काठमाडौँ
स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौँमा आयोजना गरेको गरिमा रोड रेस–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । बैंकले गत वर्षदेखि सुरु गरेको रोड रेस प्रतियोगिताको यस वर्ष दोस्रो संस्करण आयोजना गरिएको हो ।
प्रतियोगिता खुला, कर्पोरेट र भेट्रान गरी तीन विधामा तथा महिला–पुरुष गरी कुल ६ श्रेणीमा सम्पन्न गरिएको थियो। खुला तर्फको १० किलोमिटर दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय अगाडिबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ–३ कार्यालयसम्म पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमै समाप्त भएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान विधाको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई नारायणगोपालचोक–न्यूरो अस्पताल, बाँसबारीसम्म गई पुनः बालुवाटारमै फिर्ता हुने गरी सम्पन्न गरिएको थियो ।
प्रतियोगितामा १ हजारभन्दा बढी धावकको सहभागिता रहेको बैंकले जनाएको छ । खुला विधामा महिला तर्फ ओलम्पियन सन्तोषी श्रेष्ठले १० किमि दूरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरिन् । पुरुष तर्फ नेपाल आर्मीका राजन रोकायाले सो दूरी २९ मिनेट १२ सेकेन्डमा पूरा गर्दै पहिलो स्थानमा रहन सफल भए । नेपाल आर्मीका धावकहरूले खुला विधामा पुरुषतर्फ सबै तथा महिलातर्फ चार पुरस्कार जित्दै बलियो उपस्थिति जनाए ।
विजेताहरुलाई खुला विधामा प्रथमदेखि पाँचौँ स्थानसम्म क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ वितरण गरिएको थियो। त्यस्तै, कर्पोरेट तथा भेट्रान तर्फ ५ किमि दौडमा प्रथमदेखि पाँचौँसम्मलाई क्रमशः ३० हजार, २० हजार, १४ हजार, १० हजार र ७ हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा बैंकका सञ्चालक, पूर्व सञ्चालक, शेयरधनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय निकायका पदाधिकारी, पत्रकार तथा कर्मचारीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले खेलकुदमार्फत स्वस्थ समाज निर्माणमा बैंकले महत्वपूर्ण योगदान दिन चाहेको बताउनुभयो ।
समापनमा बैंकका अध्यक्ष दिलीप प्रताप खाँणले मानव स्वास्थ्य नै सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यस्ता स्वास्थ्यमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।











प्रतिक्रिया