स्याङ्जा।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गुणस्तर तथा नापतौल कार्यालय पोखराको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । २ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी पुतलीबजारको बाडखोला, भीरकोटको बयरघारी तथा वालिङको मिर्दि र वालिङ बजारमा रहेका पम्पको अनुगमन गरिएको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्राविधिक, स्थानीय पालिकाका कर्मचारी र उपभोक्ता मञ्चका सदस्य समेत रहेको टोलीले अनुगमन गरेको हो । अनुगमन समितिले सिद्धार्थ राजमार्ग क्षेत्रमा संचालित ४ वटा पम्पहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मापदण्ड विपरीत तेल विक्री गरेको पाइएपछि वालिङ नगरपालिका–६, मिर्दिको शिव आयल प्रालिमा शिल गरिएको छ । उक्त पम्पले प्रत्येक ५ लिटरमा १५ एमएल कम विक्री गरेको पाइएपछि शिल गरिएको गुणस्तर नापतौल कार्यालय, पोखराका प्राविधिक प्रविन मोक्तानले जानकारी दिए । भीरकोटको श्रेष्ठ पेट्रोल पम्पमा पनि डिजलको मात्रा हल्का कम भएको, फिल्टरमा समस्या रहेको तथा टयाङ्कीमा फोहर भएकाले सफा गर्नुपर्ने देखिएको मोक्तानले बताए ।
मोक्तानले श्रेष्ठ पेट्रोल पम्पलाई नियमानुशार १० हजारदेखि १ लाखसम्म जरिवाना हुने बताए । उनका अनुसार यसरी पेट्रोलियम पदार्थ कम र बढी गराएर विक्री गर्ने पम्पलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने गुणस्तर तथा नापतौल ऐनमा व्यवस्था छ । ‘यदि कसैले नियतबस पेट्रोलियम पदार्थ विक्री गर्दा घटीबढी गरेर विक्री गरेको प्रमाणित भयो भने ऐनअनुसार ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैद वा दुबै सजाय गर्न सकिने कानूनी व्यवस्था छ’, उनले भने, ‘अनुगमनको क्रममा वालिङको भूषाल भण्डारमा पनि समान्य समस्या छ, प्रतिवेदनका आधारमा आवश्यक कारबाही हुन्छ ।’
जिल्ला अनुगमन समिति संयोजक एवं स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले अनुगमनका क्रममा केही पेट्रोल पम्पमा कैफियत देखिएको जानकारी दिए । उनले मापदण्ड पूरा नगरेका संचालकहरुलाई गुणस्तर तथा नापतौल कार्यालय, पोखरामा उपस्थित हुन अल्टिमेट दिइएको बताए । सुवेदीले भने ‘मिर्दिको शिव आयलमा पम्प शिल गरेर अनुसन्धान सुरु गरिएको छ, नियतबस संचालकले तेल घटीबढी गरेको पाइए कारबाही हुन्छ’ । अनुसन्धानको क्रममा केही तथ्य खुल्ला, यदि मेसिन नै विग्रिएको हो भने प्रक्रिया पूरा गरेर मेसिन बनाएपछि पम्प संचालनका लागि अनुमती दिन्छौं ।’
अनुगमन समितिले स्याङ्जाको नेपाल पेट्रोल्यूबसँगै भीरकोटमा रहेकोे श्रेष्ठ पेट्रोल पम्प, वालिङमा रहेको शिव आयल प्रा.लि. र भूषाल भण्डारमा अनुगमन गरेको थियो । ‘समितिले नियमित अनुगमन गर्दै आएको छ, तर पम्पहरुका बारे उपभोक्ताबाट कम मात्रामा तेल विक्री गरेको गुनासो पनि आएपछि हामीले अनुगमनलाई तिव्रता दिएका छौं’, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले भने, ‘अब सबै पम्पहरुको अनुगमन हुन्छ, गलत भेटिए कारबाहीको दायरामा ल्याउँछौं ।’ उनले उपभोक्तामाथि खेलवाड गर्ने जुनसुकै फर्मलाई कारबाहीको दायरामा ल्याउने बताए । अनुगमनका क्रममा समितिले पम्पहरुले विक्री गरिरहेको तेलको परिणाम, मेसिनको अवस्थालगायत जाँच गरेको थियो ।











प्रतिक्रिया