खोटाङ । जोगी समुदायको ‘फेरी’ लगाउने परम्परागत संस्कृति हराउँदै गएको आभास भएको छ । अघिल्लो पुस्ताका जोगी पुर्खाहरुको निधन हुँदै गएपछि फेरी लगाउने चलन हराउँदै गएको हो । तर खोटाङका केही युवा पुस्ताका जोगीले भने यस संस्कृतिलाई धानिरहेका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेका ३० वर्षीय नवराज जोगीले कात्तिक मसान्तको दिनसम्म मात्र फेरी लगाउने र सिदा उठाउने कार्य सम्पन्न गर्नुभयो । कात्तिककै ९ गते घरबाट हिँड्नुभएको नवराज कात्तिक–३० गते मात्र घर फर्कनुभयो । यसबीचमा दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी, साकेला गाउँपालिका–१ बाँझे यानडाँडालगायतका गाउँहरुमा राति–राति फेरी लगाउँदै र दिनमा सिदा उठाउँदै हिँडेको उहाँको भनाइ छ ।
यो बेला भैरुङ कुल देवताथानमा राखिएको बराठ बाजालाई पूजा–आराधना गरेर फेरी लगाउन शुरु गरिने उहाँले बताउनुभयो । ‘घरवालाको रक्षा होस्, चिताएको पुगोस्, भूत–पिचासले दुःख नदेओस् भनेर जप गरिने नवराजले सुनाउनुभयो । रातिको जपपछि बिहानपख घरवालाले इच्छा र गच्छेअनुसारको सिदा दिने चलन छ । घर लिपपोत गरी चोखोनितो गरेर दशाग्रह काटिन्छ भन्ने मान्यताका साथ सिदा दिने परम्परा छ ।
चामल, धान, मकै, जौ, भटमास, आलु, घिउ, नुन, तेल, बेसार, पैसा दिने गरिन्छ । उहिले–उहिले ओखर, कालो मास, कालो तिल, कालो धान, कालो कपडा, फलामको हतियारसहित भेटी दिने चलन भए पनि अहिले त्यो चलन हराएको जोगीहरु बताउँछन् । नवराजले २०६५ अर्थात् १२ वर्षको उमेरदेखि नै फेरी लगाउन शुरु गरेको जनाउनुभयो ।
पाँच दाजुभाइमध्ये कान्छा नवराज र उहाँका दाजु धनबहादुर हाल यो पेसामा रहनुभएको छ । बुबा कृष्णबहादुर, बाजे अम्बरबहादुरले पनि यही पेसा अपनाएको उहाँ सुनाउनुहुन्छ । अबको पुस्ताले भने यो पेसा जोगाउँछ–जोगाउँदैन भन्न नसकिने अवस्था आएको नवराजको भनाइ छ । उहाँलगायत गाउँका अन्य २२ जनाले यो परम्परागत पेसा अपनाएका छन् । त्यहाँका जोगीहरुले क्षेत्र निर्धारण गरेर फेरी लगाउने गरेका छन् ।
खोटाङको साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, भोजपुरको टेम्के मैयु गाउँपालिकासम्म फेरी लगाउन पुग्ने गरेका छन् । दानका रुपमा उठ्ने गरेका अन्नबालीलगायतका सिदा बजार मूल्यभन्दा सस्तोमा स्थानीयले खरिद गर्ने गर्दछन् ।
पृथ्वीनारायण शाहले सूचना दिने कर्मचारीको रूपमा जोगीलाई खटाएको तर पछि संस्कृतिको रूपमा विकास भएको मानिदै आएको जोगीहरु बताउँछन् । कात्तिक र चैत गरी वर्षमा दुई महिना फेरी लगाउने चलन रहेको छ ।











प्रतिक्रिया