मंका खलको अध्यक्षमा महेन्द्रलाल 


ललितपुर।

नेपाल भाषा मंका खलः यलको अध्यक्षमा महेन्द्रलाल महर्जन निर्वाचित भएका छन्।

आईतबार आएको मतपरिणाम अनुसार महेन्द्रलाल तीन मतको अन्तरले निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बाबुराजा महर्जनले ३ सय ७३ मत प्राप्त गरेका थिए भने महेन्द्रलालले मत ३ सय ७६ ल्याएको थियो। बाबुराजा यस अघिको कार्यसमितिमा उपाध्यक्ष र महेन्द्र सचिव थिए ।

अध्यक्ष एक, दुई अनिवार्य महिला सदस्य र नौ जना खुल्ला सदस्यसहित १२ पदका लागि शनिवार मतदान भएको थियो। कुल मतदाता १ हजार २ सय ४४ रहेकोमा ९ सय ७६ जनाले (७८ दशमलब ४५ प्रतिशत) मतदान गरेका थिए ।

मतपरिणाम अनुसार निर्वाचित हुनेहरुमा बाबुराजाको प्यानलबाट चार जनासहित अधिकाशं महेन्द्रलाल प्यानल रहेका छन्। महेन्द्रलाल प्यानलबाट निर्वाचित हुने सदस्यहरुमा विनोद महर्जन (४४३मत), प्रेम महर्जन चिरी (३९५ मत) राजु ताम्रकार (३९३ मत), राजेन्द्र महर्जन (३८९मत) र रविन्द्र बाराही  (३७९मत) रहेका छन् । त्यसैगरी महिला सदस्यमा निर्वाचित फरिन्दा महर्जन(४५८मत) र रमणा महर्जन बज्राचार्य (४०९ मत) पनि महेन्द्रलालकै प्यानलका रहेका छन् । बाबुराजा प्यानलबाट निर्वाचित हुनेमा बेखारत्न महर्जन(४२५ मत) उकुलाल महर्जन (४१७ मत), प्रवीण महर्जन (३९२ मत) र न्हुच्छेमान महर्जन (कपुर) (३८४ मत) रहेका छन्। 

मंका खलःको विधान बमोजिम निर्वाचित सदस्यहरुबाट उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा पदस्थापन गरिने छ ।

स्थापनाकालदेखि भाषा, साहित्यिक तथा सांस्कृतिक पृष्ठभूमिका व्यक्तिहरुको बाहुल्य रहेको सो संस्थामा अहिले विभिन्न पेसा, व्यवसायी, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी, कलाकार र खेलाडी पृष्ठभूमिका व्यक्तिहरुले पनि उम्मेदवारी दिएका थिए । 

मतपरिणाम घोषणापछि एक समारोहकाबीच नवनिर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गरियो । सो अवसरमा अध्यक्ष महेन्द्रलाले संस्थाको उद्देश्य अनुरुप गतिविधि अघि बढाउन सबैको भावना समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले नेपालभाषा मंकाः खलःलाई केवल भाषिक संस्थामा मात्र सिमित नराखी ललितपुरका सबै संघसंस्था एवं जातीय संगठनहरूको साझा प्रतिनिधित्वमूलक संस्थाको रुपमा विकसित गर्ने संकल्प व्यक्त गरे । भाषा र जातीय अधिकारका अगुवाहरुले स्थापना गरेको सो संस्थाको गौरवपूर्ण इतिहासलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्र्नुपर्नेमा खाँचो औल्याउँदै  उनले भने ‘ त्यसका अहिलेको चुनौती र आवश्यकतालाई सम्बोधन गर्दे  जाने छौं ।’