काठमाडौ ।
सशस्त्र प्रहरी बल, नेपालले हालै पारित संगठन व्यवस्थापन तथा सर्वेक्षण सम्बन्धमा विभिन्न अनलाइन पोर्टल तथा पत्रपत्रिकामा प्रकाशन भएका भ्रामक समाचारहरूप्रति आपत्ति जनाउँदै विस्तृत स्पष्टीकरण सार्वजनिक गरेको छ। संस्थाले संगठनको वास्तविक संरचना, संवैधानिक–कानुनी आधार, समूह–उपसमूहको कार्यप्रकृति तथा तीन वर्षसम्म चलेको अध्ययनबारे अवगत नगराई तथ्यहीन सामग्री प्रकाशन हुनुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रधान कार्यालयका अनुसार संगठन व्यवस्थापन तथा सर्वेक्षण पारित हुनुअघि बिगत तीन वर्षदेखि विभिन्न चरणमा व्यापक अध्ययन, परामर्श र छलफल गरिएको थियो। विद्यमान संगठनको आवश्यकता, औचित्यता, सेवा–प्रवाहको प्रभावकारिता तथा ऐन–नियमावलीले तोकेको ढाँचा आधार मानेर मात्रै नयाँ संरचना लागू गरिएको कार्यालयले स्पष्ट पारेको छ।
संस्थाले “सशस्त्र प्रहरी बल नेपालका विभिन्न समूह तथा उपसमूहको कार्य–प्रकृति, संवेदनशील दायित्व र संस्थागत संरचना नबुझी कर्मचारी तथा संगठनलाई लक्षित गरी लेखिएका केही समाचारहरू यथार्थपरक छैनन्” भन्दै आम सुरक्षा कर्मचारी तथा सर्वसाधारणलाई भ्रामक नहुने गरी समाचार प्रकाशन गर्न आग्रह गरेको छ।











प्रतिक्रिया