र संकटका चाङबीच नयाँ मुख्य सचिवमा सुमनराज अर्याल

१ लाख कर्मचारीको वास्तविक अभिभावक बन्न सक्लान् ?

1.97k
Shares

काठमाडौं ।

सरकारले निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिवमा वरिष्ठ सचिव सुमनराज अर्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयताक्रममा १ नम्बरमा रहेका रक्षा मन्त्रालयका सचिव अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको हो । हालका मुख्य सचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलवार रातीदेखि नै अवकाशमा जानुहुनेछ । सुमनराज अर्याललाई सरकारले बुधबारदेखि लागू हुने गरी नयाँ मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जानकारी दिनुभयो ।

जेन–जी आन्दोलनपछि देशमा देखा परेका विभिन्नखाले संकटहरूलाई समाधान गर्दै अघि बढ्नुपर्ने र प्रधामन्त्री सुशीला कार्कीको वास्तविक र असल सल्लाहकारको रूपमा स्थापित हुनुपर्ने चुनौती नवनियुक्त मुख्य सचिव अर्यालको काँधमा छ । साथै झण्डै १ लाखको संख्यामा रहेका निजामती कर्मचारीहरूको वास्तविक र असल अभिभावक बन्नुपर्ने देखिएको छ । आफ्ना अग्रजका रूपमा रहनुभएका हालका मुख्य सचिव एकनारायण अर्यालले प्रशासन सुधारका लागि चाल्नुभएका महत्वपूर्ण कदमलाई सफल बनाउनुपर्ने थप दायित्वसमेत नयाँ मुख्य सचिवको काँधमा आएको छ ।

हालका मुख्य सचिव अर्यालले सरकारका विभिन्न निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन, सुशासन र विकासका अभियान सञ्चालन गर्न २९ वटा कानुनी सुधारका कार्यहरू गर्नुभएको थियो । त्यसलगायत उहाँले थाल्नुभएका व्यापक सुधार अभियानलाई समेत आधार मान्दै अबको मुख्य सचिव अघि बढ्न सकेमा सफलता मिल्न सक्ने विश्वास गरिएको छ ।

२०५३ साल वैशाख १९ गते तथ्यांक अधिकृतबाट सेवा प्रवेश गरेका नयाँ मुख्य सचिव अर्याल साढे २९ वर्षपछि निजामती सेवाको सर्वोच्च पदमा पुग्न सफल हुनुभएको हो । २०६६ साल वैशाखमा उपसचिवमा बढुवा हनुभएका अर्याल २०६८ माघमा सहसचिव बन्नुभएको थियो । उहाँ २०७७ माघ १९ गते सचिवमा बढुवा हुनुभएको थियो ।

निजामतीमा प्रवेश गरेपछि तथ्यांक विभागमा काम गर्नुभएका अर्यालले महालेखा नियन्त्रक हुँदै विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ ।कोसी प्रदेशको प्रमुख सचिव, सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री कार्यालयको सचिव, राष्ट्रिय योजना आयोगको सचिव हुँदै रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी अर्यालले सम्हालिनुसक्नुभएको छ ।

काठमाडौंको जोरपाटी स्थायी घर भएका अर्यालले एमएस्सीसम्मको अध्ययन गर्नुभएको छ । अर्याल २०८३ असार २६ गतेसम्म मुख्य सचिवको रूपमा रहनुहुनेछ । त्यसपछि उहाँ ५८ वर्षे उमेर हदका कारण सेनानिवृत्त हुनुहुनेछ । मुख्य सचिवको प्रतिस्पर्धामा अन्य तीन सचिवहरू रहेका थिए । अर्यालसँगै प्रतिस्पर्धामा रहनेहरूमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी मधुसूदन बुर्लाकोटी रहनुभएको थियो । सबै प्रतिस्पर्धीलाई पछि पार्दै अर्यालले मुख्य सचिवमा बाजी मार्नुभएको हो ।


आमकर्मचारीको मनोबल उच्च बनाउँदै अघि बढ्छु : मुख्य सचिव अर्याल

नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले आफु आमकर्मचारीको मनोबल उच्च बनाउँदै कुशल अभिभावक बन्न हरपल प्रयासरत रहने बताउनुभएको छ । ‘अहिले कर्मचारीको मनोबल गिरेकाले सबै कर्मचारीको मनोबल उच्च बनाउने गरी र परिणाम दिने गरी कार्यथलोमा जुट्नेछु ।

’ मुख्य सचिवमा नियुक्त भएपछि नेपाल समाचारपत्रसँग संक्षिप्त प्रतिक्रिया दिदै मुख्य सचिव अर्यालले भन्नुभयो । मुख्य सचिव अर्यालले आफु सधै टिमवर्कमा काम गर्ने, निजामती प्रशासनलाई व्यवसायिक बनाउने, प्रविधियुक्त बनाउने र आम जनताको हीतमा समर्पित बनाउने विशेष कार्ययोजनाका साथ अघि बढ्ने बताउनुभयो ।

उहाँले सरकारको मुख्य काम २१ फागुनमा तोकिएको निर्वाचन सम्पन्न गराउनु भएकाले त्यसलाई सफल पार्नका लागि सम्पुर्ण कर्मचारीलाई तनमन दिएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले विगतमा थालनी भएका राम्रा कार्यलाई प्रभावकारी रुपमा अघि बढाउन कुनै कसर नराखिने दृढता व्यक्त गर्नुभयो ।

जेन–जी आन्दोलनपछि राज्य संयन्त्र पुनर्जीवित गर्ने थप दायित्व

देश जेन–जी आन्दोलनको आगो र धुवाँबाट निस्किँदैछ । सिंहदरबारदेखि मन्त्रालयका संरचना तथा अन्य कैयौं सरकारी कार्यालयहरू जलेका छन् । हालका मुख्य सचिव एकनारायण अर्यालले राज्यसंयन्त्रलाई पुनर्जीवन दिन थाल्नुभएका महत्वपूर्ण प्रयासलाई निरन्तरता दिँदै पूरा गर्नुपर्ने दायित्व उहाँको काँधमा छ । कर्मचारीतन्त्रको मनोबल इतिहासमै न्यून रूपमा झरेको अवस्थामा उहाँले कर्मचारीको मनोबल बढाउनुपर्ने जिम्मेवारी पाउनुभएको छ । सुशीला कार्की नेतृत्वको सरकारलाई सार्वजनिक प्रशासनमा व्यापक सुधार, सुशासन पुनःस्थापना र जनविश्वास उठाउने अभियान चलाउन सक्ने बनाउने खुबी नयाँ मुख्य सचिव अर्यालले राख्नुपर्ने देखिएको छ ।

जेन–जी आन्दोलनले राज्यका महत्वपूर्ण संरचनाहरू क्षतिग्रस्त छन्, हजारौँ कर्मचारी झस्किएको मनोबलका साथ कार्यालयमा कार्यरत छन् यही अवस्थाबाट देश उठाउनु मुख्य सचिव अर्यालको पहिलो परीक्षा हुनेछ । क्षतिग्रस्त संरचनाको द्रुत पुनर्निर्माण, कार्यप्रवाहलाई अनलाइन–केन्द्रित बनाउने, कर्मचारीको कामबाट आम नागरिकमा आशा जगाउन सक्ने गरी आवश्यक कार्यसंस्कृतिको विकास गर्नुपर्ने दायित्व उहाँमा छ ।

जेन–जी आन्दोलनको मूख्य नारा नै सुशासन भएकाले नयाँ मुख्य सचिवले शासनको जग निर्धारण गर्ने ‘की–आर्किटेक्ट’ बनाउनुपर्ने आवश्यकता बढेर गएको छ । कर्मचारीमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, सेटिङ–सिन्डिकेट र गलत कार्यशैलीको रोगले जनता थकित भइरहेकाले अब अर्यालले राजनीतिक हस्तक्षेप हटाएर प्रशासनलाई तटस्थ बनाउन अत्यधिक मिहिनेत गर्नुपर्नेछ भने वर्षौँदेखि दलगत तथा सोर्सफोर्समा र कोटामा हुने गरेका सरुवा र पदस्थापनमा वैज्ञानिक पद्धति र तटस्थताको नीति अख्तियार गर्नुपर्नेछ । उहाँले हरेक प्रकारका सरुवालाई अनुमानयोग्य बनाउनुपर्ने, ‘कर्मकाण्डी प्रशासन’ लाई बदल्न कार्यसम्पादनमा–आधारित मूल्यांकन प्रणाली कार्यान्वयन गर्नुपर्ने आमकर्मचारीको अपेक्षा छ ।

यसै गरी नयाँ मुख्य सचिवले भ्रष्टाचार नियन्त्रणमा कडा हात पार्दै फाइल अड्याएर, काम अल्झाएर आम नागरिकलाई दुःख दिने प्रचलन अन्त्य गर्ने ‘सिरियस मोड’मा जानुपर्ने अवस्था छ । वर्षौँदेखि दैनिकी बनेको चाप्लुसी आधारित ‘कर्मचारी संस्कृति’ प्रशासनको सबैभन्दा ठूलो रोगका रूपमा रहेकाले कर्मचारीतन्त्रमा युगान्तकारी सुधारको लागि चाप्लुसी र चाकडी प्रथालाई अन्त्य गरिनुपर्ने दायित्व नयाँ मुख्य सचिव अर्यालको काँधमा छ ।

उहाँले अब योग्यता र दक्षताका आधारमा पदस्थापन गर्नुपर्छ भने काम नगर्ने, ढिलाइ गर्ने, जिम्मेवारी पन्छाउने प्रवृत्तिविरुद्ध कडा निगरानी गर्नुपर्छ । यसै गरी प्रेरणा जगाउने, कामको मूल्यांकन र पुरस्कार–दण्ड प्रणाली कडाइका साथ लागू गर्नसक्नुपर्छ । सरकार निर्वाचनमा होमिएको अवस्थामा प्रशासन र सुरक्षाको समन्वय सशक्त बनाएर शान्ति सुरक्षा पूर्ण रूपमा प्रत्याभूत गराउन सक्नुपर्छ ।

नयाँ मुख्य सचिव अर्यालले चुनाव सुरक्षाको रणनीति बनाउने, प्रशासन–सुरक्षा निकायबीच एकीकृत कमान्ड संरचना प्रभावकारी बनाउने, अर्को आन्दोलन नहुने वातावरण निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि अब अर्यालकै नेतृत्वमा पर्छ । जेन–जी आन्दोलनले दिएको अर्को सन्देश स्पष्ट छ—यो प्रशासन बदलिनैपर्छ, अबको ढिलाइ सह्य हुँदैन । त्यसैले नयाँ मुख्य सचिव अर्यालले समग्र प्रणालीलाई ट्रयाकमा ल्याउने, कर्मचारीप्रतिको विश्वास अभिवृद्धि गर्ने, सुशासन स्थापित गर्ने, राष्ट्रको दीर्घकालीन भविष्यलाई समुज्ज्वल बनाउने गरी ऐतिहासिक कार्यको थालनी गर्नुपर्ने दायित्व बढेर गएको छ । उहाँको अवधि छोटै भए पनि अहोरात्र मिहिनेत गर्न सकेमा टिममा काम गर्न सकेमा र अग्रजहरूले थालेको कार्यलाई अघि बढाउन सकेमा उहाँ सफल हुन सक्ने आशा गरिएको छ ।

अग्रज मुख्य सचिव एकनारायणले थाल्नुभएका कामलाई मूर्त रूप दिनुपर्ने

नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले अग्रज हालका मुख्य सचिव एकनारायण अर्यालले थालेका महत्वपूर्ण कार्यहरूलाई मूर्त रूप दिन सके उहाँलाई सफलता हासिल गर्न सहज हुने देखिएको छ । हालका मुख्य सचिव अर्यालले आफ्नो १५ महिनाको कार्यकालमा निकै महत्वपूर्ण कार्यहरू गर्नुभएको छ । उहाँले नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरण गर्नुभएको थियो ।

ती सुधारका विषयलाई नयाँ मुख्य सचिवले निरन्तरता दिँदा उहाँ सफल हुन सक्ने देखिएको छ । उहाँले अनुपयुक्त कार्यविधि र मापदण्डको खारेजी गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने प्रयास थाल्नुभएको थियो । यसै गरी सहकारी क्षेत्रमा देखा परेका समस्या समाधान गर्न प्राधिकरण गठन, एकीकृत समाजिक सुरक्षा कार्यक्रमका लागि जैविक डाटा उपयोग, मुलुकलाई ग्रे लिस्टबाट मुक्त गर्न शीघ्र सुधारको क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहको लागि विद्युतीय प्रणालीको उपयोग, अन्तर्राष्ट्रिय सहभागितासहितको सगरमाथा संवाद कार्यक्रमको सहजीकरणजस्ता महत्वपूर्ण कार्यहरू एकनारायणले थालनी गर्नुभएको थियो त्यस्ता कार्यलाई नयाँ मुख्य सचिवले निरन्तरता दिँदै अझै परिष्कृत गर्दे अघि बढाउन सकेमा उहाँलाई सफलताका लागि सहज हुनेछ ।

मुख्य सचिव एकनारायण अर्यालले थाल्नुभएको जिम्मेवारी नदिई लामो समय कर्मचारीलाई जगेडामा राख्ने प्रवृत्तिलाई निरुत्साहित पार्ने, मन्त्रिपरिषद् बैठकको प्रस्तावको परीक्षण गर्ने, राजस्व चुहावट तथा नियन्त्रणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने जस्ता कार्यलाई नयाँ मुख्य सचिवले पनि निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ ।

यसै गरी अर्यालकै सक्रियतामा मुलुकको सार्वजनिक प्रशासनलाई चुस्त, कर्तव्यपरायण बनाउने तथा प्रशासनलाई थप सबल, सुदृढ बनाउन उच्चस्तरीय शासकीय सुधार आयोगसमेत गठन भएको थियो । सो आयोगको उद्देश्यअनुसार नयाँ मुख्य सचिवले काम अघि बढाउँदा उहाँलाई सफलता हासिल गर्न सहज हुने सरकारी अधिकारीहरूको सुझाव छ ।

यी हुन् हालसम्मका मुख्य सचिवहरू
१ चन्द्रबहादुर थापा
२.कुलशेखर शर्मा
३.कृष्णबम मल्ल
४.क्षेत्रविक्रकम राणा
५.प्रधुम्नलाल राजभण्डारी
६.कृष्णबहादुर मानन्धर

७.भोगेन्द्रनाथ रिमाल
८.कर्णध्वज अधिकारी
९.लोकबहादुर श्रेष्ठ
१०.दामोदरप्रसाद गौतम
११.मधुसूदन प्रसाद गोर्खाली
१२.ईश्वरप्रसाद उपाध्याय
१३।.बलराम सिंह मल्ल

१४.तीर्थमान शाक्य
१५.केशवराज राजभण्डारी
१६.विमल कोइराला
१७.लोकमान सिंह कार्की
१८.मुकुन्द शर्मा पौडेल
१९.डा. भोजराज घिमिरे
२०.माधवप्रसाद घिमिरे
२१.लीलामणि पौड्याल

२२.डा. सोमलाल सुवेदी
२३.राजेन्द्रकिशोर क्षेत्री
२४.लोकदर्शन रेग्मी
२५.शंकरदास बैरागी
२६. डा. वैकुण्ठ अर्याल (भ्रष्टाचार प्रकरणमा निलम्बित)
२७. लिलादेवी गड्तौला
२८. एकनारायण अर्याल
२९ सुमनराज अर्याल