पाकिस्तानको पेशावरस्थित फ्रन्टियर कोर्प्स मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु


काठमाडौँ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित पेशावरमा रहेको फ्रन्टियर कोर्प्स (एफसी) को मुख्यालयमा सोमबार बिहान आतंककारीहरूले गरेको आक्रमणमा तीन एफसी कर्मचारीको मृत्यु भएको छ। प्रहरीले घटनाबारे पुष्टि गर्दै आक्रमणपछि केही समय तीव्र गोलीबारी भएको जानकारी दिएको छ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले एफसी मुख्यालयभित्रै सुरक्षा फौजमाथि लक्षित आक्रमण भएको बताउँदै तीन जनाको मृत्यु पुष्टि गरेका छन्। आक्रमण कसले र कसरी गरायो भन्ने विषयमा प्रारम्भिक चरणमा रहेकाले विस्तृत विवरण संकलन भइरहेको अधिकारीहरू बताउँछन्।

पेशावर प्रहरी प्रमुख मियाँ सईदका अनुसार सुरुवाती जानकारी सीमित छ र घटनास्थलमा खोज–अनुसन्धान तीव्र रूपमा भइरहेको छ।

यसैबीच लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमले पाँच घाइते उपचारका लागि ल्याइएको जानकारी दिए। उनका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको छ।

एफसी मुख्यालय पेशावर सदरको घना आवासीय क्षेत्रमा अवस्थित छ।

बीबीसीको सहयोगमा