चौतारा, सिन्धुपाल्चोक
जस्ट सोसाइटी इनिसियटिभ नेपाल (जुसिन) ले अष्ट्रेलियाको दि अम्ब्रेला फाउण्डेसन अष्ट्रेलियाको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको सांगाचोकगढी नगरपालिका-१०, खत्रीथोकस्थित भिमसेन माध्यमिक विद्यालयका १०२ विद्यार्थीहरूलाई विद्यालयको ट्रयाकसुट, टोपी, मोजा र शैक्षिक सामग्री वितरण गरेको छ।
कार्यक्रममा जुसिनकी अध्यक्ष श्रीमती बिन्दु मानन्धरले दि अम्ब्रेला फाउण्डेसन अष्ट्रेलियालाई निरन्तर साझेदारी र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै भनिन्- ‘यो सहयोगले विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित भएका छन् र जुसिनको बालबालिका तथा ग्रामीण शिक्षाको क्षेत्रमा काम गर्ने उद्देश्यलाई थप बल पुगेको छ।’ उनले विद्यालय प्रशासन र शिक्षकहरूलाई पनि बालबालिकाको उज्ज्वल भविष्यका लागि गरेको समर्पणप्रति आभार प्रकट गरिन्।

विद्यालय समुदायले जुसिन टोलीलाई परम्परागत सांस्कृतिक कार्यक्रमसहित हार्दिक स्वागत गरेको थियो। प्रधानाध्यापक भीम कार्कीले विद्यालय भवन निर्माण तथा भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएकी दि अम्ब्रेला फाउण्डेसन अष्ट्रेलियाकी अध्यक्ष लिन्डा हार्डवुडलाई विशेष धन्यवाद दिए। उनले स्थानीय समुदाय र विद्यालयप्रति संस्थाले निरन्तर देखाउँदै आएको माया र सहयोगको प्रशंसा समेत गरिन्। जुसिनकी अध्यक्ष मानन्धर र कार्यसमिति सदस्यहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई जाडोको ट्र्याकसुट, ऊनी टोपी, मोजा तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेका थिए। चिसो मौसम सुरु हुन लाग्दा यो सहयोगले बालबालिकालाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।
यो कार्यक्रमले जुसिन, दि अम्ब्रेला फाउण्डेसन अष्ट्रेलिया र भिमसेन माध्यमिक विद्यालयबीचको सहकार्यलाई अझ मजबुत बनाएको छ भने ग्रामीण क्षेत्रका बालबालिकाको शैक्षिक अवसर र समग्र हितमा ठोस योगदान पुर्याएको जुसिनले बताएको छ।











प्रतिक्रिया