काठमाडौँ।
जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा भएको आगजनी तथा तोडफोड प्रकरणमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी छन्। पक्राउ परेका पाँचमध्ये एक जनाको भने पहिचान खुलाइएको छैन।
अदालतमा आगजनी तथा तोडफोडमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेको प्रहरीले जानकारी दिँदै छिट्टै कानुनी दायरामा ल्याइने जनाएको छ। सर्वोच्च अदालतले घटना सम्बन्धी जाहेरी दिएपछि प्रहरीले अगाडि बढाइएको हो।
जेन–जी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकामा मात्र आगजनी, तोडफोड र आपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा जाहेरी परेको प्रहरीले जनाएको छ। तीमध्ये २२ व्यक्तिगत, ६६ सरकारी कार्यालय, र १६ संस्थागत तथा व्यापारिक प्रतिष्ठानसँग सम्बन्धित छन्।
आन्दोलनका क्रममा काठमाडौँमा मात्र ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ, जस मध्ये ७ जनाको पहिचान अझै खुलेको छैन। हराइरहेका सात जनाको हुलिया प्राप्त भएको समेत प्रहरी बताउँछ।
प्रवक्ता भट्टराईले चुच्चेपाटीस्थित भाटभटेनीमा भेटिएका सात वटा कंकाल पूर्णरूपमा जलेको अवस्थामा रहेको र डीएनए परीक्षणका लागि नमुना उपलब्ध नहुँदा पहिचान गर्न कठिनाइ भएको बताए। आवश्यक परे नमुना अन्य स्थानमा परीक्षणका लागि पठाईने तयारी भइरहेको उनले जानकारी दिए।
यसबीच आन्दोलनकै क्रममा विभिन्न कसुरमा १५४ मुद्दा दर्ता, २६७ जना पक्राउ, ८७ जना हाजिर जमानीमा रिहा, ११३ जना हिरासतमा, ३३ जना धरौटीमा रिहा, र ४३ जना पुर्पक्षका लागि थुनामा रहेका प्रहरी तथ्यांकमा उल्लेख छ।











प्रतिक्रिया